काठमाडौं । शैक्षिक परामर्शदात रुपमा दर्ता रहेको बाबा एजुकेशन कन्सल्टेन्सीले भिजिट भिषामा मानव तस्करी गरिरहेको खुलाशा भएपछि त्यसका सञ्चालकहरु आक्रोशित बनेका छन् । शनिबार प्रकाशित समाचारलाई लिएर बाबा एजुकेशनका संचालक राजेन्द्र शर्माले दियोपोस्टकर्मीलाई फोन गरेर धम्की दिएका छन् । प्रकाशित समाचारमा चित्त नबुझे खण्डन गर्न पाउने प्रेस काउन्सिलले जारी गरेको आचार संहितामा व्यवस्था हुँदा हुँदै कन्सल्टेन्सीका मालिक राजेन्द्र शर्माले उनको मोबाइल ९८०३७२..९८ बाट धम्की दिएका हुन् ।
दियोपोस्टका प्रधानसम्पादक सुदीप विश्वकर्माको मोबाइलमा फोन गरेर शर्माले धम्की दिएका हुन् ।
‘म बाबा एजुकेशनबाट राजेन्द्र हुँ । तपाईंको पोस्टमा हावादारी कुरा निकाल्नु भएको रहेछ । तपाईंले के आधारमा लेख्नु भयो, ?’ शुरुमा उनले यस्तो प्रश्न गरेका थिए । तर, दियोपोस्टकर्मीले कन्सल्टेन्सीले भिजिट भिषामा मानिसलाई बाहिर पठाउन पाउँछ ? भन्ने प्रश्न गरेपछि आक्रोशित बनेका उनले भने,‘तपाईंलाई थाहा छ कन्सल्टेन्सीको बारेमा ? के भनेर लेख्नु भयो ? तपाईं को हो ? किन समाचार निकालेको ?’
जवाफमा दियोपोस्टकर्मीले समाचार लेख्नु मिडियाको धर्म भएको बताउँदा उनी फेरी तल्लो स्तरमा उत्रेर गाली गलौचमा उत्रिएका थिए,‘तैँले के तरिकाले न्युज निकालेको ? सबै प्रुफ देखा ? तँ को हो हाम्रो समाचार लेख्ने ? साले चोरहरु ? ठीकै छ हामी के गर्छौं हेर्दै जा । तिमीहरु चोरहरु हो ।’
उनको स्वामित्व रहेको बाबा एजुकेशनले अष्ट्रेलियामा विभिन्न कार्यक्रममा भिजिट भिषामा मानव तस्करी गर्दै आएको विषयमा दियोपोस्टले समाचार प्रकाशन गरेको थियो ।