कालिमाटीमा भारतीय व्यापारीको दादागिरी : भ्याट छली गरेर राज्यलाई ठगी गर्दा कर कार्यालय मौन

दियो पोस्ट  

काठमाडौं । भारतीय नागरिक सुनिल कुमार शर्माले सञ्चालन गरेको कालीमाटीस्थित युनिक पावर सिष्टमले खुलेआम रुपमा भ्याट छली गर्ने गरेको पाइएको छ । स्मार्ट टेकका इन्भर्टर र ब्याट्री, फुजीको ब्याट्री, भोल्टगार्डको ब्याट्री, सवारीसाधनको ब्याट्री तथा सोलार प्यानल बिक्री गर्दै आएको युुनिक पावर सिष्टमले यस्तो धन्दा गरेको पाइएको हो ।

स्मार्ट टेक नामक इण्डियन कम्पनीको नेपालको डिलर रहेको युनिक पावरले भ्याटमा गर्नुपर्ने कारोबारहरु साधारण बिलमा गर्ने गरेको फेला परेको हो । प्राप्त बिलमा युनिक पावरले कच्चा बिलमा सामान बिक्री गरेको पाइएको छ ।

कच्चा बिलमा सामान बिक्री गरेको पाइएपछि युनिक पावरका सञ्चालक सुनिल कुमार शर्मालाई सो बारेमा जिज्ञासा राख्दा आफ्नो पसलबाट सो किसिमको कारोबार नगरेको बताए । ‘हामीले भ्याट तिरेरै सामान खरिद गरेका हुन्छौँ’, शर्माले भने, ‘भ्याट तिरेर खरिद गरेपछि भ्याटमा मात्रै बिक्री गर्ने गरेका छौँ ।’

भ्याटमा मात्र बिक्री गर्ने गरेको बताउने शर्माले केही बेरमा नै यस विषयमा भेटेर कुरा गर्ने भन्दै आफ्नो कारोबारको ढाकछोप गर्नलागेका थिए । शर्माले यस्ता विषयमा समाचारहरु लेख्नुअघि आफूसँग भेटेर छलफल गर्नुपर्ने र आफूलाई प्रमाण देखाउनुपर्ने भन्दै घुमाउरो पारामा धम्की समेत दिए ।

त्यसो त नेपालमा पछिल्लो समय आर्थिक वर्षको अन्त्यमा आफ्नो कम्पनीमा आगलागी गर्नेदेखि भ्याट छलीमा दोहोरो बिलको प्रयोग गर्नेसम्मका विकृति बढ्दै गएको पाइन्छ ।

अनुगमन गर्ने सरकारी निकायका कर्मचारीहरु नै विभिन्न प्रलोभनमा परेको नेपालमा भ्याटछलीका घटनाहरु बढ्दै गएको विभिन्न अध्ययनले देखाउने गरेको छ । यसैको उदाहरणको रुपमा यस युनिक पावरलाई लिन सकिन्छ जसले भ्याटको कारोबार गर्ने भन्दै अनुमति लिएर भ्याट छली गर्दै कारोबार गरिरहेको छ । खुलेआम यस्तो भ्याटछलीलाई समेत सरकारी संयन्त्रले नदेख्नुले हाम्रो सिष्टम कता जाँदै छ भन्ने प्रश्न खडा भएको छ ।