काठमाडौं । नेपाली सेनालाई अहिले पनि आम नागरिकले विश्वास गर्ने संस्थाको रुपमा लिने गरेका छन् । सेना राष्ट्रको गौरवशाली संगठनको रुपमा परिचित छ । विपद्मा झन नेपाली सेनालाई धेरैले सम्झने गरेका छन् ।
नागरिकको दुःखमा मल्हम लगाउने कार्यमा अहोरात्र खटिदै आएको नेपाली सेनालाई केही पात्र भने वदनाम बनाउने फोहारी खेलमा लागेका छन् । लामो समय काठमाडौँ–तराई द्रुतमार्गका प्राविधिक भएर काम गरेका मंगललाल श्रेष्ठ अहिले अवकास भइसकेका छन् । तर उनले नेपाली सेनाको परिचय पत्र देखाएर सरकारी कार्यालयमा दादागिरी देखाउदै काम हात लाउदै आएका छन् । अवकास पाएपछि उनी आम नागरिकको हैसियतमा बस्नुपर्ने हो । तर, उनी अहिले पनि सेनाकै कर्मचारी हुँ भन्दै धम्काउँदै आएका छन् ।
लामो समयदेखि नेपाली सेनाले गर्ने प्राय सबैजसो विकास निर्माणसंग सम्बन्धित कामहरुमा एकछत्र परामर्शदाताको काम गर्दै आएका मंगललाल श्रेष्ठका कारण राष्ट्रिय गौरवको आयोजना समेत अहिले प्रभावित बन्न पुगेको छ । काम लिइसकेपछि मंगलमानको झुट र बदमासीको शृंखला एक–एक गरि सार्वजनिक भइरहेको छ र नेपाली सेनालाई अनेक बहाना बनाउदै आफु अनुकूल सम्झौता गर्न बाध्य बनाइरहेका छन् । श्रेष्ठको प्रत्यक्ष र अप्रत्यक्ष संलग्नतामा करिब आधा दर्जन जति परामर्श सम्बन्धि काम गर्ने कम्पनीहरु छन् ।
उनले लामो समयदेखि सेना भित्र एकल रजाई गर्दै आइरहेका थिए । उनलाई जान्ने ईन्जिनियरिङ्ग सोसाइटीले उनले आजसम्म व्यवसायिक रुपमा कहिल्यै काम नगरेको र कुनैपनि काम लिनका लागि ठगी, मिलेमतो र लेनदेनको सहायता लिइरहेका आरोप लगाउने गरेका छन् ।
नेपाली सेनाको कर्णेलबाट अवकास पाएका उनीमाथि विभिन्न निकायले छानबीन थालेको छ । उनीमाथि अकुत सम्पत्ति आर्जन गरेको आरोप छ । उनी विरुद्ध सम्पत्ति सुद्धिकरण विभागदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्मले अनुसन्धान गरिरहेको विशेष स्रोतले जनाएको छ । श्रेष्ठले काठमाडौं तराई द्रुत मार्ग ‘फास्ट ट्रयाक’मा बहाल रहँदा र अवकाशपछि पनि सेटिङमा करोडौं रुपैयाँको चलखेल रहेको भन्दै नेपाली सेनाले समेत श्रेष्ठलाई निगरानीमा राखेको स्रोतले जनाएको छ । काभ्रेको विकट ठाउँबाट आएको छोटोसमयमै उनी अकुत सम्पत्तिका मालिक भएका थिए । ‘कर्णेलबाट अवकाश प्राप्त मंगललालको सम्पत्ति विवरण हेर्दा अस्वभाविक देखिन्छ,’ विभाग स्रोत भन्छ,‘त्यसैले पनि छानबिन गर्न योग्य देखिएको छ तर छानबीनमा भएको कुरा बाहिर आउनु गलत हो ।’ उनका अनुसार श्रेष्ठले यस अवधिमा काठमाडौँ उपत्यकाभित्र मात्रै आधा दर्जन आलिशान बंगला जोडेको स्रोतले बतायो । नेपाली सेनाको प्राविधिक भई कर्णेल भएका श्रेष्ठले आफ्नो कार्यकालमा आधा अवधि पनि जागिरको लागि खर्चिएनन । आफ्नो आफन्तको नाममा परामर्शदाता कम्पनि खडा गरेर करोडौँ कमाउने धन्दा नै चलाएको चर्चा अहिले पनि नेपाली सेनाभित्र चल्ने गरेको छ । सिभिल इन्जिनियर रहेका मंगललाल आफू सेनामा जागिर खाँदा आफ्ना परिवार र आफन्तका नाममा इन्जिनियरिङ कन्सल्टेन्सी कम्पनि चलाएर विवादमा आएका थिए । पदमा रहदा श्रेष्ठले नेपाली सेनाभित्रका प्रायः सबै कन्सल्टेन्सी सम्बन्धी कार्यहरु आफ्ना तिनै कन्सल्टेन्सी मार्फत गरेका थिए ।
