काठमाडौं । पदयात्री पर्यटक उद्दारको नाममा पुन : शुरु भएको ठगीधन्दाबारे नयाँ तथ्य फेला परेको छ । नेपालस्थित संचालनमा रहेका विभिन्न ‘भूमिगत’ रेस्क्यु कम्पनिहरुले विदेशी बीमा कम्पनिबाट उद्दारका नामा चर्को शुल्क उल्लेख गरेर बिल पठाउने गरेका छन् ।
ट्रेकिङ व्यावसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एशोशिएसन अफ नेपाल ‘टान’का सचिव समेत रहेका नेपाल एसिस्टेन्स प्रा.ली नामक रेस्क्यु कम्पनिका मालिक दामोदर ढकालले हेलिकोप्टर कम्पनिले लिने शुल्क भन्दा चारगुणा चर्को शुल्क दाबी गर्ने गरेको पाइएको छ । सन् २०२२ को मे २२ मा ढकालको कम्पनिले युरोप एसिस्टेन्स नामक विदेशी विमा कम्पनिको नाममा जारी गरेको बिलमा १० हजार ९ सय ४ युरो भुक्तानी दाबी गरिएको छ ।
मुक्तिनाथबाट पोखरासम्म उद्दार गरिएको ती विरामीको नाम हो– माइकल । यता सिम्रिक एयरले सोही पर्यटक उद्दारका लागि तयार पारेको लोडसिटमा भने एक वर्षअघि अर्थात २२ मे २०२१ मा उद्दार गरिएको उल्लेख छ । यता नेपाल एसिस्टेन्सको नाममा तयार पारेको सिम्रिकको बिलमा भने उद्दार बापतको रकम २६ सय डलर मात्रै उल्लेख छ । ती विरामीलाई पोखरास्थित स्वाकन अस्पतालमा उपचार गरिएको मेडिकल रिपोर्टमा उल्लेख छ । तर, उक्त अस्पतालमा कति खर्च भयो भन्ने विवरण कम्पनिले उपलब्ध गराएको छैन ।
बार्गेनिङ नमिलेपछि फेरी अर्को बिल !
विदेशी विमा कम्पनिलाई चर्को शुल्क दाबी गरेर बिल पठाएपनि ढकालको कम्पनिले दाबी गरे अनुसारको विमा रकम नपाएको खुलेको छ । ढकालले नै उपलब्ध गराएको अर्को बिलमा सोही विरामी उद्दार गरेबापत युरोप एसिएस्टेन्सलाई ५ हजार ५ सय युरो भुक्तानी दाबी गरिएको छ । हेलिकोप्टरले लिएको शुल्क भन्दा यो दोब्बर शुल्क हो । उनले उपलब्ध गराएको कागजातमा स्वाकन अस्पतालले कति रुपैयाँ असुली गर्यो भन्ने विवरण उल्लेख छैन । अस्पतालले उपलब्ध गराएको मेडिकल रिपोर्ट मात्रै उनले दियोपोस्टकर्मीलाई दिएका छन् ।
ढकाल भन्छन्,‘हामीले पनि स्टाफ पाल्न पर्यो’
यसैबीच नेपाल एशिसटेन्स प्रालीका संचालक दामोदर ढकालले आफ्ना विषयमा आएका समाचार झूटो रहेको बताएका छन् । दियोपोस्टकर्मीसँगको टेलिफोन कुराकानीमा ढकालले शुरुमा गरिएको बिल १० हजार ९ सय युरो आफूहरुले पहिलो चरणमा बार्गेनिङ गरेको दाबी गरे । ‘त्यो शुरुवाती वार्गेनिङ चरण हो । पछि पठाइएको बिल ५ हजार ५ सय युरो पनि हामीले नै पठाएको हो । हाम्रा पनि स्टाफ छन्,’ ढकालले भने,‘यसमा मैले कुनै बद्मासी गरेको छैन । बीचमा रहेको मिडियटर नेपाली कम्पनिको बद्मासी हो ।’
उनकै कम्पनिद्वारा जारी भएको बिल भौचर समेत सार्वजनिक हुँदा पनि उनले आफ्नो विषयमा आएको समाचार शतप्रतिशत झूटो भएको बताए । दियोपोस्टमा यसअघि प्रकाशित समाचारको खण्डन गर्दैै उनले पठाएको खण्डनमा सबै समाचार झूटो भएको दाबी गरे ।
‘मैले आजका मितिसम्म गरेका व्यावसायीक कारोबारमा कुनै पनि अपचलन गरेको ठहरेमा कानुन बमोजिम सजाय भोग्न तयार छु,’ उनले भनेका छन्,‘तर मैले नगरेका नभएका तथ्यहरु प्रकाशन गरेका कारण उक्त अनलाइन मिडियाद्वारा मेरो बारेमा पुग्न गएका क्षेतिप्रति मिडियासँग क्षतिपूर्तिको माग गर्दै सम्बन्धित निकायसँग ध्यानाकर्षण गराउन चाहान्छु ।’