‘मिटरब्याजी’ विरुद्ध आस्माको संघर्ष : ८ लाख ऋण लिएँ ३८ लाख रुपैयाँ तिरेँ तर मुक्ती पाइनँ !

- फूलमती  

 

काठमाडौं । काठमाडौंको माइतिघर मण्डला न्याय माग्न आउने थलो बनेको छ । न्यायका लागि लड्नेहरु माइतिघरमै आउँछन् । प्लेकार्ड देखाउँछन्, राज्य विरुद्ध चर्को स्वरमा चिच्याउँछन् । चर्को गर्मीका खातिर गत शनिबार माइतिघर मण्डला क्षेत्रमा मिटर ब्याजबाट प्रताडित भएकाहरुको भिड थियो । नवलपरासीको पश्चिम सुस्तादेखि राजधानीको मुटु माइतीघर सम्म आइपुगेका राम सुरत गुप्तासँग सामान्य जिज्ञासापछि उनले बस्नुस् भने ।

हातमा “जगदीश बानियाँ डिस्टिक खोल, सुनिल बानियाँ तमसुक दे” भन्ने प्लेकार्ड थियो । धर्नामा बसेकी एक महिलाले मलाई देख्ने वित्तिकै आफ्नो नजिकै बस्न आग्रह गरिन् । उनी थिइन् – आस्मा खातुन ।

आस्मा नवलपरासी जिल्ला प्रतापपुर  गाउँबाट आफ्ना पीडाहरुसंगै माइतीघर मण्डलासम्म आइपुगेकी हुन् । उनको घरमा ससुरा, श्रीमान, २ छोरा र एउटी छोरी छन् । हालसालै उनकी सासुआमाको देहान्त भयो । घरमा बिरामी ससुरा र छोरालाई छोडेर उनी न्यायको लागि धर्नामा छिन् ।
घर बनाउन र श्रीमानलाई विदेश पठाउन आफ्नै गाउँठाउँको साहु सुरेश बानियाँसंग आस्माले ८ लाख रपैयाँ ऋण काढेकी थिइन् । घर बन्यो र उनका श्रीमान पनि वैदेशिक यात्राको लागि उडान भरे । श्रीमानको कमाइले मात्रै साहुको कर्जा तिर्न नसक्ने स्थिति थियो । त्यसैले उनले आफू पनि काम गरेर साहुको पैसा छिटो तिर्ने निधो गरिन् । यता उनी काम गर्दै साहुको पैसा तिर्दै जान्थिन तर उता साहुले भने ऋण लिएको रकम घटाउनुको सट्टा सावाँ, व्याज र ब्याजको पनि ब्याज मिटर जोडिरहेका थिए । “महिलाहरुलाई घरबाट बाहिर निस्कन खासै दिइँदैन । मलाई पनि घरबाट धेरै निस्कने छुट थिएन । म काममा भने जाने गर्थें र हजुरबुबा नातिनी भएर ऋण तिर्न जान्थे,’ आस्माले सनाइन्,‘साहुसँग पैसा तिरेको कागज माग्दा दिदँनथे । उनीहरू आफूले आफ्नो रजिस्ट्ररमा लेखेको भनेर हामीलाई कागज दिन मान्दैन्थे ।”

विदेशमा श्रीमानको कमाइ र स्वदेशमा आस्मा खातुनको कमाइले पनि साहुको ऋण चुक्ता भइरहेको थिएन । आस्मा खातुनले सुरेश बानियाँ संग ८ लाख ऋण लिएकी थिइन् तर उनले १० लाख र १४ कठ्ठा जग्गा बेचेर ३८ लाख तिरिसक्दा पनि साहुले अझै १५ लाख रकम बाँकी रहेको बताइएपछि उनी झस्किइन् । “मैले ८ लाख लिएकी थिँए । ३८ लाख तिरिस्कदा पनि साहुले अझै १५ लाख बाँकी छ भन्छ । अब मैले त्यति धेरै पैसा कसरी जुटाउने, ?” उनको प्रश्न छ ।

आस्मा खातुनले जब आफूमाथि अन्याय भएको महशुस गरिन् तब उनी प्रतिरोधमा उत्रिन थालिन । साहुले फोन गरेर धम्काउँथे । उनी पनि जवाफ दिन थालिन् । “चुपचाप सहेर पनि भएन । त्यति धेरै पैसा बुझाइसकेको छौं तरपनि साहुले दुख दिन्छ । त्यसैले मैले मलाई फोन गरेको बेला नराम्रोसंग झपारेँ,’ आस्माले भनिन्,‘त्यसपछि उ मसंग कहिल्यै बोलेको छैन । त्यसपछि साहुले न फोन गर्यो न त उनको घरतर्फ आउने आट नै गर्यो ।’

