धादिङमा श्रमजीवी पत्रकारको नाममा होटल मालिक र एनजीओकर्मीलाई पत्रकार महासंघको ल्यापटप वितरण !

दियो पोस्ट  

धादिङ । नेपाल पत्रकार महासंघ धादिङले ‘गैरपत्रकार’लाई ल्यापटप वितरण गरेको पाइएको छ । पत्रकार महासंघका सभापति राजाराम शर्माको सिफारिसको आधारमा व्यावसायीक तथा सिप विकास तालिम केन्द्र गजुरीले २७ जना व्यक्तिलाई ल्यापटप दिएको दिएको हो ।

यसरी ल्यापटप पाउनेहरुमा केही व्यावसायीक पत्रकार भएपनि अधिकांश गैरपत्रकार भएको भन्दै चर्को आलोचना भएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएको सुची अनुसार ल्यापटप पाउने सुचीमा धादिङवेशीमा होटल जिविका एण्ड हुक्काबार सञ्चालन गरि बस्ने ठाकुर बुर्लाकोटीको नाम पनि छ । उनले पनि डेल कम्पनिको ल्यापटप पाएका छन् । उनलाई पाविल साप्ताहिकको संवाददाताको रुपमा सुचीमा नाम राखिएको छ । बुर्लाकोटीलाई तपाईं अहिले पनि पत्रकारीतामा क्रियाशिल हुनुहुन्छ भन्ने दियोपोस्टको प्रश्नमा उनले भने,‘अलि अलि छु ।’

 

तपाईंले अहिले कुनै समाचार लेख्नु भएको छ भनेर प्रश्न गर्दा तत्काल केही नलेखेको बताए । आफूले होटल चलाएपनि अहिले भने होटल नचलेको उनको प्रतिक्रिया थियो । उनले आज विहान धादिङवेशी गएर ल्यापटप लिएको स्विकार गरे ।
त्यस्तै गैरसरकारी महासंघ धादिङको अध्यक्ष समेत भइसकेका दामोदर अर्यालले पनि ५० हजार मुल्य पर्ने ल्यापटप लिएका छन् । उनी धादिङ आवाज नामक दैनिक पत्रिकाकाे सम्पादक रहेको सुचीमा उल्लेख छ ।
एकीकृत समाजवादी निकट पत्रकार संगठन समाजवादी प्रेस संगठनको सम्पादक भन्दै सुनिता सिंखडालाई पनि ल्यापटप दिइएको छ । जबकी संगठनको पनि सम्पादक भन्ने पद अमिल्दो छ । उनी काठमाडौंमा कार्यालय रहेको एक अनलाइनको अध्यक्ष हुन् । त्यतिमात्रै होइन उनलाई एकीकृत समाजवादीको सिफारिसमा युवा परिषद धादिङको उपाध्यक्ष नियुक्त गरिएको छ । यद्धपी उनी पत्रकारीतामा समेत क्रियाशिल भने रहेको उनी निकटहरु बताउँछन् ।

मिडिया मालिकलाई श्रमजिवीले पाउने ल्यापटप !

ल्यापटप पाउने सुचीमा ३ जना मिडिया हाउसका अध्यक्षहरुको नाम छ । पत्रकार महासंघ आफैमा श्रमजिवी पत्रकारहरुको छाता संगठन हो । मिडियाका मालिकहरुको संस्था नेपालमा दुई थरी छ । एउटा एबीसी टेलिभिजनका अध्यक्ष शुभशंकर कँडेल नेतृत्वको मिडिया सोसाइटी नेपाल र अर्को एभिन्युज टेलिभिजनका मालिक भाष्करराज राजकर्णिकार अध्यक्ष रहेको मिडिया एलाइन्स नेपाल । तर, मिडिया कम्पनिका ३ अध्यक्षले पत्रकार हुँ भन्दै ल्यापटप बुझेकोमा समेत आलोचना भएको छ ।

ल्यापटप पाउने सुचीमा विभिन्न दल निकट पत्रकार संगठनका अध्यक्षहरुको नाम पनि छ ।

 

यस विषयमा प्रतिक्रिया लिन व्यावसायीक तथा सिप विकास केन्द्र धादिङका  प्रमुख पुरुषोत्तम पाण्डेलाई फोन गर्दा उनले फोन उठाएनन् । पत्रकार महासंघका सभापति वितरण भएको ल्यापटप व्यक्तिले नभई संस्थाले प्रयोग गर्ने बताए । ‘यो कार्यक्रम ल्याउन मेरो पूर्व अध्यक्ष नवराज छत्कुलीको विशेष पहल थियो । को व्यक्तिले लियो भन्दापनि संस्थागत रुपमा प्रयोग हुने हो ।

ठाकुर बुर्लाकोटीले होटल व्यावसाय छाडेर सुचना विभागको कार्ड लिएर पत्रकारीता गरिरहनुभएको छ,’ शर्माले भने,‘उहाँले लिएको ल्यापटप पाविल न्युजले चलाउने हो । व्यक्तिले चलाउने होइन ।’

उनका अनुसार उक्त ल्यापटप मुख्यमन्त्री विशेष कार्यक्रम अन्तर्गत वितरण भएका हुन् ।