१ सय ५५ किलो ‘सुन भित्र्याउने’ राकेश अडुकियाको तस्करी जालो : सुशिल पन्त देखि केपी ओलीसम्म !

दियो पोस्ट  

काठमाडौं । १ सय ५५ किलो सुन तस्करी प्रकरणमा फरार भएका भारतीय व्यापारी राकेश अडुकियाको नेपालमा उच्च राजनीतिक घरानादेखि विभिन्न शक्तिकेन्द्रसँग साँठगाँठ रहेको खुलेको छ । हङकङको आइडी होल्डर रहेका अडुकिया नेपाललाई आश्रयस्थल बनाएर सुन र चाँदीको अवैध धन्दामा संलग्न रहेपनि उच्च राजनीतिक घरानाको संरक्षणका कारण उनीमाथि कुनै कारबाही भएको थिएन ।

उनले नेकपा एमालेका अध्यक्ष केपी ओलीको संरक्षणमा तत्कालिन राष्ट्र बैंकको नेतृत्वलाई रिझाएर राष्ट्र बैंकबाट डलरको सुविधा लिएका थिए । सोही डलरको सुविधामा उनले विभिन्न मुलुकबाट चाँदी आयात गर्ने गरेका थिए । चाँदी आयातको सुविधा लिएका अडुकियाले आवरणमा चाँदी भनेपनि भित्र भित्र चाँदीलाई केमिकल प्रयोग गरि सुन आयात गर्ने र नेपाल भित्रिएपछि चाँदीलाई सुन बनाएर भारत लगायत मुलुकमा निर्यात गर्दै आएका थिए ।

अमेरिकी जासुसी संस्था सिआइएका लागि नेपाली प्रतिनिधि चाल्स मेन्डिजको कार्यालय अडुकियाले नै खरिद गरेका हुन् । रहस्यको विषय के छ भने चाल्स मेन्डिजले उक्त अफिस बरिष्ठ अधिवक्ता सुशिल पन्तको घरमा राखेका थिए । च्यानल गेट लगाएर सोही घरबाट अडुकियाले सुनको अवैध कारोबार गर्दै आएका थिए । अधिवक्ता पन्तको घरमा हालसम्म राजश्व अनुसन्धान विभागले छापा मार्न सकेको छैन । राजश्वको टोलीले अडुकियाको घर र गोदाममा मात्रै छापा हानेको छ । जबकी उनले सबै धन्दा पन्तको घरबाट गर्दै आएका थिए । सन् २०१० देखि नै नेपालको नागरिकता नै नलिई नेपाललाई आश्रयस्थल बनाएर सुनको अवैध धन्दा गर्दै आएका अडुकियालाई तत्कालिन गभर्नर युवराज खतिवडाले डलरको सुविधा दिएका थिए । खतिवडा एमाले अध्यक्ष केपी ओलीको विश्वास पात्र हुन् । स्रोतका अनुसार ओलीकै दबावमा अडुकियालाई राष्ट्र बैंकले चाँदी आयातका लागि डलर सुविधा दिएको थियो । ‘नेपालबाट डलरको सुविधा लिएर चाँदीको आयात गर्ने विदेशी नागरिक संभव त पहिलो अडुकिया नै हुन्,’ स्रोतले दियोपोस्टसँग भने,‘एमाले पार्टीको उच्च नेतृत्वसँग उनको निकट सम्बन्ध थियो । बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको घर उनका लागि पानी पँधेरो जस्तै थियो ।’
उनलाई कार्यालय दिने वरिष्ठ अधिवक्ता सुशिल पन्तले तत्कालिन केपी ओली सरकारले संसद विघटन गर्दा ओलीको पक्षमा वकालत गर्ने व्यक्ति हुन् । अडुकियाको छोरी र सुशिल पन्तको छोरा मिलेर रेमिट्यान्स कम्पनि चलाएका छन् । उक्त कम्पनिमा अर्का अर्बपति व्यापारी सुहृद घिमिरे पनि संलग्न रहेको स्रोतले बताएको छ । अधिवक्ता पन्तको सबैभन्दा ठूलो सेयर कांग्रेस सांसद सुनिल शर्माले सञ्चालन गरेको केएमसी अस्पताल र मेडिकल अलेजमा रहेको छ । यता शर्मा सुन तस्करलाई कारबाही गर्न भन्दै संसदमा उफ्रिरहेका छन् । उनी यतिधेरै बिचलित बन्नुमा यस्तै शंकाष्पद लगानीको भूमिका रहेको स्रोतको दाबी छ ।

