‘६ अर्बभन्दा बढी भ्रष्टाचार गरेको’ भन्दै अर्थमन्त्री जनार्दन शर्मा, ज्वाइँ राणासहित ८ विरुद्ध अख्तियारमा उजुरी !

दियो पोस्ट  

 

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । एक बिमा कम्पनिलाई ६ अर्बभन्दा बढी नाफा पुर्याउने गरि नितिगत भ्रष्टाचार गरेको भन्दै शर्मा र उनका छोरी ज्वाइँ आलोक प्रताप राणा, विमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवाल, सिइओ राजु रमण पौडेल, विमा समितिका संचालक सन्तोष रिजाल, कानुन मन्त्रालयका सहसचिव सुशील कोइराला, विमा समितिका संचालक समिति सदस्य समेत रहेका आन्तरिक राजश्व विभागका महानिर्देशक रितेश शाक्य, विमा समितिका संचालक, कपिलदेव ओली लगायत ८ जनाको मिलमतोमा चरम भ्रष्टाचार भएको उजुरीमा उल्लेख छ ।

हिमालयन रि इन्स्योरेन्स कम्पनीले वार्षिक साढे छ अर्ब रुपैयाँ पाउने गरी भएको घोटाला प्रकरणमा शर्मा सहित उच्च अधिकारी विरुद्ध अख्तियारमा उजुरी परेको हो ।

बीमा समितिले नीतिगत भ्रष्टाचार हुने गरी २०७९ वैशाख २८ र २०७९ जेठ ५ मा गरेको निर्णयले हिमालयन रि नामक निजी पुनर्बीमा कम्पनीलाई वार्षिक साढे तीन अर्ब रुपैयाँ आम्दानी ग्यारेन्टी गराइदिएका थिए । केहीदिन अघि आयोगमा दर्ता भएको उजुरीअनुसार अर्थमन्त्री जनार्दन शर्मा यो प्रकरणमा मुछिने पक्का भएका छन् । बीमा समितिमा सञ्चालक नियुक्त भएका उनको आफ्नै सालो भएको दाबी उजुरीमा गरिएको छ । उनको आफ्नै ज्वाइँ हिमालयन रि इन्स्योरेन्समा कार्यरत रहेको व्यहोरा यसअघि नै विभिन्न संचार माध्यमले लेखेको थियो । नियामक निकायमा आफ्नो सालो राखेर ज्वाइँ म्यानेजर पदमा कार्यरत रहेको कम्पनीलाई वार्षिक अर्बौँ रुपैयाँ आम्दानी हुने गरी निर्णय गराएको विषयले अब गम्भीर निर्णायक मोड लिने निश्चित देखिएको छ । बीमा समितिले गत जेठ ५ मा जारी गरेको गैरकानुनी निर्देशनको सम्बन्धमा आयोगमा दर्ता भएको सी–०४४४४० को उजुरीमा बीमा समितिका अध्यक्षलाई मुख्य योजनाकार बनाइएको छ भने अर्थमन्त्री शर्मालाई केन्द्रविन्दुमा राखेर दुई जना नातेदारको विवरण समेत खुलाइएको प्राप्त उजुरीमा उल्लेख छ । बीमा समितिले जेठ ५ गते एक निर्देशन जारी गर्दै नेपालमा सञ्चालित सबै बीमा कम्पनीहरुले संकलन गर्ने कुल बीमाशुल्कको कम्तीमा २० प्रतिशत बीमा शुल्क नेपाल पुनर्बीमा नामक कम्पनीले पाउँदै आएकोमा सोही मितिदेखि लागू हुने गरी हिमालयन रि र नेपाल रिले आधा आधा बाँडफाँट गर्न निर्देशन दिइएको थियो । बीमा समितिले जेठ ५ मा जारी गरेको निर्देशन नेपालको प्रचलित कानुनविपरीत, आर्थिक वर्ष २०७५/०७६ को बजेट वक्तव्यको २०३ बुँदामा समावेश भई प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भई कानुनसरह कार्यान्वयनमा रहेको विषयमा बीमा समिति सञ्चालक समितिले गरेको निर्णय र बीमा समितिले जारी गरेको निर्देशनहरु गैरकानुनी रहेको भन्दै सो घटनामा संलग्नहरुलाई तत्कालै निलम्बन गरी कारबाहीको माग उजुरीमा गरिएको छ । प्रतिनिधिसभाको लेखा समिति, राज्य व्यवस्था तथा सुशासन समिति र अर्थ समितिलाई समेत बोधार्थ बुझाइएको उजुरीमा अर्थमन्त्री जनार्दन शर्माले आफ्ना ज्वाइँ आलोक प्रताप राणा कार्यरत कम्पनी हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई आफ्नै सालो नाता पर्ने बीमा समितिका सञ्चालक सन्तोष रिजालमार्फत निर्णय गराई पाँच वर्षसम्म अर्बौँ रुपैयाँ आम्दानी ग्यारेन्टी गराएको दाबी गर्दै अर्थमन्त्री शर्मासहित उनका दुवै जना नातेदारलाई कारबाहीको भागिदार बनाउन माग गरिएको छ ।

