तस्करी र अपराधीको कुनै पार्टी र नाता हुँदैन : वर्षमान पुन

'सुन प्रकरणमा पक्राउ परेका दावा छिरिङसँग जोडेर मेरो चरित्र हत्या गरियो'

दियो पोस्ट  

काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सुन तस्करीको छानबिनका लागि संसदीय वा न्यायिक समिति बनाउन प्रस्ताव गरेका छन्। सोमबार बसेको पार्टी पदाधिकारीहरुको बैठकमा विशेष समय लिएर बोलेका पुनले भ्रष्टाचार, तस्करी र अनियमिततामा संलग्न कसैलाई पनि उन्मुक्ति दिन नहुने बताए।

यस्ता प्रकरणमा मुछिएको पुष्टि भए पार्टी र सरकारले कसैलाई पनि उन्मुक्ति दिन नहुने उनको भनाइ थियो। ‘तस्करी र अपराधीको कुनै पार्टी र नाता हुँदैन’, उनले भने, ‘देशद्रोहमा संलग्न जो कोही भए पनि उन्मुक्ति दिन हुँदैन, म नै किन नहोउँ।’

पुनले पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकारले सञ्चालन गरेको भ्रष्टाचार, बेथिति र अनियमितताविरोधी अभियान रोकिन नहुने बताउँदै त्यसमा पार्टी पंक्तिको साथ र सहयोग रहेको उल्लेख गरे।

पुनले सुन तस्करी प्रकरणमा आइतबार पक्राउ परेका तिब्बतीमुलका बेल्जियन नागरिक दावा छिरिङसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताए। सरकारले सञ्चालन गरेको भ्रष्टाचार र अनियमितताविरोधी अभियानलाई अन्यत्रै मोड्ने नियोजित चलखेलका रुपमा आफ्नो नाम दावासँग मुछ्ने प्रयास भएको टिप्पणी उनले गरे। ‘दावा पक्राउ परेपछि ८ वर्ष पहिला भएको भेटघाटको समयमा खिचिएको सामूहिक तस्बिरलाई अहिलेको घटनासँग जोडेर प्रचार भयो’, पुनले भने, ‘यो मेरो सार्वजनिक छविमाथिको आक्रमण र चरित्र हत्या हो।’

त्यस प्रकरणमा नाम आएका सबैबारे छानबिन गर्न प्रहरीको अपराध अनुसन्धानमा विज्ञ टोली, संसदीय समिति वा विशेष समिति बनाउन पुनले माग गरे। ‘अनुसन्धानमा विज्ञ निकाय, न्यायिक वा संसदीय छानबिन समिति जे उपयुक्त हुन्छ बनाएर हुन्छ यो प्रकरणको छानबिन हुनैपर्छ’, पुनले भने, ‘हामी नेताहरु, हाम्रा आफन्तहरु वा जसजसको अपराधमा संलग्नता देखिन्छ, त्यसले सजाय भोग्नुपर्छ। जेल जान तयार हुनुपर्छ।’

पुनले पार्टी बाहिर वा भित्र अमुक व्यक्ति वा एक निकायको नाम जोडिँदैमा अर्को पक्षले अपराधीकरण गर्ने प्रवृत्ति सह्य नहुने बताए।