सविता अम्बेडकर : जसका कारण डा. भिमराव अम्बेडकर थप १० वर्ष बाँचे !

दियो पोस्ट  

लेखकः पूजा राठी

अनुवादः खुमा ओली

 

सविता अम्बेडकर एक भारतीय समाज सुधारक र डाक्टर थिइन् । सविता अम्बेडकर, डाक्टर भिमराव अम्बेडकरकी दोस्रो पत्नी थिइन् । मानिसहरु उनलाई सम्मान गरेर ‘माई’ (मराठीमा माता) या ‘माईसाहब’ भनेर बोलाउँथे । उनले भीमराव अम्बेडकरलाई धेरै सामाजिक आन्दोलन र पुस्तकहरु लेख्न साथ दिएकी थिइन् ।

 

बाल्याकाल

सविता अम्बेडकरको जन्म सन् १९०९ जनवरी २७ मा महाराष्ट्रमा एक ब्राह्मण परिवारमा भएको थियो । उनका परिवार रन्तागिरी जिलेको राजपुरा तहसीलमा बस्थे । केही समयपछि उनका परिवार बम्बई (मुम्बई) आएर बस्न थाले । उनकी आमाको नाम जानकी र बाबुको नाम कृष्णराव विनायक कबीर थियो । उनको जन्मपछि परिवारले पहिलो नाम शारदा कबीर राखेको थियो । विवाहपछि उनले आफ्नो नाम फेरिन् । बाल्यकालदेखि नै सविता पढाइमा निकै अब्बल थिइन् । विद्यालयको पढाइ सकिएपछि उनले मेडिकल पढिन् । उनले आफ्नो प्रारम्भिक अध्ययन पुणेबाट गरिन् । त्यसपछि सन् १९३७ मा ग्राण्ड मेडिकल कलेज, बम्बईबाट उनले एमबीबीएस अध्ययन गरिन् । पढाई पूरा गरेपछि उनको पहिलो मेडिकल अफिसरको नियुक्ति गुजरातमा भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनी त्यहाँबाट चाँडै घर फर्किनु प¥यो ।

डा. अम्बेडकरसँग पहिलो भेट

गुजरातबाट फर्किएपछि डा.सविताले बम्बईमा नै आफ्नो मेडिकल अभ्यास सुरु गरिन् । विलेपार्ले क्षेत्रमा डा. एस.एम.राव नामका एक डाक्टर बस्थे । उनको भीमराव अम्बेडकरसँग घनिष्ठ सम्बन्ध थियो । दिल्लीदेखि बम्बईको यात्रामा उनी बारम्बार भेट्थे । डा. सविता र डा. रावको परिवारहरु एक अर्कालाई चिनेका थिए । एक पटक भीमराव अम्बेडकरले बम्बईमा डा. रावलाई भेट्दा डा. सविता पनि त्यही थिइन् । दुबैको पहिलो परिचय डा. रावले नै गराएका थिए । त्यो समयमा डा.सवितालाई भीवराव अम्बेडकरको बारेमा धेरै थाहा थिएन् । पहिलो भेटमा अम्बेडकरले उनीसँग दुःखको बारेका सोधेका थिए । यसको कारण थियो, उनी त्यतिबेला महिलाको उन्नतिमा काम गरिरहेका थिए । भेटमा बुद्ध धर्मका बारेमा पनि छलफल भएको थियो । सविता पहिलो भेटमै अम्बेडकरसँग निकै प्रभावित भइन् । चाँडै खराब स्वास्थ्यका कारण, भीवराव अम्बेडकरले डा. शारदालाई फेरि भेटे । उपचारका क्रममा दुबैको राम्रो चिनजान भयो । यो सिलसिलामा उनीहरुको पटक–पटक भेट भयो । त्यसपछि दुवैजनाको पत्रमार्फत कुरा हुन थाल्यो । दुवैजना धर्म, समाज, साहित्य र महिला उत्थानका विषयमा कुराकानी गर्थे ।

