लेखक – स्वाति सिंह
अनुवाद – फूलमती
मेरो साथी माधुरीको जन्मदिनमा म उनको घरमा जाँदा म करिब पाँच–छ वर्षकी थिँए । मलाई त्यो दिन राम्ररी याद छ, किनभने त्यो दिन मैले मानिसको पहिचानलाई लिएर समाजले बनाएको जातिय व्यवस्थालाई नजिकबाट देखेकी थिएँ । त्यो दिन जब म माधुरीको गेटमा पुगेँ, उनले मलाई देख्नेबित्तिकै आमालाई भनिन्, “यो मेरो सबैभन्दा मिल्ने साथी स्वाति हो” र यति भनिसकेपछि उनी मलाई भित्र बोलाउँदै आँफू भित्र गइन् । उनकी आमाले मलाई तत्कालै सोधिन् – तिम्रो पूरा नाम के हो?
मैले भने– स्वाति ।
उनले फेरि सोधिन्– नामको पछाडि के लेख्छौ ?
(मैले बुझ्न सकिन, उनी के जान्न इच्छुक थिइन् ।)
मैले भनें– मेरो नाम नै त्यही हो, स्वाति ।
त्यसपछि उनले स्पष्टसंग भनिन्– तिमी कुन जातको हो ?
मैले जवाफ दिएँ– म हिन्दु हो ।
अझै प्रष्ट पार्दै उनले भनिन्, ‘हामी ठाकुर हौँ, भोलि घरबाट जात के हो? सोधेर आउ ।
उनका कुराहरु सुनेपछि म दौडिएर घर फर्किएँ । उनको प्रश्न धेरै अनौठो थियो र उनीसँगको कुराकानी । पुरै बाटो मनमा कुराहरु चलिरह्यो । घरमा कसैले नाम सोध्यो भने स्वाति भन्नु भनेर भनेका छन् । यसको अगाडि पछाडि के लेखिन्छ अर्को ? र योे ठाकुर भनेको के हो ? यिनै प्रश्नहरूका साथ म घर फर्किए । यो घटना पश्चात माधुरीले म संग मित्रता तोडिन् ।
यो सबै कुरा अहिले बुझदैछु । जातिय व्यवस्थामा नराम्ररी गाँसिएको हाम्रो वास्तविक समाज यही हो र यो जातीय बन्धन निकै खराब र बलियो छ । यसले बाल्यकाल मार्न समेत समय लगाँउदैन् । विशेषगरी यदि तपाईं पिछडिएको जातिको हुनुहुन्छ भने, तपाईंलाई बाल्यकालदेखि नै आफ्नो जात नै आफ्नो पहिचान हो भन्ने महसुस गराइन्छ ।
यो जटिल जातीय व्यवस्थालाई तोड्ने प्रयास कहिल्यै नभएको भने होइन । यस्तो जटिल व्यवस्थालाई जराबाट नै उखेल्न गरिएका प्रयासहरू पूर्णतया सफल भएनन् तर वास्तवमा यदि ती प्रयासहरु नभएकोे भए आज हाम्रो समाजको चित्र अर्कै हुने थियो । जातीय व्यवस्थाको विरुद्धमा यस्ता धेरै आन्दोलनहरू भएका छन्, जुन धेरै सफल र प्रभावकारी थिए । र ती आन्दोलनहरूमध्ये मुख्य तमिलनाडुमा सन् १९२५मा भएको आत्मसम्मान वा द्रविड आन्दोलन हो । पेरियार ई.वी रामास्वामीको नेतृत्वमा यो आन्दोलन सुरु भएको थियो । त्यतिबेला भारत आफ्नो स्वतन्त्र देशको सपना पूरा गर्न संघर्ष गरिरहेको थियो ।
भेदभाव र छुवाछुत विरुद्ध शुरु भएको “द्रविड आन्दोलन”