बीमा समितिका अध्यक्षले प्रस्तावको रुपमा पेश गरेर घुस रकम सेटिङसहित सो निर्णय गराएको दाबी गर्दै बीमा समितिका अध्यक्ष र अर्थमन्त्री शर्मामाथि समेत छानबिन गर्न माग गरिएको छ । सो उजुरीमा साढे तीन अर्ब रुपैयाँ राज्यको लगानी रहेको कम्पनीको हिस्सा खोसेर निजी पुनर्बीमा कम्पनीलाई दिने निर्णयले नेपाल सरकारमाथि क्षति पु¥याउने कार्य गरेको, आर्थिक विधेयकका रुपमा आव २०७५÷०७६ मा संसदबाट पारित भई कानुनसरह नेपाल पुनर्बीमा कम्पनीले कुल बीमा रकमको २० प्रतिशत प्रत्यक्ष हिस्सा २०७९ जेठ ४ गतेसम्म पाई कार्यान्वयनमा रहेकै अवस्थामा बीमा समितिले गरेको खोस्ने निर्णयले प्रतिनिधि सभा (संसद) को अवहेलना गरेको समेत आरोप लगाउँदै कारबाहीको माग गरिएको हो । उजुरीकर्ताले बीमा समितिका अध्यक्ष, बीमा समितिका कार्यकारी निर्देशक, बीमा समितिका सबै सञ्चालकहरु, सेटिङमा मुख्य भूमिका निर्वाह गर्ने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा हिमालयन रि इन्स्योरेन्स कम्पनीका अध्यक्ष शेखर गोल्छालाई समेत कारबाहीको दायरामा ल्याउन माग गरिएको छ । साथै हिमालयन रि इन्स्योरेन्स कम्पनी दर्ता गरेदेखि नै सेटिङ भएकोले बीमा समितिका अध्यक्ष लगायतका पदाधिकारीहरुको सम्पत्ति समेत छानबिनको माग गरिएको छ ।

कान्तिपुरको साहुलाई १० करोड बराबरको गोल्डेन सेयर !

बीमा समितिबाट अनुमति पाउनु अघि नै विवादमा मुछिएको नेपालको दोस्रो पुनर्बीमा कम्पनि हो – ‘हिमालयन रि’ । सोही विमा कम्पनिमा आफूलाई प्रतिष्ठित दाबी गर्दै आएको कान्तिपुर दैनिकका साहुले समेत साझेदारी लिएका छन् ।

कान्तिपुर दैनिकका मालिक कैलाश प्रसाद सिरोहीयाले उक्त कम्पनिमा १० करोड बराबरको गोल्डेन सेयर हात पारेका हुन् ।

