काठमाडौं । नेपालबाट दुबई भिजिट भिषामा लैजाने र त्यहाँ काममा लगाइदिन्छु भन्दै सयौं नेपालीलाई ठगी गरेको अभियोगमा कोमलराज उपाध्याय दुबईकै जेलमा छन् ।
प्रहरी अनुसन्धान केन्द्रीय ब्युरोले यता नेपालमा भने कोमलकी पत्नि रञ्जना ढकाल प्याकुरेल सहित ५ जनालाई पक्राउ गरि मुद्दा चलाएको छ । उपाध्यायले संचालन गरेको त्रिनेत्र म्यानेजमेन्ट प्रा.लीको ठगीधन्दा बारे दियोपोस्ट डटकमले नै पहिलो खबर लेखेको थियो ।
उपाध्यायको समुहले सर्वसाधरणबाट २ करोड भन्दा बढी रकम ठगी गरेको प्रारम्भिक खुलाशा भइसकेको छ । उपाध्यायमाथि मुद्दा चलेपनि अन्य ठगीमा समलग्न व्यक्ति भने खुलमखुल्ला हिँडिरहेको पाइएको छ । उपाध्यायकै शैलीमा ठगीधन्दा चलाउँदै आएका अर्का व्यक्ति हुन्– युक्तमान गुरुङ ।
गोरखाको साविक मोहरिया गाविस ७ घर भएका युक्तमान गुरुङले दर्जनौँ नेपालीलाई दुबईमा विचल्ली बनाएपनि कुनै कारबाही भएको छैन । ।
भिजिट भिषाको नाममा मानव तस्करी गर्दै आएका गुरुङले रोयल सुरक्षागार्डमा काम लगाइदिन्छु भन्दै ती नेपालीलाई दुबई पुर्याएका थिए । दुबई पुगेका उनीहरुले दलाल गुरुङलाई ५ लाख ६० हजार रुपैयाँदेखि ६ लाख २४ हजार रुपैयाँसम्म दिएका थिए ।
उनीबाट ठगिएका कमल बहादुर रायमाझी, सुमन श्रेष्ठ, गंगा राना मगर, याम बहादुर राना क्षेत्री र रमेश श्रेष्ठले विभिन्न निकायमा उजुरी समेत दिएका छन् । उनी यतिबेला प्रहरीको समेत खोजी सुचीमा छन् ।
पीडित रायमाझीले वैदेशिक रोजगार विभागमा दिएको उजुरी अनुसार गुरुङले दुबईस्थित रोयल गार्डमा काम लगाइदिन्छु भन्दै उनीबाट ६ लाख रुपैयाँ असुली गर्न लगाएका थिए ।
सिरिल ठगी गर्दै आएका गुरुङले कास्की घर भएका किरण केसी र जानुका पुरीलाई समेत ठगीमा प्रयोग गर्दै आएका छन् । केसीको माछापुच्छ«े बैंकमा रहेको खाता नम्बर १८२३५२४३८५४९८०१३ नम्बरमा रु ४ लाख र पुरीको नाममा रहेको एनआइसी एशिया बैंकको खाता नम्बरमा २ लाख रुपैयाँ जम्मा गरिदिएका थिए । उनीबाट पैसा लिएपछि भने गुरुङ फरार रहेको उनले दिएको उजुरीमा उल्लेख छ ।
गोरखा नै घर भएका सुमन श्रेष्ठले वैदेशिक रोजगार विभागमा दिएको उजुरीमा गुरुङलले उनीबाट ५ लाख ६० हजार रुपैयाँ बुझेर फरार भएका छन् ।
बाँकेको कोहलपुर ५ घर भएका याम बहादुर राना क्षेत्रीसाग पनि गुरुङले ५ लाख ६० हजार नै असुली गरेका छन् । बर्दिया बाँसगढी घर भएका गंगे रानाको पनि गुरुङले भिजिट भिषामा दुबई पुर्याएर काम लगाइदिन्छु भन्दै साढे ५ लाख रुपैयाँ ठगी गरेको उजुरीमा उल्लेख छ ।
पीडितहरुले युक्तमान गुरुङकै नाममा सिद्धार्थ बैंकमा रहेको खाता नम्बरमा समेत लाखौँ रुपैयाँ जम्मा गरिदिएका छन् । उनलाई गोरखा प्रहरीले समेत फरार सुचीमा राखेर खोजी थालेको छ ।