जबरजस्ती करणीमा पक्राउ परेका कन्सल्टेन्सी मालिक धिताललाई छुटाउने खेल, २५ लाखको अफर !

दियो पोस्ट  

काठमाडौं । आफ्नै कार्यालयमा काम गर्ने युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका पाथ फाइन्डर एजुकेशन कन्सल्टेन्सीका मालिक राजेश्वर धिताललाई रिहा गर्न उच्च तहका चलखेल भएको पाइएको छ ।

पुतलीसडकस्थित कार्यालयमै रिसेप्सनमा काम गर्ने एक युवतीलाई होटल तिरुपतीमा लगेर जबरजस्ती करणी गरेको भन्दै महानगरीय प्रहरी बृत्त मालिगाउँले उनलाई पक्राउ गरेको थियो । पक्राउ पछि उनलाई छुटाउन कन्सल्टेन्सी क्षेत्रमा नक्कली विवाहको धन्दा चलाउनेहरु सक्रिय भएको पाइएको छ । उनीहरुले विभिन्न शक्तिकेन्द्र मार्फत पीडित युवतीलाई बयान फेर्न र जाहेरी फिर्ता लिन दबाव दिइरहेको स्रोतले जनाएको छ । पीडित युवतीलाई धितालको तर्फबाट वकालत गर्ने समुहले २५ लाख रुपैयाँसम्म दिने प्रलोभन देखाएका छन् । तर, ती युवतीले उनीहरुको प्रलोभनलाई अस्विकार गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार धिताललाई रिहा गर्न ईक्यानका पूर्व अध्यक्ष र बहालवाला एक डिआइजी समेत लागि परेका छन् । तर, जिल्ला अदालतले उनलाई अनुसन्धानका लागि थप ५ दिनको म्याद दिएका कारण महानगरीय प्रहरी बृत्त मालिगाउँ मुद्दा लगाउने अडानमा छ ।

‘बाहिर पान पसलमा कुनै सहमति सम्झौता गरेर केही हुनेवाला छैन । अहिलेसम्म पीडित होस्टाइल भएको अवस्था पनि छैन,’ बृत्तका डिएसपी मिन बहादुर कुँवरले भने,‘हामीले बाहिर भएको कुनै सहमतिलाई आधार मान्ने छैनौँ । जे हुन्छ कानुन अनुसार हुन्छ ।’

स्रोतका अनुसार नक्कली विवाहको धन्दा चलाउनेहरुले उनलाई रिहा गराउन विभिन्न शक्ति केन्द्र मार्फत मुद्दा कमजोर बनाउन दबाव दिइरहेका छन् । तर, प्रहरीले भने उनीहरुको दबावलाई बेवास्ता गरेको छ । स्रोतका अनुसार धिताललाई रिहा गर्न उपेन्द्र सेढाइँको समुह नै लागि परेको छ । यो समुहले विभिन्न विचौलिया समेत परिचालन गरिरहेको छ । सेढाइँले धिताल पक्राउ परेको खबर उनीद्वारा सञ्चालित जर्नि टु अष्ट्रेलियामा शेयर गर्नेलाई ब्लक समेत गर्ने गरेको निकटस्थहरु बताउँछन् ।

स्रोतका अनुसार धितालबाट अन्य कर्मचारी समेत जबरजस्ती करणीको शिकार बनेका छन् । तर, इज्जत जाने डरले उनीहरु प्रहरीसम्म पुग्न सकेका छैनन् । नेपालबाट अष्ट्रेलियामा अध्ययनका लागि जाने विद्यार्थीहरुको नक्कली विवाहको धन्दामा समेत धिताल समलग्न रहेको स्रोत बताउँछ ।

धिताल पक्राउ परेको पहिलो खबर दियोपोस्ट डटकमले ब्रेक गरेको थियो ।