उनले त्यतिबेला नेपाली सेनाभित्रको काम मात्र हात पारेनन, सेनाको नाम दुरुपयोग गरेर अन्य सरकारी निकायका पनि सयौँ काम हात पार्न सफल भएका थिए । स्रोतका अनुसार अहिले पनि सेनाकै नाम बेचेर उनलेले धन्दा चलाउदै आएका छन् । उनेले गौरव इन्टिग्रेटेड डेभलपमेन्ट एसोसिएसन प्राइभेट लिमिटेड ९गिडा० र गरिमा इन्टिग्रेटेड डेभलपमेन्ट एसोसिएन प्राइभेट लिमिटेड ९गिडा० नामक २ उस्तै नामका कन्सल्टेन्सी सञ्चालन गर्दै आएका छन् । उनले आफन्तको नाममा उक्त कन्सल्टेन्सी सञ्चालन गर्दै आइरहेका छन् । मंगलालले कैयौं पटक गिडा नामका २ कम्पनीका लेटरप्याडको दुरुपयोग गरेको आरोपमा कारबाही भोगिसकेका छन् । तर उनको अवधै धन्दाको श्रंखला पनि अझै रोकिएको छैन् ।
तीन वटा फर्म मार्फत सहज रुपमा काम हत्याउनको लागि उनले आफन्तको नाममा अर्को जिओसी नामको कम्पनी पनि खडा गरेका छन् । उनले फर्जी डकुमेन्ट पेस गरेको आरोपमा एसियाली विकास बैंकले गिडा र मंगललाललाई कालोसूचीमा समेत राखेको थियो । पैसाको तुजुकमा मंगललाल सरकारी विकास मन्त्रालय र विभागमा परामर्शदाताको काम लिनको लागि उच्च अधिकारीको मुल्य समेत तोक्दै हिडने गरेका छन् । मंगललालले अहिले काम लिनकै लागि पार्टी समेत रोज्ने गरेका छन् । आफू अनुकुल पार्टी रोज्दै आएका श्रेष्ठ अहिले एकीकृत समाजवादीको केन्दीय लेखा आयोगको सदस्य रहेका छन् । पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई हात लिएर शहरी विकास मन्त्रालयबाट काम लिने कार्यक्रममा उनको दौडधुप बढेको छ । शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत रहेको नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको १७ वटा नगरपापालिका मध्य १० वटा नगरपालिकाका कामहरु आफूसम्बद्ध कम्पनी मार्फत सेटिङमा स्टामेट भन्दा बढी रकम लिन सफल भएको स्रोतको दावी छ । एउटै सेट बायोडाटाबाट १० वटा आयोजनाकाको काम लिनु र दिनु दुवै अख्तियार दुरुपयोग भएको बताइएको छ ।
मेरो विरुद्ध एउटा समुह लागेको छ : मंगललाल
यस विषयमा प्रतिक्रिया लिन पूर्व कर्णेल श्रेष्ठलाई सम्पर्क गर्दा आफूले कुनै पनि नगरपालिकासँग कुनै सम्झौत नगरेको बताए । आफू लामो समयदेखि राजनीतिक गतिविधिमा भएपनि सेनामा जागिर खाँदा ग्याप भएको उनले बताए । ‘म पुल्चोक क्याम्पसमा पढ्दादेखि राजनीतिमा लागेको हुँ ।
पछि सेनामा जागिर खाँदा २० वर्ष ग्याप रहयो । हाल म नेकपा एकीकृत समाजवादीको लेखा समितिमा छु । तर, मैले आफ्नो पेसामा कुनै पनि पार्टीको सहारा लिएको छैन । म माथि विभिन्न झूटो आरोप लगाउने एउटा समुह लागि परेको छ । ती समुहले पैसा समेत खर्च गरेर समाचार लेखाएको भन्ने सुनेको छु,’ उनले दियोपोस्टसँग भने,‘पहिले पनि फास्ट ट्रयाकमा अनियमितता गर्यो भनेर विभिन्न झूटो खबर फैलाए । १० ठाउँमा उजुरीपनि हाले । तर, ती निकायबाट कुनै पनि कारबाही भएको छैन । आफूले गल्ती गरेको भएपो कारबाही हुनु । म सामान्य परामर्शदाता मात्रै हुँ । मेरो केही कमजोरी छैन ।’
उनले आफ्नो बारेमा आएका सबै सुचना झूटो रहेको दाबी गरे ।