काठमाडौं । सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी)मा धिरजप्रताप सिंहलाई नियुक्ति गर्ने मन्त्रिपरिषद्को निर्णय सदर गरेसँगै एआइजी विश्वराज पोखरेललाई बर्खास्त गर्ने प्रक्रिया पनि अघि बढेको छ ।
एक महिना भन्दा बढी गैर हाजिरी भएको कारण गृहमन्त्रालयले उनको बर्खास्तीको लागि प्रक्रिया आरम्भ गरेको उच्च स्रोतले जनाएको छ । गत बैशाख १८ गतेदेखि जेठ १८ सम्म एक महिना बिदामा बसेका पोखरेलले थप बिदा पाउ भनि पेस गरेको निवेदन प्रहरी प्रधान कार्यालयले अस्विकृत गरेको थियो ।
उनले असार ६ गते ११ दिन घरबिदाको निवेदन पेस गरेका थिए । तर उक्त बिदा पनि अस्वीकृत भएको थियो । एक महिना हाजिर नगरीकनै सरकार विरुद्ध मुद्दा लडेका पोखरेलको तेस्रो बिदा पनि अस्विकृत भएको थियो । पटक–पटक बिदा अस्विकृत भए पनि उनी कार्यालयलमा भने हाजिर भएनन् ।
सर्वाच्च अदालतले आईजीपी नियुक्तिविरुद्ध पोखरेलले दायर गरेको रिट खारेज गर्ने फैसला गरेको छ । दफा ११३को (च)मा भनिएको छ,‘बिदा स्वीकृत नगराई लगातार ४५ दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा सेवाबाट हटाउने वा बर्खास्त गर्न सक्नेछ।’