काठमाडौं । गैरआवाशिय नेपाली संघ ‘एनआरएनए’का संस्थापक अध्यक्ष उपेन्द्र महतोको समूहद्वारा सञ्चालित नेपाल मेडिसिटी अस्पतालको लापरवाहीले एक विरामीको ज्यान गएको छ । विरामीको ज्यान गएको विषयमा अस्पताल प्रशासनले समेत स्विकार गरेको पाइएको छ । अस्पतालले बिरामीको उपचारमा लापरवाही गर्ने चिकित्सकमाथि कारबाही गरी कानूनी दायरामा ल्याउनु पर्नेमा निलम्बन मात्रै गरेर गल्ती ढाकछोप गर्न खोजिरहेको छ । जुन घटना अहिले नियमक निकाय नेपाल मेडिकल काउन्सिल सम्म पुगेको छ ।
के थियो घटना विवरण ?
पोखराका योगेन्द्र बस्नेत जेठ १७ गते उपचारका लागि नेपाल मेडिसिटी अस्पताल पुगेका थिए । सामान्य स्वास्थ्य जाँच गर्न मेडिसिटी अस्पताल पुगेका बस्नेतको चिकित्सकले पित्त थैलीको अपरेशन गर्नुपर्ने बताएपछि २२ गते ल्याप्रोस्कोपी विधिद्वारा शल्यक्रिया गरिएको थियो ।
तर, उपचारकै क्रममा अस्पतालको लापरवाही र गैरजिम्मेवारपनले उनको २५ गते निधन भयो । विरामी डाक्टरको निगरानीमा हुनेपर्नेमा डाक्टर नै नगएका कारण बस्नेतको निधन भएको पीडित परिवारको दावी छ ।
योगेन्द्रका छोरा समिरबहादुर बस्नेतका अनुसार स्वास्थ्य जाँचको क्रममा डा. सुनिल शर्माले पित्त थैलीको शल्यक्रिया गर्नुपर्ने सल्लाह दिएका थिए । लगत्तै शर्माको सल्लाह अनुसार नै शल्यक्रिया गरियो । अपरेशन नर्मल भएको र सकिएपछि सामान्य शैयामा सारिएको थियो । तर, २४ गते बेलुका बिरामीले अपरेशन गरेको भागमा दुखेको भन्दै नर्सलाई खबर गरेका थिए । नर्सले जाँच गर्दा रक्तचाप सामान्य देखिएको बताएका थिए । रक्तचाप सामान्य देखिएपछि ट्वाइलेट गएका विरामी योगेन्द्र त्यही ढलेका थिए । ढलेपछि पिता योगेन्द्रको मुख बांगिएको छोरा समिरले बताए ।
बिरामी ढलेपछि आएको चिकित्सकको टोली स्वास्थ्य जाँच गर्दा सामान्य अवस्था भएको भन्दै बाहिरिएको थियो । पीडित परिवारका अनुसार बेलुका ८ बजे वेड सार्न खोज्दा दोस्रो पटक बिरामी ढलेका थिए । सोही रातको ३ बजे बिरामी अचेत भएको र मेडिकल अफिसर आएर कृत्रिम श्वास दिएर आइसीयूमा लगिएको थियो । आइसीयूमा लैजानु पर्ने अवस्था आएपछि मात्रै अस्पतालाका चिकित्सकले भिडियो एक्सरे गरी अप्रेसन गरेकै ठाउँमा आन्तरिक रक्तश्राव भएको भन्दै पुनः अपरेशन गर्नुपर्ने बताएका थिए ।
यसरी अपरेशनपछि पनि रक्तश्राव नरोकिएको र ‘मल्टि अर्गान फेल’ भएकाले बिरामीलाई भेन्टिलेटरमा राखिएको थियो । भेन्टिलेटरमै राखिएको अवस्थामा विरामी बस्नेतको जेठ २५ गते मृत्यु भएको थियो । मृत्यु हुनुको मुख्य कारण चिकित्सकको गम्भीर लापरबाही भएको भन्दै पीडित पक्षले सत्यतथ्य छानबिन गरी दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न अस्पतालमा निवेदन दियो ।