राष्ट्र बैंक र एमाले नेतृत्वलाई रिझाएर नेपालमा अवैध कारोबार गर्दै आएका अडुकियाको पारिवारिक जालो नै तस्करीमा संलग्न रहेको अनुसन्धानमा संलग्न अधिकारीहरु बताउँछन् । राकेशको भाईरुपेश अडुकिया दुबई बस्छन् । अर्का एक भाई भने हङकङ बसेर धन्दा सम्हालिरहेका छन् । यता नेपाललाई आश्रय बनाएर राकेशले सारा धन्दाको कन्ट्रोल गर्दै आएको स्रोतको भनाई छ । सुन र चाँदी मिसाए जस्तै ब्रेक सु पनि त्यसरी नै मिसाएर ल्याइएको विषय अहिले अनुसन्धानको विषय बनेको छ । नेपालका अनुसन्धान अधिकारीहरुको मुटु काप्न सक्ने एउटा सम्बन्ध डोरी भेटियो भने उनीमाथि छानबीन नै प्रभावित हुने आशंका छ । उनलाई नेपालका लागि अन्डरवर्ल्ड डन दाउद ईब्राहिमको आधिकारीक प्रतिनिधि बताइँदै आएको छ । हङकङ भएर आउने अधिकांश तस्करीको सामान दाउदको हुने गरेको यो क्षेत्रकै अनुसन्धान गरिरहेका अधिकारीको दाबी छ । यस्तो गम्भिर तस्करीमा एमालेकै अर्का एक कार्यकर्तापनि छानबीनमा तानिएका छन् – उनी हुन् परिवर्तन राई । हेर्दा सामान्य भएपनि उनले एमाले नेतृत्वको प्रतिनिधिको रुपमा विमानस्थल कार्गो विभाग पटिको ठेक्का पट्टा लिने गर्दछन् । पार्कीङ लगायत भंसारका सबै सेटिङ उनै राईले गर्दै आएका छन् । उनको सम्बन्ध अध्यक्ष ओली लगायत नेताहरुसँग छ । विमानस्थलमा भेटिएको १ सय ५५ किलो सुन पनि उनकै निकट व्यक्ति हर्कराज राई र राजेन्द्र राईले ट्याक्सी चढाएका थिए । ट्याक्सी चालक अशोक कुमार लामाले हर्क राईले आफूलाई ट्याक्सी बार्गेनिङ गरेर ५ सय रुपैयाँमा उक्त सामग्री गन्तव्यमा पुर्याउन रिजर्भ गरेको बताएका छन् ।

अचम्मको विषय त के भने गृह प्रशासनले अडुकियाको खबर आउने वित्तिकै छापा समेत मार्न सकेन । हालसम्म उनको कार्यालयसम्म प्रहरी र राजश्व अनुसन्धान पुग्न सकेको छैन । अडुकिया भागेको ३६ घण्टापछि मात्रै गोदाम र घरमा छापा मारेको छ । जबकी घरमा आजको दिनमा परिवार बाहेक तस्करीको सामग्री फेला पार्न असम्भव छ । कार्यालयबाट सबै धन्दा गर्ने अडुकियाबारे सरकार बेखबर पक्कै होइन । उनलाई कसले किन भगायो यो प्रश्नको उत्तर गृह प्रशासन नै जानुन् ।

कम्बोडिया भ्रमणबाट फर्किएका एमाले अध्यक्ष केपी ओलीले विमानस्थलमै नयाँ पत्रिका दैनिकले सुन तस्कर भनेर आफ्नो तस्विर छापेको भन्दै आपत्ति जनाए । जबकी नयाँ पत्रिकाले व्यावसायी दिपक मलहोत्राको तस्विर छापेको थियो । ओलीले त्यतिमात्रै होइन गृहमन्त्रीको संलग्नता के हो भन्दै प्रश्न गरेका थिए । त्यसको जवाफ हालसम्म गृहमन्त्रीले दिएका छैनन् । तर, व्यापारी अडुकिया भागेको खबर ओलीसम्म नपुग्ने कुरा भएन । गृहप्रशासनकै मिलेमतोमा उनी भागेको सुचना पाएका ओलीले गृहमन्त्रीलाई मुछेर घटनालाई राजनीतिकरण गर्दैछन् । अर्को रहस्यको विषय के पनि छ भने दिपक मलहोत्रामाथि निगरानीको खबरमा उनको तस्विर छाप्ने एक दैनिक पत्रिकाले अडुकियोको गोदाममा छापा हान्दा समेत अडुकियाको तस्विर छाप्न सकेको छैन ।

