गायीका दिलमाया सुनार मृत्यु प्रकरण : प्रेमी भनिएका खिल बहादुर पुर्पक्षका लागि जेल चलान !

दियो पोस्ट  

काठमाडौं । जिल्ला अदालत काठमाडौंले गायीका दिलमाया सुनारको हत्या गरेको अभियोगमा उनका प्रेमि खिल बहादुर श्रेष्ठलाई पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

जिल्ला प्रहरी कार्यालय काठमाडौंका अनुसार उनलाई हिजै थुनामा पठाउन आदेश आएको हो ।
गत असार ११ गते अन्दाजी विहान ११ बजे काठमाडौंको तारकेश्वर ११ नेपालटार स्थित एउटा घरमा डेरामा बस्दै आएकीसुर्खेत गुर्भाकोट २ घर भएकी ३३ वर्षिय दिलमाया कामी सुनारको रहस्यमयी मृत्यु भएको खबर आएको थियो । घटना लगत्तै काठमाडौं प्रहरी सहित उपत्यका अपराध अनुसन्धान महासाखाले अनुसन्धान थालेको थियो ।
अनुसन्धानको बिविध बिधि र प्रविधिमार्फत अनुसन्धान गर्ने क्रममा मृतकको घाँटीमा डाँम जस्तो देखिए पश्चात अनुसन्धान अधिकृतहरुद्वारा घटनालाई शंकास्पदरुपमा लिई सुक्ष्म तवरले अनुसन्धान शुरु गरिएको थियो । मृतकको लासलाई पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको थिया ।

घटना भएलगत्तै प्रेमि भनिने खिल बहादुर फरार थिए । प्रहरीले अनुसन्धानको क्रममा बिगत ७–८ महिना पहिलादेखि जिल्ला सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी न.पा. वडा नं.१ घर भई हाल जिल्ला काठमाण्डौ गोठाटार बस्ने कृष्ण बहादुर श्रेष्ठको छोरा बर्ष ३८ को सूर्य भन्ने खिल बहादुर श्रेष्ठ मृतकको कोठामा आई मृतकको श्रीमान भनी सँगै बस्ने गरेको खुल्न आएका फेला पारेको थियो । असार १२ गते उनलाई नेपालटारबाट प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका खिलबहादुरले घटना भएपछि आफू फरार भएको बयान दिएका थिए । अनुसन्धानको क्रममा महाराजगन्जस्थित कतारभिषा सेन्टर नजिक सडकको पश्चिम किनारको खाली ठाउँमा रहेको झाडीबाट घाँसमा पोको पारी बेवारिसे अवस्थामा फालेको ५ फिट ४ इन्च लम्बाई २ फिट २ इन्च चौडाई भएको सेतोमा गुलाबी रङको बुट्टे सल फेला परेको थियो । मृतक दिलमायाको बुवाले खिल बहादुर विरुद्ध मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–१२ को ज्यान सम्बन्धी कसूरमा किटानी जाहेरी दिएका थिए । उनलाई हिजो साउन ८ गते जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको हो । उनलाई सुन्धारास्थित केन्द्रीय कार्यालय जगन्नाथदेव कारागार पठाइएको छ ।