काठमाडौं । नेपाल भ्रमणमा आउने पदयात्री पर्यटकलाई उद्दारको नाममा फर्जी बिल बनाई विमा कम्पनिबाट लाखौँ डलर भुक्तानी लिने पर्यटन व्यावसायीको पहिचान खुलेको छ ।
बानेश्वरमा कार्यालय रहेको देखाएर नेपाल एसिस्टेन्स प्रा.ली नामक कम्पनिका मालिक दामोदर ढकालको समुहले फर्जी बिल बनाई ‘ठगीधन्दा’ गर्ने गरेको पहिचान भएको हो ।
दियोपोस्टले लामो अनुसन्धानबाट प्राप्त गरेको कागजात अनुसार ब्राजिलका नागरिक फिलिप डियस पाइभा नाम गरेका नागरिकलाई सन् २०२२ मे ४ मा हेलिकोप्टरबाट उद्दार गरिएको भन्दै बिल बनाइएको छ । मे ६ मा उनको नाममा जारी भएको बिल अनुसार उनलाई सगरमाथा क्षेत्रबाट उद्दार गरिएको उल्लेख छ । तर, बिलमा यस्तो उल्लेख भएपनि त्यो दिन उनलाई हेलिकोप्टरमा उद्दार नै नगरिएको स्रोतको दाबी छ । सगरमाथा आधार शिविरबाट उद्दार गरिएको भनिएको उनलाई एक रात लुक्लामा होल्ड गरेर राखेको उल्लेख छ । त्यसपछि काठमाडौं स्थित एक अस्पतालमा उपचार गरिएको उल्लेख गरिएको छ । उनको उद्दारको नाममा विदेशी विमा कम्पनिबाट ११ हजार ७ सय ५४ डलर असुल गरिएको छ । जसको नेपाली विनियमय दर अनुसार साढे १४ लाख रुपैयाँ भन्दा बढी नेपाली रुपैयाँ हुन आउँछ ।
जबकी हामीले गृहमन्त्रालय, पर्यटन विभागलाई यसरी उद्दार भएको विदेशी नागरिकको विवरण माग गर्दा उनको उद्दार भएको जानकारी आफूहरुलाई नभएको विभाग र गृहका कर्मचारीले बताए ।
त्यस्तै अष्ट्रियाका एक नागरिकको नाममा जारी भएको अर्को बिल पनि फर्जि भएको स्रोतले जनाएको छ । मुक्तिनाथ दर्शनका लागि गएका अष्ट्रियाका माइकल लेग्ल नाम गरेका ती नागरिकले सन् २०२२ मे २२ मा हेलिकोप्टरबाट उद्दारको सेवा लिएको सोही कम्पनिद्वारा जारी बिलमा उल्लेख छ ।
युरोप एसिस्टेन्स नामक विदेशी विमा कम्पनिलाई गरिएको पत्राचारबारे उतैको कम्पनिले नै शंका गरेको पाइएको छ । उनको नाममा पनि विमा कम्पनिबाट १० हजार डलरभन्दा बढी भुक्तानीको माग गरिएको छ । तर, माइकलको उद्दार नै नगरी बिल मात्रै सेटिङमा पेश गरिएको स्रोतको दाबी छ ।
अर्का फ्रान्सका थिबाउद ल्हेर्मको नाममा जारी भएको बिल पनि शंकापद रहेको पाइएको छ । फ्रान्सकै एक विमा कम्पनिलाई पठाइएको उक्त बिलमा ति विदेशी नागरिकलाई अन्नपूर्ण क्षेत्रबाटै उद्दार गरिएको उल्लेख छ । ती नागरिकका नाममा पनि कम्पनिले ८ हजार एक सय ३० अमेरिकी डलर विमा भुक्तानीको दाबी गरेको छ ।
ठमेलमा भाँडा माझ्न आएका ढकालको रातारात अकुत सम्पत्ति !
