काठमाडौं, असार १९ । सशस्त्र प्रहरीका आइजीपी शैलेन्द्र खनालले पद जोगाउनका लागि नेतादेखि बिचौलियाहरुलाई पीएसओ, चालक र सुरक्षाकर्मी दिएका छन् । नेपाल प्रहरीले भीआइपीहरुलाई अनावश्यकरुपमा दिंदैआएका सुरक्षाकर्मी फिर्ता ग¥यो ।
नेपाल प्रहरीले आवश्यक नभएको भनी जस–जसको घरबाट सुरक्षाकर्मी फिर्ता बोलायो, उनीहरुका घर घरमा सशस्त्र प्रहरीका आइजीपी शैलेन्द्र खनालले चाकडी गर्न सुरक्षाकर्मी पठाउँदै आएका थिए ।
युनाईटेड पोष्टका अनुसार जसको सुरक्षाकर्मी हटाइएको छ, उसको घरमै गएर नेपाल प्रहरीको बिरोध गर्दै सुरक्षाकर्मी पठाउने गरेका थिए खनालले ।
एउटा फौजको प्रमुख भएर अर्को फौजकोबिरुद्ध कुरा लगाउने र साखुल्ले हुनका लागि आवश्यकै नभए पनि सुरक्षाकर्मी उपलब्ध गराउने काम खनालले गर्दै आएका छन् । अमरेशकुमार सिंह जस्ता विवादास्पद पात्रलाई उनले पीएसओ, चालक र सुरक्षाकर्मी दिएका छन् ।
अमरेशकुमार जस्ता सांसद प्रतिनिधिसभाका मात्रै २७५ सदस्य छन् भने राष्ट्रियसभामा ५९ छन् । तर, उनलाई मात्र किन सशस्त्रले सुरक्षाकर्मी र चालक दिएको हो ? उनलाई के सुरक्षाथ्रेट छ ? गम्भीर प्रश्न उठिरहेको छ ।
किनकि आइजीपी खनालले भारतको इशारामा चल्ने अमरेशलाई आजदेखि होइन, डीआइजी हुँदादेखि पीएसओ र चालक दिंदैआएका छन् । आइजीपी हुनका लागि उनले अमरेश जस्तालाई रिझाउँदै आएका थिए ।
संगठनको एक बटालियन नै उनले नेता र बिचौलियादेखि सहसचिवहरुको चाकडीमा लगाएर आफ्नो पद सुरक्षित गर्न खोजेका छन् । तरपनि खनाल पद जाने चिन्ताले छटपटीमा छन् । खनालले नेपालको सूचना दूताबासलाई हरेक साता बुझाउने गरेको र त्यो सूचना नेपाली सेनाले समेत थाहा पाइसकेको स्रोतको भनाई छ ।
सेनाले यो कुराको जानकारी प्रधानमन्त्री केपी शर्माओलीलाई समेत दिइसकेको छ । त्यही भएर प्रधानमन्त्री ओलीले उनलाई त्यति नरुचाएको र भेट समेत नदिएको स्रोतले बताएको छ ।
सशस्त्र प्रहरी बलमा गुटबन्दीले जरा गाडेको छ । आइजीपी नै गुटबन्दी गरी आफ्नै अफिसरको क्यारियर सिध्याउने षडयन्त्रमा सामेल हुने गरेका छन् ।
गृहमन्त्री, गृहसचिव र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत आफ्नै संगठनका अधिकृतका बिरुद्ध झुटा जानकारी दिने र उजुरी समेत दिने हर्कत उनले गरेको खुलासा विस्तारै हुन थालेको छ ।
१ नम्बर प्रदेशबाट भर्खरै सरुवा भएका डीआइजी मन्दिप श्रेष्ठबिरुद्ध खनालले एसपी नानीराम हुमागाईलाई परिचालन गरी सशस्त्र मुख्यालय, अख्तियार जस्ता निकायमा उजुरी हाल्न लगाएको आरोप लाग्ने गरेको छ ।
त्यही उजुरीका आधारमा उनले कारबाही गर्न लागेका छन् । त्यो उजुरी हालेबापत आइजीपी खनालले एसपी हुमागाईलाई प्राविधिक भए पनि इन्चार्ज दिएका छन् । सशस्त्रमा संगठन प्रमुखको इशारामा एआइजी, डीआइजीबिरुद्ध मात्र होइन, धेरै अधिकृतका बिरुद्ध झुटा उजुरी हाल्ने काम हुमागाईबाटै खनालले गराउँदै आएको मुख्यालयमा चर्चा छ । एकै प्रकृतिका उजुरी पटक–पटक हाल्ने र अख्तियारलाई समेत हैरान पार्ने गरेपछि त्यस्ता उजुरी प्रारम्भिक अवस्थामै च्यातेर फाल्ने गरिएको स्रोतले बताएको छ ।
यसैबीच, अर्धसैनिक प्रकृतिको सशस्त्र प्रहरी बलका प्रमुख भइसकेका खनाल सबैको अभिभावक हुनुपर्नेमा एकथरीलाई च्याप्ने र अर्काथरीलाई पेल्ने गर्दा विवादमा परेका छन् । खनाल हरबखत पद कसरी जोगाउने भन्ने चिन्तामा हुन्छन् । खनाल नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का कान्छा ज्वाई जीवन आचार्यको चाकडीमा दैनिक धाउने गर्दछन् । त्यसका अलावा वाइसीएलमा आवद्ध भन्दै सुरज अधिकारी सशस्त्र मुख्यालयमै बास बनाएर बसेका हुन्छन् । उनी एसपी र एसएसपीलाई समेत हप्कीदप्की दिने गर्दछन् ।
संगठनको मुख्यालयमा बिचौलिया अधिकारीले अधिकृतलाई हप्कीदप्की गर्ने साहस कसरी गरे ? यो प्रश्नले अधिकृतहरुको मन चसक्क हुने गर्दछ । संगठन प्रमुखका कारण सशस्त्रका अधिकृतहरु बिचौलियाको हप्काई खाने निरीह सावित भएका छन् ।
खनाल आइजीपी भएपछि सशस्त्रमा बिचौलियाकै हालीमुहाली छ । नरेश भट्ट नामका बिचौलिया पनि बाक्लै सशस्त्रमा आउनेजाने गर्दछन् । उनले त सशस्त्रको हल आफन्तको विवाह गर्न पटक–पटक निशुल्क प्रयोग गर्दैआएका छन् । मिटरब्याजी नरेश भट्टले आइजीपी खनालको भ्रष्टाचारको पैसा लगानी गरेको स्रोतको दाबी छ ।
अर्का बिचौलिया सुवास राई पनि सशस्त्र प्रहरी बलका आइजीपीका भित्रिया हुन् । उनी पनि सशस्त्रका ठेक्कापट्टादेखि सरुवामा पनि मोलमोलाई गर्ने ब्यक्ति हुन् । स्व. सुशील कोइराला प्रधानमन्त्री हुँदा राईको पहुँच बालुवाटारमा थियो ।
त्यतिबेलादेखि नै खनालले उनलाई समातेर बढुवादेखि विभिन्न लाभ लिएका थिए ।