घुस वार्तामा मुछिएका न्यायाधीश राजकुमार कोइराला ईजलाश बस्न नपाउने

दियो पोस्ट  

काठमाडौँ — घूस लेनदेनको भिडियो प्रकरणमा जोडिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले अब ईजलाशमा बस्न नपाउने भएका छन् ।

 

न्यायपरिषद्‍को बुधबार बसेको बैठकले उनीमाथि छानबिन प्रक्रिया पूरा नहुँदासम्म कुनै पनि कार्यसम्पादन गर्न नपाउने निर्णय गरेको हो ।

 

कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच घुस लेनदेनको अडियो रेकर्ड सार्वजनिक भएपछि न्यायपरिषद्‍को बैठक बुधबार बसेको थियो । बैठकले उक्त प्रकरण छानबिनका लागि परिषद्‍का सदस्य रामप्रसाद श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

समितिमा उच्च अदालत पाटनका कायम मुकायम मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र न्यायाधीश महेश शर्मा पौडेल छन् । समितिलाई ४५ दिनभित्र छानबिन गरी प्रतिवेदन बुझाउनु पर्ने समयसीमा तोकिएको न्यायपरिषद् सचिवालयका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।

न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि घूस लेनदेनको अडियो वार्ता सार्वजनिक भएपछि बुधबार परिषद्‍को बैठक बसेको हो ।

 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश कोइरालाले भने आफूले अनुचित कार्य नगरेको दाबी गरेका छन् । साथै उनले आफ्नाबारे सार्वजनिक भएको समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।