स्थायी घर सिन्धुपाल्चोकको साविक राम्चे गाविस ६ भएका दामोदर ढकाल सामान्य परिवारमा जन्मिएका हुन् । गाउँकै विद्यालयबाट एसएलसी उत्तिर्ण गरेका उनले काठमाडौं आएपछि भाँडा माझ्न कामसम्म खोजेर हिँडेको उनी निकटहरु बताउँछन् । ‘२०५३ सालतिर काठमाडौं सिन्धुपाल्चोकबाट काठमाडौंको बालाजुस्थित फूपु दिदिको कोठामा बस्थे । उनको बस्ने समेत ठेगान थिएन । भाँडा माझ्ने कामका लागि समेत भौँतारिनु पर्दथ्यो । उनको करिब एक महिनाको दैनिकी भनेको बिहान ६ बजे उठ्ने ठमेल आउने र काम खोज्ने बेलुकी ७–८ बजे घर फर्कनेमै बित्यो । उनले ठमेलको नचाहरेको कुनै गल्ली थिएन । लम्जुङकै एक जनाले जागिर खोजिदिएका थिए । तर, अहिले उनी रातारात कसरी यतिका मालिक भए हामी नै छक्क परेका छौँ ।’ ठमेलमै कुनै एक होटलमा काम गरेका ढकालले रिभर ट्रेल्स केटिएममा समेत काम गरेको उनी निकटहरु बताउँछन् । ७ वर्ष उनले सो कम्पनिमा काम गरेको र त्यसपछि उनले साइबर संचालन गरेको उनी निकस्थहरु बताउँछन् । सन् २०११ देखि उनले मिसन नेपाल नामक ट्राभल कम्पनि खोलेका थिए ।
हाल होटल तथा विभिन्न क्षेत्रमा लगानी गरेका उनले पर्यटन व्यावसायको आडमा विमाको नक्कली कागजात बनाउने र ठगी धन्दा चलाउने काम गर्दै आएको कागजातबाटै देखिन्छ ।
सन् २०१५ देखि किवानीज चाइल्ड फन्ड नामक संस्थाका पूर्व अध्यक्ष समेत रहेका ढकालले संस्थाको कागजात दुरुपयोग गरेर विदेश भ्रमणमा जाने र त्यहाँबाट विदेशी नागरिकलाई नेपाल ल्याएर फर्जी विमाको बिल भौचर तयार पार्ने कार्य गरिरहेको उनका निकटस्थहरु बताउँछन् । ‘यस्तो प्रकृतिको ठगीधन्दाले पर्यटन व्यावसायी सकिने अवस्थामा पुग्यो । फर्जी बिल नै बनाएर ठगी भइरहेको छ । तर, सरकारका निकायहरुले केही ध्यान दिएका छैनन्,’ पर्यटन सम्बद्ध एक संस्थाका पदाधिकारीले भने,‘व्यक्तिगत रुपमा भन्दा पनि यसले नेपालको पर्यटन क्षेत्रलाई नै धराशायी बनाउनेवाला छ ।’
आश्चर्य त के भने ढकाल ट्रेकिङ व्यावसायीको छाता संगठन ट्रेकिङ एजेन्सीज एशोशियसन नेपालको सचिव समेत हुन् । उनले यस्तै फर्जी काम गरेर अकुत सम्पत्ति आर्जन गरेको उनका निकटस्थहरु बताउँछन् ।
वेभसाइटमा छैन विवरण
ठगीमा प्रयोग भएको नेपाल एसिस्टेन्स सर्भिस प्रा.लीको वेभसाइटमा भने कुनै पनि विवरण उल्लेख छैन । कम्पनिको संचालक तथा मालिकबारे सबै गोप्य राखिएको छ । कार्यालय बानेश्वर लेखिएपनि बानेश्वरमा उक्त कार्यालय नभएको स्रोतले जनाएको छ ।
रेस्क्यु कम्पनि नै अवैध !
पदयात्री पर्यटक उद्दारमा उने ठगीधन्दा बारे छानबीन गर्न पर्यटन मन्त्रालयका तत्कालिन सहसचिव हाल ललितपुर जिल्लाका सिडिओ समेत रहेका घनश्याम उपाध्यायको नेतृत्वमो बनेको छानबीन समितिले रेस्क्यु कम्पनिलाई ‘विचौलिया’को रुपमा व्याख्या गर्दै यी कम्पनिहरु खारेज गर्न सिफारिस गरेको थियो । त्यसपछि बिचमा बसेर विचौलियाको काम गर्दै आएका रेस्क्यु कम्पनि नै निष्क्रिय थिए । तर, ढकालको समुहले अवैध रुपमा रेस्क्यु कम्पनिको नाममा यस्तो धन्दा चलाउँदै आएका छन् ।
‘प्रहरीमा प्रमाणसहित जानकारी आए सिआइबीले अनुसन्धान अघि बढाउँछ’
फर्जी बिल र ठगीबारे खबर फैलिएपछि प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीका एक उच्च अधिकारीलाई ‘के यस्तो विषय प्रहरी अनुसन्धानको दायरामा पर्न सक्छ’ भन्दै दियोपोस्टले प्रश्न गरेको थियो । यस्तो प्रश्नमा सिआइबीको कार्यालय महाराजगन्जमा आर्थिक अपराधको ‘पिलर’ हेरिरहेका ती उच्च अधिकारीको जवाफ छ,‘हामीले संचार मााध्यममा आएका खबरलाई पनि सुचनाको रुपमा राखेका छौँ । भिजिट भिषामा हुने मानव तस्करीबारे दियोपोस्टमै आएको खबरलाई आधार मानेर हामीले अनुसन्धान गर्यौँ । त्यसपछि पीडितहरुबाट जाहेरी लिन पनि शुरु गर्यौँ । अहिले दुबई देखि नेपालसम्म भिजिट भिषामा मानव तस्करी गर्ने गिरोहलाई पक्राउ गरि मुद्दा चलाइएको छ । यो विषय पनि नोटिसमा पर्छ सक्छ । यदि फर्जी बिल नै बनाएर ठगी गरेको हो भने त अवश्य पनि प्रहरीले कारबाहीको विषय बनाउन सक्छ ।’
ढकाल सम्पर्क विहिन
यस विषयमा प्रतिक्रिया लिन ढकालको मोबाइल नम्बर ९८५१०….१०२ मा पटक पटक सम्पर्क गर्दा उनको मोबाइल स्विच्ड अफ छ ।