पीडित परिवारले अस्पताल प्रशासन समक्ष ६ असारमा छानबिन गरिपाउँ भन्दै निवेदन दिएको थियो । अस्पतालले पीडितको माग अनुसार डा. जयन्द्र बज्राचार्यको नेतृत्वमा छानबिन समिति बनायो । उपचारमा नजाने चिकित्सक राजीव मिश्रसहित अन्य दुई जनालाई निलम्बन गरिएको अस्पतालले जनाएको छ । तर, अन्य दुई जनाको नाम भने अझै सार्वजनिक गरिएको छैन । अस्पताल प्रशासनले उपचारमा लापरवाही गर्ने चिकित्सकलाई कारबाही गरी कानूनी दायरामा ल्याउनुपर्नेमा निलम्बन गरेर बचाउन खोजिरहेको छ ।
अस्पतालले पीडितलाई दिएको जानकारी पत्रमा पनि कमजोरी स्वीकार गरेको भेटिएको छ । मृतक योगेन्द्रका छोरा समिर बस्नेतलाई अस्पतालले दिएको जानकारी पत्रले कमजोरी मात्रै स्वीकार गरेको छैन, चिकित्सकले बिरामी नै नहेर्ने गरेको तथ्य बाहिर आएको छ ।
उपचारमा संलग्न मुख्य चिकित्सक डा. सुनिल शर्माका अनुसार जेठ २४ गते राती १० बजे डा. राजिव मिश्रले बिरामीको स्वास्थ्य अवस्था ठिक भएको भन्दै आफूलाई जानकारी गराएको बताएका छन् । तर, सेकेन्ड कल डाक्टर मिश्रलाई अस्पतालमा गएर जाँच गर्नुभन्दा नगइकन उनले सिनियर चिकित्सकलाई बिरामीको स्वास्थ्य अवस्था ठिक भएको भन्दै गलत रिपोर्टिङ गरेका थिए ।
पीडितको दबाबपछि अस्पतालले मिश्रलाई सोध्दा हात काटेकाले डिउटीमा नगएको गैर जिम्मेवार जवाफ दिएका थिए । यसरी विरामीलाई निगरानीमा राखेर हेर्नुपर्ने चिकित्सकले नै अस्पताल नै नगई सिनियरलाई गलत रिपोर्टिङ गरेका कारण अनाहकमा सामान्य अवस्थामा रहेका विरामी योगेन्द्रले ज्यान गुमाउनु परेको छ ।
भेन्टिलेटरमा रहेको बिरामीलाई सोडियम र हेमोग्लोबिन कम हुँदाहुँदै चिकित्सकले गम्भीरतापूर्वक नलिनु र बिरामी अचेत भएपछि मात्रै विशेषज्ञ चिकित्सकको खोजी हुनु जनस्वास्थ्यमाथिको गम्भीर खेलवाड रहेको अस्पतालकै एक चिकित्सकको दाबी छ । पीडित परिवारले जेठ २४ गते बेलुका ६ बजेबाट उपचारका लागि कुन–कुन चिकित्सक उपस्थित भए र के–के उपचार विधि अपनाइयो भन्ने सत्यतथ्य छानबिन गरेर कारबाही गर्न मेडिकल काउन्सिल समक्ष माग गरेका छन् ।
मेडिकल काउन्सिलमा गत असार २८ गते नै पीडित पक्षले रजिष्ट्रार डा. कृष्ण अधिकारीलाई भेटेरै उजुरी दर्ता गराएको थियो । तर, अहिलेसम्म पनि काउन्सिलले मेडिसिटी अस्पतालसँग घटनाबारे बुझ्ने प्रयास गरेको छैन । स्रोतका अनुसार मेडिसिटी अस्पतालका डा. शर्माको सम्बन्ध काउन्सिलका उच्च पदाधिकारीहरुसँग राम्रो रहेका कारण कउन्सिलले पीडितको उजुरीमाथि बेवास्ता गरिरहेको छ । घटनाबारे काउन्सिलले मुख समेत खोलेको छैन ।