कुल सात अर्ब १८ करोडको संस्थापक सेयरमध्ये एक अर्ब रुपैयाँ दुई सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकले ५०/५० करोड रुपैयाँका दरले सेयर लगानी गरेका छन् । उनीहरूको लगानीबाहेक छ अर्ब १८ करोड रुपैयाँमध्ये केहीलाई गोल्डेन सेयर त केहीलाई नजरानाबापत दिइएको सेयरबाहेक बाँकी सेयरमा भ्रष्टाचार भएको आरोप छ ।

करिब छ अर्ब रुपैयाँबराबरको ६ करोड कित्ता सेयरमा व्यक्ति अनुसार २५ रुपैयाँदेखि ६५ रुपैयाँसम्म रकम असुल गरी बाँडचुँड गरिएको गरिएको छ । अनुसार हिमालयन रि नामक पुनर्बीमा कम्पनी दर्ता गर्दा तीन अर्बभन्दा बढी अवैध रुपमा रकम संकलन गरिएको र सो रकम भूतपूर्व अर्थमन्त्री विष्णु पौडेल, तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार मोतिलाल दुगड, अर्थसचिव शिशिर कुमार ढुंगाना, बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बाँडचुँड गरेको आरोप थियो ।

हिमालयन रिमा मुख्य लगानीकर्ताहरूको रुपमा भने साहिल अग्रवाल र सुलभ अग्रवाल छन्  । यी दुई व्यक्तिहरूको दर्र्जनौँ कम्पनीहरूको नाउँमा अर्बौँ रुपैयाँबराबरको करोडौँ कित्ता सेयर देखिएको छ ।

जसअन्तर्गत शाहिल अग्रवालले आफ्नो उज्जीवन मर्चेन्ट प्रालिको नाउँमा १० लाख कित्ता, एकार्ड क्यापफिन प्रालिको नाउँमा १३ लाख ५० हजार कित्ता, कालिका फिनकोर्प प्रालिको नाउँमा १३ लाख ५० हजार कित्ता, जगदम्बा स्टिल प्रालिको नाउँमा २२ लाख कित्ता र जगदम्बा मोटर्स प्रालिको नाउँमा ३२ लाख कित्ता समेत गरी कुल ९१ लाख कित्ता सेयर लगानी गरेका छन् ।

यसैगरी सुलभ अग्रवालको नाउँमा रहेको एमवर प्रोभेप्टमेन्ट प्रालिको नाउँमा ३० लाख ६० हजार कित्ता र कामाख्या फिनकोर्ष प्रालिको नाउँमा नौ लाख कित्ता समेत गरी कुुल ३९ लाख ६० हजार कित्ता सेयर लगानी गरेको छ । अग्रवाल कोरोना महामारीमा थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका कुख्यात पात्र हुन् । यसैगरी दिपक भट्टको इन्फिनिटी होल्डिङ प्रालिको नाउँमा पनि ४५ लाख कित्ता संस्थापक सेयर लगानी रहेको छ ।

 

भट्ट अर्थमन्त्रीको प्रिय पात्र !

जलविद्युत माफियाको रुपमा परिचित दिपक भट्ट अर्थमन्त्री जनार्दन शर्माको प्रीय पात्र हुन् । शर्मा अर्थमन्त्री भएपनि उनलाई चाहिने हरके सल्लाह भट्टबाट नै लिँदै आएका छन् । अर्थमन्त्री शर्माले यो आर्थिक वर्षको बजेट बनाउँदा समेत भट्ट जस्ता विचौलियाको सल्लाह लिएको स्रोत बताउँछ । अर्थमन्त्रीलाई सल्लाह दिने चर्चित सुब्बा समेत भट्टकै कम्पनिमा काम गर्ने कर्मचारी हुन् । उनै भट्टलाई अघिसारेर हिमालयन रि मा ठूलो घोटाला भएको स्रोत बताउँछ ।

सम्बन्धित खबर