सन् १९४८ अप्रिल १५ मा उनको नयाँ दिल्लीमा भीमराव अम्बेडकरसँग विवाह भयो । अम्बेडकरले पहिलो पत्नी रमाबाइको मृत्यु भएको १३ वर्षपछि दोस्रो विवाह गरे । विवाहपछि अम्बेडकरका अनुयायीहरले उनलाई माई भन्न थाले । विवाहपछि उनले सविता नाम राखिन् । डा. सविताले सधैं अम्बेडकरको राजनीतिक–सामाजिक आन्दोलनमा समर्थन गरिन् । डा. सविताले उनको स्वास्थ्यको निकै ख्याल राखिन् । अम्बेडकरले आफ्नो किताब बुद्ध र उनको धम्ममा डा. सविताले गरेको सेवाको वर्णन गरेका छन् । उनले लेखेका थिए,‘सविता अम्बेडकरका कारण म ८–१० वर्ष थप बाँचेको छु ।’

 

सविता अम्बेडकरले बौद्ध धर्म अपनाइन्

सन् १९५६ अक्टुबर १४ मा अशोक विजया दशमीको अवसरमा सविता अम्बेडकर र उनका पति भीवराव अम्बेडकरले नागपुरमा बौद्ध धर्म ग्रहण गरे । अम्बेडकर आफैले तीन रत्न, पाँच उपदेश र बाइस प्रतिज्ञा सहित ५,००,००० अनुयायीहरु सहित बौद्ध धर्म ग्रहण गरे ।

 

बाबा सहाबको मृत्यु र आरोप

सविता अम्बेडकरले अन्तिम समयसम्म डा. अम्बेडकरलाई साथ दिएकी थिइन् । द प्रिन्टमा प्रकाशित एउटा लेखका अनुसार सन् १९५६ डिसेम्बर ६ मा अम्बेडकरको मृत्युपछि केही मानिसहरुले डा. सवितालाई उनको हत्याको आरोप लागाए । वास्तवमा अम्बेडकरका केही अनुयायीहरु उनको विवाहको विरोधमा थिए । अम्बेडकरको हत्याको आरोपमा छानबिनपछि उनलाई आरोपबाट मुक्त गरिएको थियो । पछि भारत सरकारले उनको अगाडि राज्यसभाको सदस्यताको प्रस्ताव धेरै पटक राख्यो तर उनले सधैं अस्विकार गरिन् ।

 

दलित आन्दोलनमा योगदान

दलित आन्दोलनमा सविता अम्बेडकरले महत्पूर्ण भूमिका निभाइन् । उनले धेरै सामाजिक कार्यक्रम र सम्मेलनलाई सम्बोधन गरिन् । उनले दलित आन्दोलनका युवा कार्यकर्ताहरुलाई सधैं प्रोत्साहन दिइन् । आन्दोलनमा उनको मार्गदर्शनको बारेमा रिडल्स इन हिन्दूइज्म नामक पुस्तकमा बताइएको छ ।

उनले पुणेमा डा. बाबासाहेब अम्बेडकर संग्रहालय र स्मारक स्थापना गर्न सहयोग गरिन् । उनले आफू र बाबा साहेबसँग सम्बन्धित धेरै चीजहरु दान गरेकी थिइन् । उनले मराठीमा आत्मकथा र स्मारकको रुपमा डा. अम्बेडकरच्य सहवासत लेखेकी थिइन् । यति मात्र होइन, उनले बाबा साहबमाथि बन्ने प्रमुख फिल्ममा पनि सहायोग गरेकी थिइन् । श्रीमानको मृत्युपछि सविता अम्बेडकरले धेरैजसो समय एक्लै बिताइन् ।
सन् २००३ अप्रिल १९ मा श्वासप्रश्वासको कमीका कारण उनी जे.जे अस्पताल, बम्बईमा भर्ना भइन् । सन् २००३ मे २९ मा ९४ वर्षको उमेरमा उनी यो संसारबाट सदाको लागि बिदा भइन् ।