लेखक : नवमित
अनुवाद : फूलमती
पृथ्वी ब्रह्माण्डको एउटा सानो भाग मात्र हो । साथै यो सबैभन्दा विशिष्ट भाग पनि हो । यहि विशिष्टताको कारण पृथ्वी एक मात्र ज्ञात स्थान हो, जहाँ ब्रह्माण्डको सबैभन्दा ठूलो र विशेष घटना हुन्छ । त्यो घटना जीवन हो । आफ्नो शुरुवात देखि नै धेरै उतार–चढाव र निरन्तर विकाससँगै जीवन आज अत्यन्त विविध्यपूर्ण र विशाल रुपमा पृथ्वीमा अवस्थित छ । विभिन्न प्रजातिका जीवहरुको संख्याको कुरा गर्दा हालसम्म १५ लाख ८० हजार विभिन्न प्रजातिका जीव पहिचान भइसकेका छन् । यो संख्या २००० देखि ८० लाखसम्म हुन सक्ने वैज्ञानिकहरूको अनुमान छ । यो संख्या जीवनको शुरुवातदेखि नै पृथ्वीमा रहेका सबै जैविक प्रजातिहरूको मात्र एक प्रतिशत हो भन्ने कुरा निकै चाखलाग्दो विषय हो । यसको अर्थ हामी भन्न सक्छौं, सुरुदेखि अहिलेसम्म पृथ्वीमा २ देखि ८ खर्ब विभिन्न जैविक प्रजातिहरू छन् । तर यो विविधता प्रजातिहरूको संख्यामा मात्र सीमित छैन । यो आनुवंशिक भिन्नताहरू एउटै प्रजातिहरूमा पनि अवस्थित छन् । यसबाहेक, एउटै प्रजातिका भिन्न–भिन्न जीवहरुका बीच आपसमा र विभिन्न प्रजातिहरुका बीच खाद्य श्रृंखला मार्फत पारस्परिक सम्बन्ध हुन्छ । कुनै खास स्थानमा रहेका सबै जीवहरूको समूह जसमा हामी अर्थात मानव पनि सहभागी छौं र तिनीहरूबीचको आपसी सम्बन्धलाई ईकोसिस्टम भनिन्छ । यसरी विभिन्न जीव प्रजातिहरुको विविधता, एउटै प्रजातिको आनुवंशिक विविधता र इकोसिस्टमको विविधता सबै मिलेर समग्र जैविक विविधताको निर्माण हुन्छ । यही जैविक विविधता अर्थात् सजीव प्रकृति जब निर्जीव प्रकृतिसँग मिसिन्छ, तब हाम्रो सम्पूर्ण वातावरण बनेको हुन्छ । अर्को शब्दमा भन्नुपर्दा, अन्य सबै जीवजस्तै एक प्रजातिको रुपमा मानवको आपसी सम्बन्ध र त्यसपछि प्रकृतिसँगको सम्बन्ध पनि यस सम्पूर्ण प्रणालीको अंश हो । यद्यपि, अन्य जीवित प्राणीहरू र मानव प्राणीहरू बीच ठूलो भिन्नता छ । मानव प्रजातिको एक हिस्सा हुदाँहुँदै पनि सचेत रूपमा प्रकृतिलाई प्रभाव पार्छ, यसलाई निरन्तर परिवर्तन गर्दछ र यो प्रक्रियामा आफूलाई पनि परिवर्तन गर्दछ । तर, अन्य जीवित प्राणीहरू आफ्नो प्रवृत्तिले प्रकृतिलाई पछ्याउँछन् तर सचेत रूपमा प्रकृतिलाई प्रभाव पार्दैनन् । यसरी हामीले हाम्रो जीवनमा जैविक विविधता र पारिस्थितिकी प्रणाली र प्रकृतिको समग्रताको महत्व बुझ्न सक्छौं ।
