काठमाडौं । मेडिकल माफियाको रुपमा परिचित विशाल पण्डितले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर) अस्पतालले खरिद गर्न लागेको अत्याधुनिक क्याथ ल्याबमा अवरोध पुर्याएका छन् । वीरमा क्याथ ल्याबका लागि तीनवटा कम्पनी हस्पिटेक, ईस्ट वेस्ट र ग्लोबल मेडिटेक टेन्डरमा सहभागी भएका थिए । पण्डितले हस्पिटेक नामक कम्पनि चलाउँदै आएका छन् ।
मेडिटेकले जापानीज रुपैयाँ १९ करोड ९८ लाख, इस्ट वेस्टले ७ लाख ३३ हजार ९ सय युरो र हस्पिटेकले ८ लाख युएस डलरमा टेन्डर हालेका थिए । तीन कम्पनीमध्ये टेन्डर खोलेको दिन अन्तर्राष्ट्रिय डलरको मुल्य अनुसार ईस्ट वेस्टले दुईवटाको भन्दा सस्तो भएको थियो ।
वीर अस्पतालले बताए अनुसार ९ करोड ७८ लाखमा ईस्ट वेस्ट कनर्सनले हालेको छ । हस्पिटेकले ९ करोड ९४ लाखमा हालेको छ । नियम अनुसार छनौट भएको कम्पनीभन्दा १६ लाख बढी हालेका पण्डितले आफूले पाउनु पर्ने भन्दै अस्पताल र सार्वजनिक खरिद अनुगमन कार्यालयमा समेत उजुरी दिएका छन् । उनकै कारण अत्यावश्यक क्याथ ल्याब आयात रोकिएको छ ।
अस्पतालले क्याथ ल्याब खरिदका लागि ९ करोड ९० लाखको अनुमान गरेर टेन्डर खुलाएको थियो । तर, पण्डितले भने स्टिमेट भन्दा ४ लाख बढी हालेका छन् । वर्षौंदेखि सेटिङ मिलाएर स्वास्थ्यमा एकछत्र मनपरी राज गरेका पण्डितले स्वास्थ्य क्षेत्रबाट आफू विस्थापित हुन लागेको अनुभूति गर्दै खरिद विरुद्ध मुद्दा हालेको आरोप छ । उनले लागत अनुमान भन्दा बढी मुल्यको टेण्डर हालेर पनि नपाएको भन्दै विभिन्न निकायमा उजुरी दिएका छन् ।
वीरमा मुटुका ४ सय बिरामी दैनिक ओपिडिमा सेवा लिन आउँने गरेको अस्पतालको तथ्यांक छ । चार सय मध्ये २० देखि २५ जना बिरामीका लागि दैनिक क्याथ ल्याब सेवा आवश्यक परेको छ । ‘पण्डितकै कारण यो सेवा पाउनबाट विरामीहरु बञ्चित भएका छन्,’ एक अधिकारीले भने ।
टेन्डर हाल्दा भ्याटसहित हालेका पण्डितले अरुकोभन्दा १६ लाख महंगो भएपछि विवाद झिकेका हुन् । उनले विवाद झिक्न हातले नै लेखेर भ्याट र भ्याटबाहेकको रकम गरेर पेश गरेको पाइएको छ । नियम अनुसार हातले लेखेर तयार पारेको डकुमेन्ट मान्य हुँदैन । पण्डितले उजुरीमा भनेका छन्, ‘भ्याट नजोड्दा आफ्नो सस्तो हुन्छ त्यसैले क्याथ ल्याब मेरो कम्पनीले पाउँनु पर्छ ।’
यता छानिएको इस्ट वेस्ट कन्सर्नले भने भ्याट नखुलाइ ९ करोड ७८ लाख हालेको छ । सीधै बाहिरबाट खरिद गर्दा भ्याट लाग्दैन । पण्डितले भने आधा भ्याट लाग्ने र आधा नलाग्ने भन्दै किर्ते डकुमेन्ट पेश गरेका छन् । पिपिएमओमा मुद्दा भएकाले हामीले अहिले डकुमेन्ट सार्वजनिक गर्न चाहेनौं । तर, उक्त मुद्दामा सेटिङगरी पण्डितको पक्षमा निर्णय भए हामी पण्डितले पेश गरेको किर्ते डकुमेन्ट सार्वजनिक गर्नेछौं ।