सन् १९२४ मा केरलाको त्रावणकोरको राजाको मन्दिर जाने बाटोमा दलितहरूलाई प्रवेशमा रोक लगाएको विरोधमा आन्दोलन भएको थियो । त्यसको विरोध गर्नेहरु पक्राउ परेका थिए । त्यसपछि आन्दोलनको नेतृत्व गर्न नेताहरूले मद्रास प्रदेश कांग्रेसका अध्यक्ष पेरियारलाई आन्दोलनको नेतृत्व गर्न निमन्त्रणा पठाए । पेरियार राजीनामा दिएर केरला पुगे, त्यसपछि उनी पनि पक्राउ परेका थिए र महिनौं जेलमा बन्द भए ।
सोही समयमा चेरनादेवी सहरमा रहेको कांग्रेसद्वारा सञ्चालित सुब्रह्मण्यम अय्यरको विद्यालयमा खाना खुवाउँदा ब्राह्मण र गैरब्राह्मण विद्यार्थीलाई फरक–फरक व्यवहार गरिएको समाचार आएको थियो । पेरियारले कांग्रेसलाई सो विद्यालयको अनुदान रोक्न आग्रह गरे तर कांग्रेसले अस्वीकार गर्यो । पेरियारले सुब्रह्मण्यम अय्यरलाई सबै विद्यार्थीहरूलाई समान व्यवहार गर्न अनुरोध गरे तर अय्यरले पनि अस्वीकार गरे । त्यसपछि पेरियारले कांग्रेस छोडेर आत्मसम्मान आन्दोलन सुरु गरेका थिए । जसलाई द्रविड आन्दोलन पनि भनिन्छ ।
ब्राह्मणवादी परम्परा विरुद्ध पेरियारको नेतृत्वमा द्रविड आन्दोलनको सुरुवात
व्यक्तिको आत्मसम्मानको विकास भयो भने व्यक्तित्वको विकास हुन्छ र व्यक्तिले दासत्वलाई अस्वीकार गर्छ भन्ने पेरियारको विश्वास थियो । आत्म–सम्मानको बारेमा उनको सबैभन्दा चर्चित उद्धरणहरू मध्ये एक थियो,“हामीले ‘उच्च’ र ‘निकृष्ट’ जातको धारणा हाम्रो जगबाट हराएपछि मात्र ‘आत्म–सम्मान’ को बारेमा सोच्न सक्छौं ।
पेरियारका अनुसार,“उनले गैर–ब्राह्मणहरूलाई द्रविड भन्ने गर्थे ।” छुवाछुत, असमानता, धार्मिक आस्था, ब्राह्मणवादी सोच र हिन्दु दुष्टतामाथि प्रहार गर्न यो आन्दोलन सुरु भएको हो । आज पनि द्रविड आन्दोलनसँग सम्बद्ध नेताहरूले आफ्नो नामसंग जात जोडेर प्रयोग गर्दैनन् । द्रविड आन्दोलनले कुनै पनि ब्राह्मणवादी परम्परा र हिन्दू धर्मको अनुष्ठानमा विश्वास गर्दैन । सोही कारण तमिलनाडुका प्रथम द्रविड मुख्यमन्त्री अन्नादुरई देखि करुणानिधिसम्मको दाहसंस्कार गर्नुको सट्टा गाडियो ।
पेरियारले आत्मसम्मानको आन्दोलन नै वास्तविक स्वतन्त्रताको आन्दोलन हुनसक्ने र व्यक्तिगत स्वाभिमान बिना राजनीतिक स्वतन्त्रता फलदायी नहुने घोषणा गरेका थिए । पहिलो चरणमा यो आन्दोलन गैर–ब्राह्मण आन्दोलन थियो र यस आन्दोलनका दुई उद्देश्य थिए–;
पहिलो, शिक्षा र सामाजिक स्थितिमा ब्राह्मण र अन्य जातिहरू बीचको भेदभावलाई कम गर्ने र त्यसको लागि पिछडिएका जातिहरूले थप विशेषाधिकार र सहुलियतहरूको मागलाई सहमती दिलाउने । सरल भाषामा भन्नुपर्दा, आरक्षणको माग ।