यो त भयो जीवविज्ञानको कुरा । तर यसबाहेक, जैविक विविधताले हाम्रो जीवनमा महत्तवपूर्ण भूमिका खेल्छ । उदाहरणका लागि, हाम्रो सांस्कृतिक विकास, कला, साहित्य, कविता, भाषा आदि सबै कुनै न कुनै रूपमा जैविक विविधताका साथै हाम्रो सम्बन्धले प्रभावित भइरहन्छ । प्रारम्भदेखि नै जनावरहरूसँगको हाम्रा सबै अन्तरक्रियाहरूले हाम्रा कल्पनाहरू, लोककथाहरू, हाम्रा सामाजिक संस्कारहरू र यसरी समग्र रूपमा हाम्रो संस्कृतिको विकासमा महत्वपूर्ण भूमिका खेलेको छ । मानिसको चेतनाको विकासमा उनको वरपरको सजीव र निर्जीव प्रकृतिले पनि महत्तवपूर्ण भूमिका खेल्छ । हाम्रो जीवनमा जैविक विविधताका सबै स्पष्ट र अस्पष्ट प्रभावहरू बहुमुखी छन् र हाम्रो जीवनभरका हाम्रा सबै अनुभवहरूमा प्रतिबिम्बित हुन्छन् । तर अहिलेको युगमा हामी र सजीव–निर्जीव प्रकृति बीचको हाम्रो सम्बन्ध वा समग्र जैविक विविधताबीचको सम्बन्ध नै डरलाग्दो संकटबाट गुज्रिरहेको छ । एउटा यस्तो संकट जुन प्राकृतिक नभएर मानव र प्रकृति माथि पूँजीवादी व्यवस्थाले थोपरिदिएको छ ।
केही दशकअघि वैज्ञानिकहरूले अस्ट्रेलियामा एउटा दुर्लभ प्रजातिको भ्यागुता पत्ता लगाएका थिए । पेटलाई फुलाउन यो भ्यागुताको पोथीले आफ्नो बच्चा पूर्ण रूपमा विकसित नभएसम्म आफ्नो पाचन प्रणालीमा नै राख्छ र विकसित भइसकेपछि मुखबाट बाहिर फाल्छ । पत्ता लागेको केही समयपछि आज यो भ्यागुता पृथ्वीबाट लोप भएको घोषणा गरिएको छ । यति मात्र होइन, विश्वका एक तिहाइ उभयचर (पानी र जमिन दुवैमा बस्ने प्राणी) लोप हुने संघारमा छन् । तर यो विषय उभयचरहरूको बारेमा मात्र होइन । उत्तर अमेरिकाका केही विश्वविद्यालयहरूले गरेको अध्ययनका अनुसार पूरै जीवन खतराको निशानमा पुगेको छ । यी अध्ययनहरूका अनुसार पृथ्वी आफ्नो छैटौं ठूलो जैविक विलुप्तताको चक्रमा प्रवेश गरिसकेको छ । यसअघि पृथ्वीमा यस्ता ५ वटा जैविक विलुप्तता भइसकेका छन् जसले पृथ्वीलाई लगभग जीवन विहिन बनाएको थियो । अन्तिम प्रलय ६० मिलियन वर्ष पहिले डायनासोर समाप्त हुँदा भएको थियो । पुँजीवादी व्यवस्था र जीवनको बीचमा चलिरहेको द्वन्द्वले अब आउने नतिजालाई प्रतिबिम्बित गर्दछ । के तपाईलाई थाहा छ सम्भावित परिणाम के हुन सक्छ ? यसको परिणाम जैविक विविधताको अन्त्य, जीवन लोप वा ठूलो विनाश हुन सक्छ ।
