A dozer removes mud from historic Rani Pokhari or Queen's Pond that was damaged in 2015 earthquake and left intact till date in Kathmandu, Nepal on Tuesday, July 18, 2017. Photo: Skanda Gautam
काठमाडौं, असार १७ । काठमाडौँ, असार १७ गते । रानीपोखरीलाई साबिक रूपमा बनाउन कुल तीन हजार ट्रक कालो माटो आवश्यक पर्ने भएको छ । त्यति माटो पोखरीमा राखेपछि पानी दिगो रूपमा रहिरहन्छ भन्ने कामदारको बुझाइ छ ।
यहीअनुरूप द्रुत रूपमा पोखरी बनाउने कार्य भइरहेको छ । हालसम्म साँखु र भक्तपुरबाट ४० ट्रक कालो माटो ल्याइएको छ । भक्तपुर भाजु पोखरी उपभोक्ता समितिका अध्यक्षको अगुवाइमा ५७ जना डकर्मीले पोखरीको डिलमा पुरानै शैलीमा इँटाको गारो लगाउने काम गरिरहेका छन् ।
कालो माटो बिछ्याइसकेपछि ४० कामदार फेरि थपिँदैछन् ।
“कालो माटो बिछ्याइएपछि पानी लिकेज हुँदैन, वर्षात्कै पानीले पोखरी भरिन्छ”, अध्यक्ष डुमरु भन्नुहुन्छ । पोखरीको भित्री सतहमा अझै पानी छ, दुई फिट खन्दा पानी आउँछ यो पानीमाथि सतहमा तैरिन नसकेको मात्र हो, पोखरीमा थप पानी भरिएपछि पोखरी जस्ताको तस्तै पानीले भरिभराउ हुन्छ, कालो माटोले भरिएको पानी चुहेर जाँदैन ।
भक्तपुरमा भाजु पोखरीलाई दुरुस्त बनाएर ख्याति कमाएको यो उपभोक्ता समितिलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भक्तपुर नगरपालिकासँग माग गरेर रानीपोखरी बनाउन लगाएको हो, पाटन लगनखेल छेउको न्हु पोखरी पनि यही समितिले बनाइरहेको छ ।
जम्मा ४५ जना कामदार न्हु पोखरी बनाउन खटिएका छन् । दक्ष र अर्धदक्ष कामदारको यो जमात दुवै पोखरीलाई साबिकअनुसार बनाउन खटिएका छन् । अध्यक्ष कृष्ण डुमरुका अनुसार सुरुमा बनाउँदा जस्तो थियो त्यस्तै बनाउन पुनः उपयोग हुन सक्ने सामानलाई उपयोगमा ल्याइएको छ ।
रानीपोखरी बनाउने क्रममा जथाभावी सिमेन्ट ढलान गरिएकाले यसलाई पनि मिलाउन आवश्यक रहेको उहाँ बताउनुहुन्छ । असार १५ मा रोपाइँ सकेर कामदारहरू कामका लागि पोखरी पसेका छन् ।
सुर्कीचुनाको घोल बनाउन कोही कृत्रिम कुवा बनाउन व्यस्त छन्, कोही पोखरीको सुक्खा जमिन सम्याइरहेका छन् भने कोही मल्लकालीन पुराना इँटालाई काम लाग्ने नलाग्ने छुट्याइरहेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्माणको शुभारम्भ गर्नुभएको रानीपोखरी दीपावलीसम्म सम्पन्न गर्ने लक्ष्य छ । गोरखापत्र दैनिकबाट