काठमाडौं । नेकपा माओवादी केन्द्र निकट पत्रकार संगठन प्रेस सेन्टर नेपालको ६१ जनाको जम्बो पदाधिकारी चयन भएको छ । एक अध्यक्ष, १९ उपाध्यक्षसहित ३० भन्दा बढी सचिव चयन गरेर नेतृत्व चयन प्रक्रियाको अनौठो परम्परा स्थापना भएको छ । पदाधिकारी मध्ये एक जना पूर्व पत्रकार तथा हाल सहकारीका संचालक बनेका व्यक्ति महासचिवमा चयन भएका छन् ।
युद्धकालिन पत्रकारीतामा सक्रिय भएपनि हाल खासै संचार माध्यममा लेखन तथा संचार कर्ममा निष्क्रिय जस्तै भएर बसेका सन्तोष पौडेल सेन्टरको महासचिव भएका हुन् । उनले राजधानीको न्युरोडलाई आधार बनाएर ज्ञान सागर बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था संचालन गरेका छन् । उक्त सहकारीबाट ठगिएको भन्दै केही महिनाअघि एक पीडितले संचार माध्यमलाई समेत खबर गरेकी थिइन् । तर, त्यतिबेला पौडेललाई सम्पर्क गर्दा आफूहरुले उक्त समस्या मिलाउने बताएका थिए ।
युद्धकालमा निकै राम्रो पत्रकारको रुपमा स्थापित पौडेल शान्तिप्रक्रियामा आएपछि केही समय पत्रकारीतामा क्रियाशिल भए । शान्तिप्रक्रियामा आएपछि माओवादीले संचालन गरेको समाचार दैनिका पनि पौडेल सम्पादकीय नेतृत्वमा थिए । हाल उनी मूलखबर नामक एक अनलाइन चलाएर बसेका छन् । यद्धपी उक्त अनलाइन त्यति सक्रिय भने छैन ।
स्रोतका अनुसार संगठनको महासचिवमा ध्रुव बुढाथोकी र मनोज घर्तिमगरको लडाइँ थियो । दुई जनाको भिडन्त भएपछि तेस्रो व्यक्ति पौडेलको नाम राखिएको हो । उनको नाम हस्तलिखितमा राखिएको छ । जबकी अन्यको नाम भने कम्प्युटर टाइपिङ्गमा छ ।