विलुप्त (लोप)हुने यो दर दोस्रो विश्वयुद्धपछि अतुलनीय रूपमा बढ्दै गएको छ र पछिल्लो ४० वर्षमा यो धेरै गुणा बढेको छ । विश्वमा वन्यजन्तुको हेरचाह गर्ने संस्था ‘विश्व वन्यजन्तु कोष’(वल्र्ड वाइल्डलाइफ फण्ड)‘लिभिङ प्लानेट इन्डेक्स’ अर्थात् ‘एलपीआई’ नामक योजनाअन्तर्गत ३०३८ विभिन्न कशेरुका प्रजातिहरू (माछा, उभयचर, सरीसृप, चराचुरुङ्गी र स्तनपायीलगायत)को जनसंख्या र अन्य कुराहरुमा निगरानी राखिन्छ । यस योजना अन्तर्गत सार्वजनिक भएको वर्ष २०१४ को तथ्याङ्क अनुसार सन् १९७० देखि २०१० सम्ममा निगरानीमा रहेका यी सबै प्रजातिको जनसंख्यामा ५२ प्रतिशतले कमी आएको छ । विभिन्न क्षेत्रका आधारमा हेर्ने हो भने सन् १९७० देखि २०१० सम्ममा तापक्रम धेरै नपुगेका क्षेत्रमा यो ह्रास ३६ प्रतिशत हो तर उष्णकटिबंधीय क्षेत्रमा यो कमी ५६ प्रतिशत थियो । ताजा पानीको बासस्थानमा, यो कमी ७६ प्रतिशत मात्रै रहेको रेकर्ड गरिएको थियो । थप विवरणमा, दक्षिण अमेरिकाका नव–उष्णकटिबंधीय क्षेत्रहरूमा, यो कमी एकै समयमा ८३ प्रतिशतमा रेकर्ड गरिएको छ र दक्षिण पूर्व एशिया र अष्ट्रेलियामा यो संख्या ६७ प्रतिशत छ । एलपीआईका अनुसार यस मध्य ४५ प्रतिशत कमी बासस्थानको क्षति, ३७ प्रतिशत प्रत्यक्ष मानवीय हस्तक्षेप (जस्तै शिकार, खेती वा माछा मार्ने) र बाँकी १८ प्रतिशत जलवायु परिवर्तनका कारण भएको हो । प्रदूषण र रोग आदिका कारण प्रजातिहरूको लोप हुने वर्तमान दरले साढे छ करोड वर्षअघि भएको महाविलुप्तताको गतिलाई पनि टक्कर दिएको देखिन्छ । केही सर्वेक्षणहरूले देखाउँछन्, सन् १५०० देखि १९८० को बीचमा, कशेरुकाहरूको लोप हुने दर पछिल्लो समयको तुलनामा अर्थात साढे ६० मिलियन वर्ष पहिले २४ देखि ८५ गुणा बढी थियो । सन् १९८० को दशकदेखि नवउदारवाद फैलिएसँगै, यो दर ७१ बाट २९७ गुणा बढेको छ । यदि यही दर जारी रह्यो भने, एक शताब्दी भन्दा कममा यी सबै ३०३८ प्रजातिहरू संसारबाट पूर्ण रूपमा लोप हुनेछन् ।
प्रतिष्ठित अन्तर्राष्ट्रिय विज्ञान जर्नल ‘नेचर’मा साल २०११को एक अंकमा, पछिल्लो महान विलुप्तताको समयमा दर र वर्तमान समयको दरहरूको तुलनाको बारेमा छापिएको थियो र धेरै भन्दा धेरै अनुदार तुलनाहरू पनि एकै दिशातर्फ औंल्याइरहेका थिए । यसको अर्थ हो, छैटौं पटक महाविनाशको कथा दोहोरिने भएको छ । र यो केहि शताब्दीको कुरा मात्र हो । यी सबै अनुसन्धानकर्ताहरूका अनुसार यसअघिका प्रकोपहरू ज्वालामुखी, उल्कापिण्ड वा भूकम्पजस्ता प्राकृतिक कारणले भएका थिए । तर यस पटक कारण उल्का वा ज्वालामुखी नभई मानव हुनेछ ।
