चिनिया सेनाका उच्च अधिकारीसँग प्रचण्डको गोप्य भेट : राजनीतिक बृत्तमा तरंग !

दियो पोस्ट  

काठमाडौं । नेपालमा अमेरिकी सेनाको बढ्दो गतिविधिले छिमेकी मुलुक चीन सशंकित बनेको छ । सन् २०१९ मा तत्कालिन केपी ओली नेतृत्वको सरकारले अमेरिकी सैन्य रणनीति एसपीपीमा नेपाल पनि सामेल हुन चाहेको पत्राचारपछि भित्रिएको अमेरिकी सेनाको डरलाग्दो उपस्थितिले नेपालको भूराजनीति नै जटिल मोडमा पुगेको छ ।

नेपालको पछिल्लो भूराजनीतिलाई नजिकबाट नियालेको छिमेकी मुलुक चीनले अमेरिकी उपस्थितिलाई लिर आपत्ति मात्रै जनाएको छैन आफ्ना गतिविधिलाई सैन्य भूमिकामा परिणत गर्ने कोशिस गरेको छ । चिनियाँ सेनाका एक उच्च अधिकारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेको खबरले खैलाबैला मच्चिएको छ । नेपालमा बढ्दो अमेरिकी प्रभाव र तिब्बती स्वतन्त्रताको चलखेलका विषयमा अत्यत्न असन्तुष्ट रहेको चीनको पिपुल्स लिबरेसन आर्मी पीएलएका लियु जियाओगाउले बुधबार सत्तारुढ गठबन्धनका प्रमुखमध्येका एक नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लामो गोप्य भेटवार्ता थिए । उक्त भेटघाटको खबर बाहिरिएपछि अमेरकी लविका नेपाली नेतामा खैलाबैला मच्चिएको छ ।

 

प्रचण्डले बुधबार बिहान चिनियाँ सैन्य अधिकारीसँग आफ्नै निवास खुमलटारमा गोप्य भेटवार्ता गरेका थिए । उनी चिनियाँ दूतावासका राजनीति तथा प्रेस हेर्ने दुई सहयोगीलाई साथमा लिएर प्रचण्ड निवास पुगेका थिए । नेपालमा रहेको चिनियाँ डिफेन्स एटेची रहेका कर्णेल लियुले यसरी राजनीतिक नेतृत्वसँग गोप्य भेटवार्ता गर्नुलाई निकै अर्थपूर्णरुपमा लिइएको छ ।

सामान्यतया यसरी सैनिक अधिकारीले कार्यरत देशको राजनीतिक नेतृत्वसँग भेटवार्ता गरिँदैन ।

त्यस्ता सबै भेटवार्ता राजदूतले नै गर्ने गर्छन्। तर चिनियाँ राजदूत हाउ यान्छी बेइजिङ गएको बेला उनीहरुबीच भेटवार्ता भएको हो । यान्छीलाई २२ दिनअघि पछिल्लो अवस्था ब्रिफिङका लागि बेइजिङ बोलाइएको थियो । नेपालबाट गएपछि १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने भए पनि उनी आठ दिन मात्र क्वारेन्टाइनमा बसेर बाहिर निस्किएका थिइन् । बेइजिङमा पछिल्लो अवस्था ब्रिफिङ गरेपछि उनी थाइल्यान्ड पुगेको समाचार स्रोतले दाबी गरेको छ ।

 

ठीक त्यही बेला डिफेन्स एटेची कर्णेल लियुले माओवादी अध्यक्ष प्रचण्डसँग गोप्य भेटवार्ता गरेका हुन् । चिनियाँ महान् नेता माओको नाउँमा नेपालमा राजनीति गर्दै आएका नेता प्रचण्ड नेपालको राजनीतिका अत्यन्त रहस्यमय र चलायमान नेता मानिन्छन् ।