रजिता दोङ तामाङ
म रामेछापको बेथान डहुमा जन्मिएँ, त्यहीँ हुर्कीएँ । बाल्यकाल दुखै ः दुखमा बित्यो । जसोतसो अध्ययन गर्दै कक्षा १० मा पुगें । पहिला–पहिला एसएलसी फलामे ढोका भन्थे । एसएलसीको तयारी गर्दै थिएँ । एसएलसी सकिएपछि म आर्मी बन्ने सपना बोकेकी थिँए । तर, सबै सपनाहरु पुरा कहाँ हुन्छन् र । २०६९ सालको जेठमा रुखबाट खसेर खुट्टा भाँचियो । खुट्टा जसोतसो अलिअलि निको त भयो तर मैलै कान कम सुन्दै जान थालें । अरुले बोलाएको सजिलो संग सुन्न सक्दैनथे म । गाँउको एउटा मेडिकलमा चेकअप गरें । डाक्टरले फोहोर जमेको भन्दै पाइप लगाएर कान सफा गरिदिए । त्यसपछि कान हल्का सुन्न थालेको महशुस भयो तरपनि गाह्रो भइरहेको थियो । घरको आर्थिक स्थिति कमजोर भएको कारण समयमा नै राम्रोसंग उपचार गर्न पाइन । बल्ल–तल्ल एसएलसीको परिक्षा दिएँ । बिरामी भएको कारण परिक्षा राम्रो भएन । एसएलसीको नतिजा आयो । म फेल भएँ । तीनवटा विषय लाग्यो ।
जिन्दगी सोचे जस्तो हुँदैन । चलचित्रमा देखाइएको जस्तै छोटो समयमा एकाएक घटनाहरु घटिरहे । एकै वर्ष खुट्टा भाँचिनु, कान सुन्न नसक्नु, एसएलसीमा फेल हुनु र आखाँ पनि कम देख्न थाल्नु । तमाम समस्याहरुलाई मलाई घेरेको थियो ।
बिस्तारै उमेर बढदै गयो । विवाहको लागि योग्य समय पनि नजिकियो । विवाहको समय हाम्रो समाजले पहिले थाहा पाउँछ । गाउँघरमा कुरा चल्थ्यो,“मान्छे निकै राम्री हो तर के गर्नु कान सुन्न सक्दिनँ । खै कसले बिहे गर्ने हो ।” यो समाजले विवाह गर्नैपर्ने नियम बनाएको देख्दा उदेक लाग्छ । कान कम सुन्नुको कारण साथीहरु कोही नबन्ने, बोल्न पनि झिजिने सबै टाढा हुन् लागे ।
हाम्रो समाज र राज्य अपाङ्ग मैत्री छैन् । मैलै कान कम सुन्न थालेपछि उच्च शिक्षाबाट पनि वञ्चित हुनुपर्यो । विद्यालयहरु, अस्पतालहरु कुनै पनि क्षेत्र हाम्रो अनुकुल छैनन् । कान कम सुन्नुको कारण नै काम गरेर जीविकोपार्जन गर्न पनि असहज हुन्छ । सार्वजनिक यातायातहरुमा पनि मलाई निकै अफ्ठयारो हुन्छ । ५० प्रतिशत छुट भनेपनि हामीले ५० प्रतिशत छुट पाउदैनौं । गाडीको सहचालकलाई “म कान सुन्दिन भन्यो भने हाँस्छन् ।” उनीहरुको यस्तो व्यवहारले मलाई जिस्काइरहेको जस्तो भान हुन्छ ।
मलाई आँखा र कानको लागि समयसमयमा अस्पताल धाउनुपर्ने हुन्छ । अस्पतालमा पनि मैले धेरै पीडाहरु भोग्नुपर्ने हुन्छ । डाक्टरहरुले सल्लाह सुझाव लेखेर दिए सहज हुन्थ्यो तर दिँदैनन् । पटक–पटक आफन्तहरुलाई लिएर जान पनि सम्भव छैन । निजी अस्पतालहरु त निजी नै भयो तर सरकारी अस्पतालहरुमा पनि हाम्रो लागि कुनै व्यवस्था छैन । राज्यले केही व्यवस्था गनुपर्ने हो तर गर्दैन् । हाम्रो समाज र राज्य अपाङमैत्री छैन ।