तर जब खातुनले आफ्नी सासु आमा गुमाइन् त्यसपछि विदेश भएका श्रीमान पनि घर फिर्ता हुनु पर्यो । ५ महिनासम्म विदेशमा काम गरेका उनका श्रीमान स्वदेश फर्किए । श्रीमान घरमा आएपछि साहु फेरि आउन थाल्यो र पैसा माग्न थाल्यो । “मसंग बोलेको थिएन र घरमा आएको पनि थिएन तर मेरो श्रीमान घरमा आएपछि उ फेरि पैसा माग्दै घरमा आउन थालेको छ,” उनले भनिन् ।

मिटरब्याज पीडित आस्मा खातुन मात्रै होइन । बानियाँ दाजु भाईबाट पाँच÷छ सय जनाभन्दा धेरै जनताहरु मिटरब्याजबाट पीडित भएका थिए । आफ्नो घरजग्गा सबै गुम्ने र आफ्ना छोराछोरी देखि नातिनातिना सम्मले पनि कर्जा तिरिराख्नुपर्ने भएकोले त्यसका विरुद्ध आवाज उठाउन मिटरब्याज पीडितहरू सिडियो कार्यलय, जिल्ला प्रशासनसम्म पुगे । तर उनीहरूले न्याय पाएनन् । आफू संगसंगै छोराछोरी देखि नातिनातिना समेत पीडामा पर्ने देखेपछि मिटरब्याज पीडितहरु माइतीघर मण्डलासम्म आइपुगेका हुन् । राम सुरत गुप्ताको नेतृत्वमा आएका मिटरब्याज पीडितहरुसंगै आस्मा खातुन पनि आइपुगेकी हुन् । “घरबाट निस्कन समेत पाँउदैन्न महिलाहरु तर म भने घरबाट आन्दोलन स्थलसम्म आइपुगे,’ आस्मा भन्छिन्, “ घरमा सबैभन्दा धेरै काम महिलाको नै हुन्छ । एकातिर ससुरा बिरामी अर्कोतर्फ छोरा । घर लथालिङ्ग छ तरपनि म यहाँसम्म आइपुगेर धर्नामा बसिरहेको आज १० दिन भयो ।’

घरको सम्झना आउँने वित्तिकै उनी केहीबेर मौन बसिन् । उनको आँखाहरु पक्कै पनि घरपरिवार र गाउँको चित्रलाई हेर्न खोजिरहेका थिए । केहीबेरको मौनतालाई तोड्दै आस्मा भन्छिन् “सरकारसंग मेरो माग छ । साहुलाई कारबाही गर्नुपर्छ र सबै मिटरब्याज पीडितहरुको लालपुर्जा फुकुवा गरिदिनुपर्छ । साहुलाई कारबाहीले मात्र पुग्दैन, हामीबाट बढी असुलेको रकम पनि फिर्ता गर्नुपर्छ, ।”
उनी बोल्दै गर्दा उनका आँखाहरुमा आक्रोश देखिएको थिए ।

घरमा जतिसुकै समस्याहरु भएपनि न्याय नपाएसम्म नजाने उनको संकल्पले धर्नालाई अझै बलियो बनाएको थियो । सायद आस्माहरुको संकल्पले हुनुपर्छ राज्यले मिटरब्याजको धन्दामा समलग्नहरुलाई पक्राउ गरेको छ । प्रहरी अनुसन्धान केन्द्रीय ब्युरोले धर्नाकै कारण शान्ति सुरक्षामा समेत खलल पुग्ने भन्दै मिटरब्याज लगाउने धन्दामा समलग्न पश्चिम नवलपरासी प्रतापपुर गाविस ९ बेलाारी घर भएका ५६ वर्षिय सुनिल बानियाँ भन्ने सुनिल कुमार गुप्ता, सोही सथानमा ६५ वर्षिय जगदिश भन्ने जगदिश कानुलाई पक्राउ गरि अनुसन्धान अघि बढाएको छ । प्रहरीले बानियाँद्वयलाई त पक्राउ गरेको छ । तर, अदालतले छाडिदिने हो की भन्ने आशंका पीडितहरुलाई छ ।

 

सम्बन्धित खबर