नेपाल आउने सयौँ गाडी भारतीय बजारमै अलपत्र : भारतले जाँचपास नदिएको खुलाशा !

दियो पोस्ट  

विराटनगर, २२ असार । नेपालको सीमावर्ती भारतीय नाका अररिया जिल्लाका जिल्ला अध्यक्षको पत्राचारले गर्दा नेपाल आउने सयौँ मालवाहक गाडी भारतीय बजारमै अलपत्र पर्न पुगेका छन् ।


भारतीय अवरोधका कारण आर्थिक वर्ष ०७५/०७६ को विराटनगर भन्सारको राजस्व संकलनमा समेत ठूलो प्रभाव पर्ने भएको छ । विराटनगर महानगरपालिकाको सीमासँगै रहेको भारतको अररिया जिल्लाका जिल्ला अध्यक्षले भारतीय भन्सार कार्यालय जोगवनीलाई पत्रै लेखेर नेपाल प्रवेश गर्ने मालवाहक गाडीहरु दैनिक दश वटासम्म मात्र जाँचपास गर्न निर्देशन जारी गरेपछि अहिले नेपाल प्रवेशको प्रतीक्षामा सयौँ गाडी भारतको वथनाहमा रहेको मिरगञ्ज पुलमा नै रहेको उद्योगी तथा व्यवसायीले बताएका छन् ।


जसका कारण सुनसरी मोरङ औद्योगिक करिडोरमा कच्चा पदार्थ बोकेर आउने मालवाहक साधन भारतमै रोकिएका छन् । भारतीय अवरोधले नेपाल आउने मालवाहक गाडी अलपत्र भारतको जोगवनी प्रवेश गर्ने मिरगञ्ज पुलमा नै भारतीय सुरक्षाकर्मी वेरियर लगाएर बसेको हुँदा दैनिक दश गाडी मालवाहक कन्टेनरहरु नेपाल आउने गरेका छन् । यसतर्फ भारत सरकारको अररिया जिल्ला अध्यक्षले भारतको जोगवनी भन्सारलाई लेखेको पत्र ।


तुरुन्त सरकारले पहल गरी निर्बाध रुपमा भारतबाट मालसमान आउने वातावरण बनाउन उद्योगी व्यवसायीले आग्रह समेत गरेका छन् । नेपालका लागि कच्चा पदार्थ बोकेर आएका सयौँ कन्टेनरहरु बाटोमा नै अलपत्र परेका हुन् । कच्चा पदार्थ बाटोमै अड्किएका कारण जुनसुकै समयमा उद्योग नै बन्द हुने अवस्था आउने उद्योगीले चेतावनी दिएका छन् । बाटोमा कच्चा पदार्थ बोकेर बसेको मालवाहक गाडी एक दिन बाटोमा बस्नुपर्दा प्रतिदिन दुई हजारका दरले सम्बन्धित उद्योगीले ढुवानीको डिटेन्सन चार्ज बुझाउनुपर्ने बाध्यकारी अवस्था छ ।


भारत अररियाका प्रमुख जिल्ला अधिकारी बैजनाथप्रसाद यादवले भारतीय भन्सार जोगवनीलाई निर्देशनात्मक पत्र लेख्दै कुनै पनि नेपाल जाने कन्टेनर वा गाडी मिरगञ्ज पुल र आईसीपी प्रवेशको मोड जोगवनीमा वेरियर बनाएर नियन्त्रण गर्न निर्देशन दिएका कारण जोगवनी भन्सार समेतले दैनिक १० गाडी भन्दा बढीको भन्सार जाँचपास नै रोकेको स्थानीय उद्योगीले बताएका छन् ।