काठमाडौं । राजस्व अनुसन्धान विभागले काठमाडौंको ठमेलको होटल भियनाबाट एक जनालाई पक्राउ गरेको छ।
विभागको टोलीले आइतबार बिहान उक्त होटलबाट दावा छिरिङलाई पक्राउ गरेको स्रोतले बतायो। उक्त होटल उनकी श्रीमतीको नाममा छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ठूलो परिमाणको सुनमा उनको पनि कनेक्सन देखिएपछि विभागको टोलीले छिरिङलाई पक्राउ गरेको हो। उनी नेपाली मूलका बेल्जियम नागरिक हुन्।
केही समय अघि काठमाडौंमा कल सेन्टर सञ्चालन गरी ठगी धन्दा चलाउनेमा पनि उनको नाम जोडिएको थियो। तर उनी पक्राउ परेका थिएनन्।
हङकङबाट सुन ल्याएर नेपालमा व्यवस्थापन गर्ने गिरोहसँग जोडिएको पाइएपछि विभागले होटल भियनामा छापा मारेको हो ।
योसँगै पक्राउ पर्नेको संख्या १८ पुगेको छ।