काठमाडौं र चितवनमा सिआइबीको अपरेशन : ७ करोडको जग्गा किर्ते गरि बेच्ने गिरोह पक्राउ !

diyopost.com
दियो पोस्ट  आइतबार, आषाढ ०५, २०७९ | १७:३७:०५

काठमाडौं । जापानमा बसेको व्यक्तिको नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाएर काठमाडौंको कीर्तिपुरमा रहेको ११ आना २ पैसा जग्गा बिक्री गर्ने गिरोहलाई सिआइबीले पक्राउ गरेको छ ।

सिआइबीले ५ जनालाई नियन्त्रणमा लिएको हो । काठमाडौं र चितवनमा चलाइएको अपरेशनमा उनीहरुलाई पक्राउ गरिएको हो ।

सीआईबीका प्रवक्ता एसपी श्यामकुमार महतोद्वारा जारी विज्ञप्तिका अनुसार २०५५ सालदेखि जापानमा बस्दै आएकी शान्तिदेवी लोहनीको कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरको ११ आना २ पैसा जग्गा एक गिरोहले नक्कली कागजपत्र बनाएर बिक्री गरेको थियो ।

शान्तिदेवीको नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाएर र नक्कली श्रीमान खडा गरेर जग्गा बिक्री गरेको पाइएको विज्ञप्तिमा उल्लेख छ । घटनामा संलग्नताको आरोपमा प्रहरीले महावीर चन्द, गणेशबहादुर खनाल, बाबुराम कार्की, प्रेमप्रसाद खनाल र ममता श्रेष्ठाई पक्राउ गरेको हो ।

सीआईबीका अनुसार जग्गाधनी शान्तिदेवी लोहनी नेपाल आएका बेला जेठ ५ गते मालपोत कार्यालयमा वायोमेट्रिक गर्न गएका बेला जग्गा बिक्री भइसकेको खुलेको थियो । त्यसपछि पीडित पक्ष प्रहरीसमक्ष पुगेको थियो ।

सिआइबीका अनुसार उक्त जग्गा करिब ७ करोड मुल्य बराबरको हो ।

सम्बन्धित खबर