काठमाडौंै । अमेरिकी सेनाको सैन्य रणनीति ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी) मा भाग लिन नेपाली सेनाको तर्फबाट पटक पटक पत्राचार गर्ने व्यक्ति हुन् पूर्व प्रधानसेनपति राजेन्द्र बहादुर क्षेत्री ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत बोधार्थ दिएर क्षेत्रीले सन् २०१५ अक्टोबर २७ मा पत्राचार गरेका थिए ।
उनकै पत्रपछि अमेरिकाको नेश्नल गार्डस्ले नेपाललाई एसपीपी सैन्य समिकरणमा सुचिकृत गरिसकेको छ । नेपाल सरकारले उक्त सैन्य गठबन्धनमा भाग नलिने निर्णय गरेपनि नेश्नल गार्डले हालसम्म त्यसको जवाफ दिएको छैन ।
अमेरिकाको सैन्य रणनीतिमा औपचारिक सामेल भएको नेपालको भूराजनीतिक जटिलता बढ्दो छ । सोही कारण छिमेकी मुलुक चिन र भारतसमेतले नेपाललाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न सक्ने संभावना उत्तिकै छ । नेपाललाई अमेरिकी सैन्य रणनीतिको भूमरी पार्ने प्रमुख पात्र हुन्–तत्कालिन प्रधानसेनापति क्षेत्री र तत्कालिन प्रम केपी ओली । ओलीले एसपीपी सम्झौताबारे खुलेर बोलेका छैनन् । उनले छिटफूट रुपमा आफ्नो बचाउ मात्रै गरिरहेका छन् । तत्कालिन सेनाले थाहा नदिएको, कर्मचारीले झुक्याएको जस्ता अभिव्यक्ति दिएर भाग्ने कोशिसमा छन् ।
यो प्रकरणबारे जवाफ दिनुपर्ने अर्को व्यक्ति हुन्–राजेन्द्र क्षेत्री । अर्बपति सेनापतिको पहिचान बनाएका उनै क्षेत्री नेपालमा नरहेको खुलेको छ । उनी लामो समयदेखि अमेरिकामै गुपचुप बसिरहेका छन् । केहीदिन अघि एक संचारकर्मीले उनलाई सोही प्रकरणबारे प्रश्न गर्न खोजेका थिए । तर, उनले सोबारे कुनै प्रतिक्रिया दिन चाहेनन् । ‘उहाँ एसपीपीबारे आफ्नो भूमिकाको विषयमा आएका प्रश्नमा गम्भिर हुनुहुन्छ । तैपनि उहाँले आफ्नो कुरा सार्वजनिक रुपमै राख्नुहोला भन्ने लागेको छ,’ ती पत्रकारले लेखेका छन् ।
एसपीपीबारे नेपालमा व्यापक विरोध भएपछि नेपालस्थित अमेरिकी दूतावासले एसपीपीमा नेपाल समलग्न भइसकेको भन्दै विज्ञप्ती जारी गरेको थियो । त्यसलगत्तै नेपाली सेनाले पत्रकार सम्मेलन गरेर नेपाल एसपीपीमा समलग्न नभएको बताएको थियो । त्यसको केही घण्टामै क्षेत्रीको हस्ताक्षरसहित अमेरिकी सेनालाई लेखिएको पत्र सार्वजनिक भएको थियो ।
तत्कालिन रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री केपी ओलीलाई बोधार्थ दिएर उनले पत्राचार गरेका थिए । हालका प्रधानसेनापति प्रभुराम शर्माले संसदीय समितिमा दिएको अभिव्यक्ति अनुसार तत्कालिन प्रधानमन्त्री तथा रक्षामन्त्री केपी ओलीको स्विकृति लिएर अमेरिकालाई पत्राचार गरिएको थियो ।