राष्ट्रिय अपाङ्ग महासंघ कार्यसमिति सदस्य कृष्ण गौतमले महिला कर्मचारीमाथि यौन हिंसा गरेको आरोप

दियो पोस्ट  

काठमाडौं । अपाङ्गता भएका व्यक्तिको अधिकारको पक्षमा वकालत गर्ने राष्ट्रिय अपाङ्ग महासंघका एक उच्च अधिकारीले नै यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको छ । महासंघका केन्द्रीय कार्यसमिति सदस्य कृष्ण गौतमले संघकै दुई महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको हो । गौतमले हिंसा गरेको विषयमा केन्द्रीय अध्यक्ष मित्रलाल शर्मालाई सम्बोधन गरेर उजुरी समेत परेको छ । यौन हिंसाको दोषीलाई कारबाही गर्न माग गर्दै उनीहरुले उजुरी दिएका हुन् ।

गौतमले कार्यालयकै कामका लागि धुलिखेल जाने क्रममा कार्यालयमा कार्यरत दुई कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको उजुरीमा आरोप छ ।

‘धुलिखेल जाने क्रममा संगै यात्राका क्रममा सवारी साधन भित्र यौन दुव्र्यवहार गरेको भन्ने जानकारीमा आएको छ,’ उजुरीमा भनिएको छ,‘उक्त घटना भएको एक महिना भन्दा बढी बितिसक्दा समेत घटनाबारे छानविन गरी पीडितहरुलाई न्यायका लागि कदम चालिएको र निज पिडकलाई कारवाही गर्ने बारेमा महासंघले के प्रक्रिया गर्दै छ भन्नेबारे हामी सहि सत्य जान्न चाहान्छौँ ।’

घटना भएको यति लामो समय वितिसक्दा समेत उनलाई कारबाही नगरी उनी सार्वजनिक कार्यक्रममा खुलमखुल्ला हिँडाएको आरोप छ । नेपाल अपाङ्ग महिला संघले उजुरी दिएको हो ।

त्यस्तै महासंघको मधेश प्रदेश कार्यालयमा पनि एक जिम्मेवार पदाधिकारीबाटै महिलामाथि यौन दुर्व्यवहार भएको र आर्थिक प्रलोभनमा पारेर घटना दबाएको आरोप उजुरीमा छ । अध्यक्ष टिका दाहालले महासंघमा उजुरी दर्ता गरेपनि कसैले हालसम्म सुनुवाई नगरेको आरोप छ ।