पश्चिमका पुँजीवादी वैज्ञानिकहरूले राम्रै अध्ययन गर्छन् र निष्कर्ष पनि निकाल्छन् । तर यसको मूल कारणलाई कहिल्यै समातदैनन् । मूल कारण मानिस होइन । यी सबै बुर्जुवा वातावरणविद् र वैज्ञानिकहरूले मानवको स्वभाव वा प्रकृति मौलिक रूपमा विनाशकारी छ भनी निर्लज्जतापूर्वक तर्क गर्छन् । यी मानिसहरूले मानव प्रकृति, सामाजिक व्यवस्था र यहाँसम्म कि संस्कृतिको कारण समेत डीएनए, बायोलजी र मानिसको जैविक विकासमा कारणहरू खोज्छन् । र यसरी भोकमरी, गरिबी, द्वन्द्व आदिका साथमा प्रकृतिको विनाशको जिम्मेवारी पनि सामाजिक व्यवस्थाभन्दा पनि मानव स्वभावको कारण नै हो भन्ने तर्क दिन्छन् । तर यी महापुरुषहरूले बिर्सन्छन् कि मानवको स्वभाव कुनै जड वस्तु होइन, जुन लाखौं वर्ष पहिले बाँदरबाट मानिसको जन्म हुँदादेखि मानव समाजको विकाससँगै मानव स्वभाव पनि विकसित हुँदै आएको छ । वास्तवमा मानव समाज र त्यो संगै मानवीय स्वभावको ऐतिहासिक र भौतिक आधार मानव, मानवको उत्पादक गतिविधिहरू र प्रकृति बीचको द्वन्द्वात्मक सम्बन्धमा आधारित छ । यसको अर्थ प्रकृति परिवर्तनको प्रक्रिया अर्थात उत्पादक गतिविधिहरूको सम्पूर्ण इतिहासको यात्रामा मानव समाज त्यसबेलादेखि आजसम्मको उत्पादनशील क्रियाकलाप अनुसार विकसित हुँदै आएको छ र यसरी नै मानव समाज र सामाजिक व्यवस्था अनुसार मानव स्वभाव पनि विकास हुँदै आएको हो । प्रकृति परिवर्तनको क्रममा मानिसले आफूलाई पनि परिवर्तन गर्छ । र यो परिवर्तन लाखौं वर्षदेखि हुँदै आएको छ र जारी नै रहन्छ । यो स्पष्ट छ कि यो ठूलो विनाशको लागि मानिस र मानिसको प्रकृति जिम्मेवार छैन । मानिस पृथ्वीमा २ लाख वर्षदेखि विधमान छ । र जैविक विलुप्तताको दरमा द्रुतता लगभग ४०० वर्ष देखि मात्र आएको हो । त्यसो भए कारण के हुन सक्छ ? यसलाई हेर्ने हो भने यो अवधिमा अर्थात् विगत ४०० वर्षदेखि पुँजीवादले मानव सभ्यतालाई पनि कब्जा गरेको पाइन्छ । नाफामा आधारित पुँजीवादी व्यवस्था नाफाको लागि मानिस र प्रकृति दुवैलाई निर्मम दोहन गर्छ र पछिल्लो १०० वर्षमा यो शोषण चरम सीमामा पुगेको छ । त्यसपछि नवउदारवादी नीतिहरूको कार्यान्वयनपछिको अवस्थालाई हेर्दा पुँजीवादको भूमिकामा कुनै शंका गर्ने ठाउँ नै रहँदैन ।
त्यसैले आउनुहोस् हेरौं, पुँजीवादले यसमा भूमिका कसरी खेलिरहेको छ । मानव समाज र पृथ्वीको जैविक विविधता बीचको सबैभन्दा महत्त्वपूर्ण अन्तरसम्बन्ध हाम्रो खाद्य श्रृंखला अर्थात् कृषि, पशुपालन र मत्स्यपालन मार्फत बनेको छ । दश हजार वर्ष पहिले भएको कृषि क्रान्ति पछि र त्यो भन्दा पहिले पनि, यद्यपि मानव गतिविधिहरूको कारण म्यामथ जस्ता ठूला प्राणीहरू सहित केही प्रजातिहरूलाई लोप तर्फ धकेल्यो । तर यसो हुनुमा मानवीय गतिविधि मात्रै थियो वा जलवायु परिवर्तनको पनि ठूलो योगदान थियो भन्ने कुरा पनि ढुक्कसँग भन्न सकिन्न ।