दोस्रो, पिछडिएका जातिहरूको आत्मसम्मानको प्राप्ति अर्थात् पिछडिएका जातिले समान मानवअधिकारको हक पाउने खालको समाज निर्माण गर्ने साथै, जातीय समाजको सन्दर्भमा पिछडिएका जातिहरूको आत्मसम्मानलाई प्रोत्साहित गर्ने ।
भारतमा ब्राह्मणवाद विरुद्धको यो ऐतिहासिक आन्दोलन थियो । यस आन्दोलनको उद्देश्य भनेको जनतामा राजनीतिक चेतनाको विकास गरी सामाजिक विकृतिको उन्मूलन र महिला अधिकारको संरक्षण गर्नु थियो । जसमा मुख्यतया अनाथ र विधवाहरूका लागि घरको स्थापना र उनीहरूका लागि शैक्षिक संस्थाहरू खोल्ने कुरा समावेश थियो । यो आन्दोलनले केही समयमै ठूलो लोकप्रियता हासिल ग¥यो र राजनीतिक मञ्च बन्यो ।
उल्लेखनीय कुरा के हो भने, यो आन्दोलन तमिलनाडुमा मात्र नभई मलेसिया, सिंगापुर जस्ता ठूलो तमिल जनसंख्या भएका देशहरूमा पनि धेरै प्रभावकारी साबित भयो । सिंगापुरका भारतीयहरूका बीचमा तमिल सुधार संघ जस्ता समूहहरू सुरु भएका थिए । त्यसैगरी, रामास्वामी नाइकरले १९४५ मा द्रविड कषगम स्थापना गरे र १९४९मा अन्नादुराईले द्रविड मुन्नेत्र कषगम (डीएमके) को स्थापना गरे, जसले तमिलनाडुमा ब्राह्मण वर्चस्वलाई पूर्ण रूपमा उन्मूलन गर्यो । नाइकरको नेतृत्वमा डीएमकेले सामाजिक र सांस्कृतिक रूपमा ब्राह्मणवादको विरोध जारी राखेको छ ।
द्रविड आन्दोलनसँग जोडिएका आजका राजनीतिक दल
१९९४ मा, पेरियारले आफ्नो आन्दोलन र गैर–ब्राह्मण संगठन साउथ इन्डियन लिबरल फेडरेशन (जस्टिस पार्टी) लाई जोडेर “द्रविड कषगम” गठन गरे । जसको सुरुवात १९१६ मा भयो । करिब पाँच वर्षपछि, द्रविड कषगम पार्टी फुट्यो र पेरियारको धेरै नजिकका सीएन अन्नादुराईले डीएमकेको स्थापना गरे । त्यसपछि १९६७ मा डीएमके पहिलो पटक राज्यको सत्तामा आयो र सीएन अन्नादुराई मुख्यमन्त्री बने । सीएन अन्नादुराईलाई आफ्नो गुरु मान्ने एम करुणानिधिले डीएमके र राजनीतिमा आँफूलाई स्थापित गरे । सन् १९६९ मा अन्नादुराईको मृत्युपछि उनको स्थानमा करुणानिधिलाई मुख्यमन्त्री बनाइएको थियो । करुणानिधि राजनीतिज्ञका साथ साथै तमिल चलचित्रहरूमा स्क्रिप्ट र संवादहरू लेख्ने गर्थे । उनले फिल्ममार्फत डीएमकेको “फिलोसफी” जनतासम्म पु¥याउने काम पनि गर्थे ।
यसरी स्वतन्त्र हुनुअघि जातीय व्यवस्था विरुद्ध सुरु भएको द्रविड आन्दोलनको प्रभाव आज पनि कुनै न कुनै रूपमा कायम छ । जुन आफैंमा निकै प्रभावकारी छ ।