एमालेका नेता परिवर्तन राईको नाम आएपछि एमालेले युवा संघलाई सडकमा उतारेर नाटकीय विरोध गर्यो । यो घटनलाई एमालेले राजनीतिकरण गरेर आफ्नो अपराध ढाकछोप गर्दै गरेको पुष्टि त्यहीदिनको घटनाले गर्दछ । किनकी राजश्व र प्रहरीको संयुक्त अनुसन्धानको निष्कर्श नआउँदै एमाले नेता ईश्वर पाखेरेलको निर्देशनमा उक्त दिन युवा संघले प्रदर्शन गरेको थियो । किनकी यो प्रकरणमा उच्च राजनीतिक नेतृत्वको भूमिका समेत शंष्काष्पद छ ।
चिनियाँ नागरिक पक्राउ पर्ने वित्तिकै संसदमा अमरण अनसन बसेका सुनिल शर्माको पनि भूमिका शंकाष्पद रहेको उच्च स्रोतको भनाई छ ।

त्यस्तै राकेश अडुकियासँग नाइटो जोडिएका धेरै पात्रहरु छानबीनको दायरामा आएका छैनन् । उनलाई संरक्षण गर्ने सबैभन्दा ठूला अधिवक्ता हुन् सुशिल पन्त । उनको परिवार व्यापारमा समेत जोडिएका पनि छन् । तर उनीमाथि हालसम्म छानबीनको राडार पुगेको छैन । अर्का वकिल राजेश शर्मा काफ्ले पनि अडुुकियाको धन्दाको संरक्षक हुन् । उनी भागेपछि छापा मार्ने गृह प्रशासनकै भूमिका समेत शंकाष्पद छ । अधिवक्ता पन्तसँग व्यावसायीक साझेदार रहेका सुहृद घिमिरेपनि कुनै कुनै रुपमा यो प्रकरणमा संलग्न रहेको आरोप छ । रेमिटेन्समा घिमिरे र पन्तको साझेदारी रहेको छ । सोही रेमिटेन्समा अडुकिया पनि साझेदार छन् । उक्त रेमिटेन्सले के कस्तो धन्दा गर्दै आएको छ छानबीनको विषय हुनुपर्ने हो ।

अडुकियाको धन्दामा राष्ट्र बैंकको रहस्यमयी साथ

अडुकियाको तस्करी धन्दामा राष्ट्र बैंकको तत्कालिन गभर्नर युवराज खतिवडा मात्रै होइन हालका गभर्नर महाप्रसाद अधिकारी पनि संरक्षक छन् । हालका संचालक चिन्तामणी सिवाकोटी र भिष्म ढुंगाना पनि उनलाई संरक्षण गर्दै आएका छन् । एमालेसँग निकट सम्बन्ध बनाएर नै अडुकियाले राष्ट्र बैंकसँग सहज पहुँच बनाएका थिए । सन् २०१० देखि नेपाललाई आश्रय बनाएर अवैध धन्दा गर्दै आएका अडकिया केही वर्षअघि न्युरोडमा सुन सहित पक्राउ परेका थिए । त्यस्तै अर्को पटक उनी विरगन्जमा सुनसहित पक्राउ परेको थिए । त्यतिबेला राजेश शर्मा र पन्त जस्ता अधिवक्ताले उनलाई उन्मुक्ति दिलाउन सफल भएका थिए । त्यस्तै नेपालमा छिटो खर्बपति भएका व्यापारी सुहृद घिमिरेको सम्बन्ध पनि अडुकियासम्म छ । घिमिरेलाई लोकमान सिंह कार्कीको संरक्षण भएपनि व्यावसायीक उडानमा अडुकियाले नै सहयोग गर्दै आएका थिए । गोरखा विकास बैंक घोटालामा पर्दा पछाडीको भूमिका निभाएका अडुकियालाई राष्ट्र बैंकले पहिले पनि कारबाही गर्न सक्थ्यो । तर, उनी यो प्रकरणमा माछो उम्किएसरि उम्किए । श्रीमती रुची अडुकियाको नाममा उनले सबै सेयर राखेका थिए । नेपालको नागरिकता नलिएपनि नेपाली नागरिकले भन्दा धेरै सरकारी सुविधा दिलाउन पनि एमाले नेतृत्वकै भूमिका रहेको अडुकिया निकटहरु बताउँछन् ।

छोराले यसरी हत्याए टेस्लाको डिलर

राकेश अडुकियाको छोरा रोहन अडुकियाले नेपालमा टेस्ला मोटर्सको डिलरसिप लिएका छन् । तर, उक्त डिलरसिप पनि उनकै पार्टनर ऋषी तुल्स्याङसँग हडपेको दाबी छ । उनीहरुबीचको पार्टनरको झगडाले नै अहिले यो रुप लिएको आरोप समेत कतिपयले लगाउँछन् । सोल्टी सिटि नामक अपार्टमेन्टका मालिक रहेका ऋषि यतिबेला राकेशको बाबुछोराबाट आजित भएका छन् ।