मानव जातिले सुरुदेखि नै प्रकृति र यसरी जैविक विविधतालाई प्रभाव पार्दै आएको भए पनि पुँजीवादमा त्यसते के भयो जसले जैविक विविधता यति छिटो विनाशतर्फ जान थाल्यो ? यसका लागि हामीले पुँजीवादको कार्यप्रणालीलाई बुझ्नुपर्छ । पुँजीवादी उत्पादनको सबैभन्दा महत्त्वपूर्ण विशेषता भनेको उत्पादित वस्तुहरूको सञ्चित हो । पुँजीवादको यही गुणले यसलाई पहिलेका सामाजिक व्यवस्थाहरूबाट अलग राख्छ । पूँजीवाद भन्दा पहिले उत्पादन मुख्यतः जनताले आफ्नो उपभोगका लागि वस्तुको उत्पादन गर्ने गर्दथे तर, पुँजीवादमा उत्पादन बेच्न र नाफा कमाउनको लागि गरिन्छ । त्यसोभए जैविक विविधताको लोप हुने अवस्था सिर्जना गर्न यसको योगदान के छ ? सबै गैर–मानव जैविक प्रजातिहरू वस्तु उत्पादनको प्रक्रियाको दायरा बाहिर छन्, तिनीहरूको कुनै आवश्यकता हुँदैन र तिनीहरूको म्याद समाप्त हुन थाल्छ । तर जैविक विविधता र पारिस्थितिकी प्रणालीको हानिको यो मात्र कारण होइन । यो त पुँजीवादका धेरै विनाशकारी परिणामहरू मध्ये एक हो । जसले मानव र प्रकृति दुवैलाई निरन्तर विनाश गरिरहेको छ ।
संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको तथ्याङ्कअनुसार संसारमा वस्तुका रूपमा उत्पादन र बिक्री हुने करिब १८ प्रजातिका जीवजन्तु र १५५ प्रजातिका बालीहरू मात्र छन् । यिनीहरूमध्ये पनि धेरै नाफा कमाउने र विश्वव्यापी बजारमा बढी प्रभुत्व जमाउने थोरै मात्र छन् । त्यसोभए यसबाट के हुन्छ ? पहिलो कुरा यो कृषिको लागि मात्र होइन, काठको लागि पनि, खनिजहरूको लुट र अन्य संसाधनहरू दोहन बनाउनका लागि अन्धाधुन्ध कटाई पूर्ण रूपमा संसारमा जान्छ जसको कारणले वनहरूमा बस्ने जन्तुहरूको प्राकृतिक आवास पूर्ण रूपमा नष्ट भइरहेको छ । यस्तै अवस्था पहाडहरुको उत्खन्नमा छ । आवास नष्ट हुने यो प्रक्रिया चल्दा सबै जैवीक प्रजातिको अस्तित्व संकटमा खड़ा भएको हो । जसको परिणिति यसको विलुप्ति हो । आवास नष्ट हुने यो प्रक्रियाले वनजङलका जीवहरुलाई मात्रै नभएर जलीय जीवहरूलाई पनि संकटमा पारेको छ । किनकि पानी पनि यति धेरै प्रदूषित भएको छ कि अधिकतर जीवहरू रहनका लागि असम्भव हुँदै गएको छ । कृषिको कुरा गर्ने हो भने धेरै मुनाफाका लागि धेरैभन्दा धेरै फल उत्पादनको क्रममा किटनाशकहरू, कृत्रिम मलको विवेकहीन प्रयोग भइरहेको छ । जसका कारण कृषि भूमिको प्राकृतिक उर्वरता लगभग समाप्त भएको छ । साथै यस भूमिमा र माटो भित्र बस्ने जीवहरू पनि समाप्त भएका छन् । तर यी विनाशकारी प्रभावहरू कृषियोग्य जमिनमा मात्र सीमित