काठमाडौं । गत असार ३ गते एउटा अडियो भाइरल बन्यो । पर्यटन मन्त्री प्रेम आलेले आफ्नो कार्यकक्षमै बोलाएर नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई अश्लिल गाली गलौच गरेको अडियो । उक्त अडियो सार्वजनिक भएपछि आलेको राजिनामा समेत माग भयो । तर, विडम्बना आलेको राजिनामा होइन निगमका अध्यक्ष युवराज अधिकारी निलम्बित बने । अधिकारी निलम्बन र अश्लिल शब्द लगायत घटनाको पृष्ठभूमिमा एउटा कमिशन काण्ड जोडिएको पाइएको छ ।
त्यो हो नेपाल एयरलाइन्सको ट्विनअटर जहाज लिज काण्ड । नेपाल एयरलाइन्सले निगमको ट्विनअटर जहाज पोखरा–जोमसोम–पोखरा उडानका लागि एउटा ट्राभल एजेन्सीलाई भाडामा दिने तयारी थालेको थियो ।
जसका लागि पर्यटन मन्त्रीले उपयुक्त पात्र खोजी गरेका थिए । आलेका विश्वास पात्र हुन्–चन्द्र रिजाल । नेकपा एमालेको केन्द्रीय सदस्य तथा नेपाल पर्यटन बोर्डको उपाध्यक्ष समेत रहेका रिजालकै सेटिङमा आलेले सबै गतिविधि गर्दै आएका थिए । तर, रिजालको कुनै पनि ट्राभल कम्पनि फेला परेन । पर्यटन व्यावसाय नै नगरी टानको अध्यक्ष समेत भइसकेका रिजालको कम्पनि नै नभएपनि उनको सेटिङको अर्को कम्पनिको खोजी भयो । तर, सेटिङको कम्पनि खडा भएपनि निगमका अध्यक्ष तथा युवराज अधिकारी बाधक बनिदिए । त्यति मात्रै होइन रिजालको सेटिङलाई भत्काएर आफै कमिशन खान अर्को सेटिङवाला पात्र निस्किए जनकराज कालाखेती । खालाखेती नेपाल वायुसेवा निगमका कमर्सियल डाइरेक्टर समेत हुन् । कालाखेतीले आफ्नै निकटका ट्राभल एजेन्सीलाई खोजेर चार्टर फ्लाइटको ठेक्का सम्झौता गरिदिए । कालाखेतीले गत मार्च ३१ तारिखमा शुभ टुर्स एण्ड ट्राभल प्रालिका सन्जिना शर्मासँग चार्टर फ्लाई सञ्चालनका लागि जहाज लिज सम्झौैता गरेको भेटियो । लिज रकमबाहेक उनले छुट्टै पाँच प्रतिशत कमिसन लिने कुरा पनि सम्झौताकै बुँदामा उल्लेख गरेको कागजात भेटियो ।
यसरी लेनदेनमा निगमको जहाज लिजमा दिँदा आउने कमिसन पर्यटन मन्त्रीसम्म आउनेमा आले ढुक्क थिए । तर, कालाखेतीले एक्लै खाने दाउ गरे । त्यसपछि पर्यटन मन्त्री आलेले निगमका अध्यक्ष युवराज अधिकारीलाई अश्लिल गाली मात्रै गरेनन् मन्त्रिपरिषद बैठकमा समेत हंगामा गरिदिए ।
कमिसन लेनदेनको भागबण्डा नमिलेपछि पूर्वमन्त्री आलेले आफैँले आठ महिनाअघि नियुक्त गरेका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई आफ्नै कार्यकक्षमा बोलाएर कुटपीट समेत गरे । त्यसपछि मन्त्री आलेले अधिकारीलाई कार्यकारी अध्यक्षबाट निलम्बन गरेर जुनियर क्याप्टेन दीपु ज्वारचनलाई निमित्त महाप्रबन्धक तोकेका थिए ।
खास खास पर्यटन व्यवसायीहरुसँग सेटिङमा काम गर्न माहिर मानिने कालाखेतीले गत ३१ मार्चमा शुभ टुर्स एण्ड ट्राभल्स प्रालिसँग पाँच प्रतिशत कमिसन लिएर पोखरा–जोमसोम–पोखरा चार्टर फ्लाइट सञ्चालन गर्न दिने सम्झौता सुटक्क गरेका थिए । उनले उक्त सम्झौता उनका तत्कालीन हाकिम अधिकारी र खानेदाउका माहिर पर्यटनमन्त्री आलेलाई कसरी रिझाएर गरेका थिए भन्नेचाहिँ खुलेको छैन । तर जसको दबाब र निर्देशनमा गरेको भए पनि सम्झौतामा हस्ताक्षर गरेकाले त्यसको मुख्य जिम्मेवार कमर्सियल डाइरेक्टर कालाखेती हुन् ।
उक्त सम्झौतामा निगमको तर्फबाट कमर्सियल डाइरेक्टर कालाखेतीले र ट्राभल एजेन्सीको तर्फबाट सन्जिमा शर्माले हस्ताक्षर गरेकी छिन् । सम्झौतामा रमेश पौडेल र निरञ्जन चालिसे साक्षी बसेका छन् । पाँच प्रतिशत कमिसन लिने गरी कालाखेतीले गरेको उक्त सम्झौता एक कान दुई कान मैदान हुँदै निगमका कर्मचारीहरुको कानमा परेपछि सम्झौता सार्वजनिक हुने डरले कालाखेतीले रातारात सम्झौता रद्द गरेको बुझिएको छ ।
कालाखेती निगमका वरिष्ठतममध्येका कर्मचारी हुन् । विभिन्न मुलुकमा जीएसए छनौटदेखि टिकट बिक्री एजेन्टसम्ममा जताततै लेनदेन र सेटिङ गर्न माहिर मानिएका कालाखेती निगमको डीएमडी हुने लाइनमा छन् । उनीमाथिको पछिल्लो छानबिनले कुन मोड लिने हो त्योचाहिँ यसै भन्न सकिने अवस्था छैन ।
ट्विनअटर जहाज लिजकाण्ड बाहिरिएको भए अख्तियार दुरुपयोग अनुुसन्धान आयोगको पछिल्लो छानबिनको दायरामा परेका ज्वारचनले निमित्त महाप्रबन्धक हुने सौभाग्य पाउने थिएनन् । कालाखेतीले नै निमित्त पाउने थिए । तर कालाखेती पनि अख्तियारको छानबिनको दायरामा नपरेको स्वच्छछविका व्यक्तिचाहिँ होइनन् । उनीमाथि जीएसए छनौटदेखि चार्टर्ड फ्लाइटको कमिसन असुली लगायतका काण्डमा अख्तियारमा उजुरी नै परेको कालाखेती पछिल्लो कमिसन काण्डमा नपरेको भए डीएमडी हुने थिए । तर निलम्बित कार्यकारी अध्यक्ष अधिकारीसँगै उनी पनि छानबिनको दायरामा तानिएकाले कालाखेतीको मौका गुमेको बताइएको छ ।