नेपाली तरकारी भारत निर्यात गर्दा नाकामै रोकिन्छन्, व्यवसायीलाई यतिसम्मको सास्ती

दियो पोस्ट  

काठमाडौँ, असार २२ । भारतले वेला–वेला विषादी तथा गुणस्तर परीक्षण, तस्करीलगायत नाममा नेपालका कृषि तथा जडीबुटीलगायत उत्पादनलाई निकासीमा अवरोध गर्ने गरेको छ । नेपालको अदुवा, अलैँची, चिया तथा जडीबुटी निकासीमा गैरभन्सार अवरोध गर्दै आएको छ । अहिले पनि नेपालका ७९ जडीबुटी निकासीमा रोक लगाएको छ ।

नेपालबाट निकासी हुने कृषि, खाद्य र पशुपक्षीलगायतको जीवाणु तथा विषादी जाँच गर्ने प्रयोगशाला भारतीय नाकामा पनि छैन । त्यसैले नमुना बोकेर कोलकाता, पटना र लखनउ लैजानुपर्ने बाध्यता छ । ती ठाउँमा लगेर परीक्षण गर्दा रिपोर्ट आउन एक सातासम्म लाग्ने भएकाले कैयौँपटक नेपालका कृषिवस्तुहरू नाकामै कुहिने र बिग्रने गरेका छन् ।

त्यस्तै, भारतीय प्रहरी तथा कर्मचारीले नेपाली निकासीकर्तासँग अवैध रूपमा प्रतिट्रक ५० हजार रुपैयाँसम्म लिन्छन् । विभिन्न बहानमा भारतीय प्रहरी र भन्सार कर्मचारीले प्रतिट्रक ४०–५० हजार रुपैयाँसम्म अतिरिक्त पैसा लिने गरेको नेपाली निकासीकर्ताहरू बताउँछन् ।

भारतले विभिन्न प्रकारका कर लगाएरसमेत नेपालको निकासीलाई प्रभावित पार्दै आएको छ । डिसेम्बर २०१६ देखि नेपालको जुटमा काउन्टर भ्यालु ड्युटी (प्रतिकारात्मक कर) लगाएको कर नेपाल सरकार र निजी क्षेत्रको पटक–पटकको आग्रहपछि अप्रिल २०१७ देखि लागू हुने गरी हटायो । तर, एन्टीडम्पिङ ड्युटी भने अझै कायम नै राखेको छ । भारतले वनस्पति घिउ, एक्रिलिक यार्न (धागो), कपर र जिन्कअक्साइड निर्यातमा समेत कोटामा आधारित भन्सार दर निर्धारण गरेको छ । भारतले ३० प्रतिशतभन्दा कम मूल्य वृद्धि भएको नेपाली वस्तुमा समेत भन्सार लगाउने गरेको छ ।

तरकारीको नमुना बोकेर यसरी धाउँछन् नेपाली निर्यातकर्ता

  •  काँकडभिट्टाबाट कोलकाता ५३९ किमि
  •  विराटनगरबाट पटना ३०३ किमि
  •  सुनौलीबाट लखनउ ३२९ किमि

भारतीय दूतावास भन्छ– दबाब होइन, हाम्रो सरोकार हो

नाकामा भारतीय तरकारी तथा फलफूल रोकिएपछि काठमाडौंस्थित भारतीय दूतावासले परराष्ट्र मन्त्रालयमार्फत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गरेको थियो । भारतले विषादी परीक्षण गरेर पठाएको प्रमाणपत्रका आधारमा नेपालले तरकारी, फलफूल स्विकार्नुपर्ने भारतको तर्क थियो । ‘नाकामा नेपालको पूर्वाधार नभएसम्म भारतले जारी गरेको प्रमाणपत्रलाई नै आधार बनाएर तरकारी, फलफूल भन्सार पास गराउनुपर्छ भन्ने भारतको पत्रमा उल्लेख थियो,’ सरकारी स्रोतले भन्यो । 

काठमाडौंस्थित भारतीय दूतावासका प्रवक्ता अभिषेक दुबेले नाकामा तातो घामले सड्न लागेका तरकारी, फलफूललाई चाँडो छुटाएर समस्या समाधानका लागि आग्रह गरेको बताएका छन् । उनले भने, ‘हामीले नेपाल सरकारको ध्यानाकर्षण मात्र गराएका हौँ ।’ प्रयोगशालाको अभावमा नाकामा तरकारी, फलफूल रोकिएर बस्दा दूतावासले सरकारलाई ध्यानाकर्षण गराउनु स्वाभाविक भएको उनको भनाइ छ ।

‘सरकारका मन्त्री र कर्मचारीलाई भेटेर हामीले समस्या समाधान गर्नुस्, लामो समय अड्काइराख्दा दुवै पक्षलाई नोक्सानी हुन्छ भनेका हौँ,’ दुबेले भने, ‘विश्व व्यापार संगठनको सदस्यराष्ट्र भएकाले पनि निर्यातमा कुनै अप्ठ्यारो पार्न खोजिएको छ भने निर्यातकर्ता मुलुकलाई अग्रिम जानकारी दिनुपर्छ भन्ने कुरा गरेका हौँ ।’

नयाँ पत्रिकाबाट