रहेनन्, यसले गैरकृषि भूमि र जलस्रोतमा समेत असर गरेको छ । विषादी र रसायनको अन्धाधुन्ध प्रयोगले पुँजीवादी, खाद्य कम्पनीहरू र रासायनिक कम्पनीहरूलाई मात्र फाइदा हुन्छ । अधिकांश जनता अझै पनि नग्न भोकै मर्न बाध्य छन् र प्रकृतिको मूल्यमा उत्पादित खाद्यान्न र अन्य वस्तुहरू मुनाफामा अर्कैलाई पर्छ । नाफाको अन्धो दौडलाई कायम राख्न पुँजीवादले प्राकृतिक पारिस्थितिकी प्रणालीलाई नष्ट गरेर आफ्नै कृत्रिम पारिस्थितिकी प्रणाली सिर्जना गरेको छ । जुन बाली र जैविक प्रजातिहरू निश्चित प्रकारका वस्तुहरूका रूपमा बेचिन्छन्, अरू सबै यसबाट बाहिर छन् तर लोप हुने खतरा छ । यो कृषिको बारेमा मात्र होइन, अन्य सबै नाफामा आधारित उद्योगहरूले पनि मानव आवश्यकताअनुसार नभई नाफाका लागि सबै प्रकारका वस्तुहरू उत्पादन गर्छन् । जसमा प्रकृतिको पनि त्यस्तै शोषण हुन्छ र यहाँ पनि प्रकृतिले प्रदुषण र पारिस्थितिकी प्रणालीको विनाश पाइरहेको हुन्छ । ग्लोबल वार्मिङ र यसको प्रभाव प्रत्यक्ष रूपमा यो प्रणालीको कारण हो । जसले जलवायु परिवर्तनको माध्यमबाट जैविक बासस्थानहरू नष्ट गर्न महत्तवपूर्ण भूमिका खेलिरहेको छ । एक अनुमानका अनुसार अबको केही दशकमा ग्लोबल वार्मिङका कारण आर्कटिक र अन्टार्कटिकको बरफ पग्लिनेछ र पहिले नै खतरामा परेको जैविक विविधतामा विनाश बाहेक समुन्द्र किनारमा रहेका सबै मानव बस्ती डुबानमा पर्नेछ ।
यो सम्पूर्ण विपत्तिको लागि पूँजीवाद कत्तिको जिम्मेवार छ भन्ने स्पष्ट छ । पुँजीवाद मानवजातिको यस्तो रोग हो कि परजीवीले जस्तै मानवजातिलाई मात्र होइन सम्पूर्ण प्रकृतिलाई खाइरहेको छ । र यदि यसरी नै चलिरह्यो भने रोजा लक्जमबर्गले भनेजस्तै समाजवाद नआउनुको मूल्य मानवताले बर्बरताको रूपमा तिर्नुपर्ने छ । आजको सन्दर्भमा रोजा लक्जमबर्गको यो भनाइ पनि अपूर्ण देखिन्छ । आज हामी दृढताका साथ भन्न सक्छौं र यति मात्रै होइन, तर भन्नैपर्छ समाजवाद नआउनुको मूल्य हामीले बर्बरताले मात्रै होइन ठूलो विनाशले पनि चुकाउनु पर्छ । समाजवाद नआएमा मानवता मात्र होइन पृथ्वीको जीवन समाप्त हुन्छ ।
त्यसोभए हामीलाई समस्या थाहा छ, समस्याको कारण जान्नुहोस् र यसलाई कसरी समाधान गर्ने भनेर पनि जान्नुहोस् । तसर्थ आजको समयमा श्रमिकहरुको नेतृत्वमा भएको क्रान्ति र पुँजीवादको विनाश र समतामूलक समाजवादी व्यवस्थाको स्थापनाले मात्र पृथ्वीमा मानवता, प्रकृति र जीवन बचाउन सक्छ भन्ने कुरा बुझ्न जरुरी छ । यसबाहेक हामीसँग अर्को विकल्प छैन ।
आह्वान म्यागेजिनबाट अनुवाद