धार्केमा लुटपाट भएको तस्करीको मल कसको ? विभागको खोजीमा धादिङका दुवाडी !

दियो पोस्ट  

 

काठमाडौं । गत असार ४ गते धादिङको धार्केमा स्थानिय किसानले २ ट्रक मल लुटपाट गरे । सशस्त्र प्रहरीको नियन्त्रणमा रहेको उक्त मल राजश्व अनुसन्धान विभाग बुझाउन भन्दै ल्याइँदै थियो । तर, स्थानियबासीले लुटपाट गरेपछि हालसम्म उक्त प्रकरणबारे सोधीखोजी भएको छैन । यता राजश्व अनुसन्धान विभागले भने उक्त मल तस्करीमा समलग्नलाई बयान लिने कार्य थालनी गरेको छ ।

राजश्व अनुसन्धान विभाग स्रोतका अनुसार उक्त तस्करीको मल ल्याउने मुख्य पात्र धादिङकै व्यापारी बोदनाथ दुवाडी हुन् । दुवाडी एग्रोभेटका मालिक समेत रहेका बोदनाथ यसअघि धादिङ उद्योग वाणिज्य संघको अध्यक्ष समेत हुन् । उनै दुवाडीको ट्रकमा ती मलहरु तस्करी गरेर ल्याइँदै गर्दा सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको थियो । पक्राउ परेपछि थप प्रक्रियाका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन तर्फ ल्याउँदै गर्दा धार्केका स्थानियले लुटपाट गरेका थिए । यो घटनाबारे अनुसन्धानमा समलग्न राजश्व अनुसन्धान विभागका एक अधिकारीका अनुसार व्यापारीले नै सुचना चुहाएर लुटपाट गराएका थिए ।

‘राजश्व अनुसन्धान विभागले अदालतमा मुद्दा दायर गर्दा भंसार छलीको मालवस्तुको विवरणसहित अभियोगपत्र बुझाउनुपर्छ । त्यसो हुँदा कम्पनिको संचालकलाई पनि मुद्दा लगाउनुपर्ने हुन्छ । भंसार छली गरेर ल्याउने प्रमुख व्यक्ति बोदनाथ दुवाडीलाई समेत मुद्दा लगाउने तयारी भएको थाहा पाएपछि दुवाडीले नै सुचन चुहाएर लुटपाट गराएको बुझियो । उहाँलाई आजै हामीले बयानका लागि बोलाएका छौँ ।’

विभागका ती अधिकारीको भनाईलाई पुष्टि गर्ने गरी दुवाडीले समेत दियोपोस्टलाई प्रतिक्रिया दिए । उनी आजै बयानका लागि विभाग जाँदै रहेछन् । यद्धपी उक्त ट्रक आफ्नो भएपनि मल भने आफ्नो नभएको उनले प्रतिक्रिया दिए । ‘हाम्रो गाडी हो । माल सामान ढुवानी गर्ने गाडी भएपछि उक्त दिन पनि त्यस्तै कसैले अर्डर गरेपछि चालकले केही मल पनि ल्याएको रहेछ । अर्को गाडीमा सर्वोत्तम सिमेन्ट पनि रहेछ,’ दुवाडीले भने,‘सशस्त्रले नियन्त्रणमा लिएपछि मसँग कोही पनि सम्पर्कमा छैन । मैले कसरी सुचना चुहाउन सक्छु र ?’

यता सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी विदुर खड्काले घटनाबारे राजश्व अनुसन्धान विभागबाट पुरा जानकारी लिएर दियोपोस्टलाई जानकारी गराउने प्रतिबद्धता जनाए ।

सम्बन्धित खबर