नाबालिग बलात्कार प्रकरणः एलओडीका म्यानेजरसहित दुई जना पक्राउ

रिसेप्सनिस्ट सपना ढुंगाना जमानीमा छुटिन्

दियो पोस्ट  

काठमाडौं । नाबालिगलाई ठमेलको एलओडी क्लबमा प्रवेश गराएको आरोपमा थप दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले क्लबका म्यानेजर सहदेव सेढाई र रिसेप्सनिस्ट सपना ढुंगानालाई असार २६ गते पक्राउ गरेको हो। पक्राउ परे पनि ढुंगानालाई जिम्मा जमानीमा छाडिएको छ। सेढाई अहिले पनि प्रहरी हिरासतमै छन्।

यसअघि प्रहरीले एलओडीका सञ्चालकहरू रूदिलबल्लभ श्रेष्ठ र राजु सिंह सुवाललाई पक्राउ गरेको थियो। तर सरकारी वकिल कार्यालयले छाड्न आदेश दिएपछि उनीहरू असार २८ गते छुटेका थिए।

उनीहरूले जेठ ३० गते उक्त क्लबमा नाबालिगलाई प्रवेश गराएको आरोप छ। त्यसरी प्रवेश गराउँदा ती नाबालिगलाई ललितपुर पुर्‍याएर एक पुरूषले बलात्कार गरेका थिए।

बलात्कार आरोपी सुदनबहादुर कोइरालालाई पनि प्रहरीले पक्राउ गरेको छ। उनी अहिले पुर्पक्षका लागि थुनामा छन्।

बालबालिका सम्बन्धी ऐन,२०७५ को दफा ६६ को उपदफा २ को (क) र (ख) मा उल्लेखित कार्य गरी बालबालिकाविरूद्ध हिंसा गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।