काठमाडौं, २४ असार । मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा जारी छ । विहान ७ बजेर १५ मिनेटपछि शुरु भएको मन्त्रिपरिषदको आकश्मिक बैठकले मन्त्रीहरुको फेरबदल गर्नसक्ने संभावना रहेको उच्च स्रोतको दाबी छ ।
प्रधानमन्त्री ओली ‘माओवादी तर्फका मन्त्रीहरु’का कारण सरकारको आलोचनाको ग्राफ बढेको निष्कर्षमा पुगेका छन् । सोमबार साँझ राष्ट्रपतिलाई भेटेपछि प्रधानमन्त्रीले सोमबार साँझ नै मन्त्रिपरिषद बैठक ढाकेका थिए । सोमबार मन्त्रिहरुको रिपोर्टिङ सुनेपछि बैठक स्थगित भएको थियो ।
आयातीत तरकारी तथा फलफूलको विषादी परीक्षण फिर्ताको निर्णयले आलोचित बनेको थियो ।
नियमित बैठक बिहिबार मात्रै बस्ने गरिएको थियो । नियमित बैठकको निर्णय भने एक हप्तापछि मात्रै सार्वजनिक गर्ने प्रचलन यही सरकारले बसालेको थियो । स्रोतका अनुसार आकस्मिक बैठकबाट चार जना मन्त्री हटाउने तयारी प्रधानमन्त्रीले थालेका छन् ।
‘माओवादी तर्फका ४ जना मन्त्री हटाउने तयारी प्रधानमन्त्रीले थाल्नु भएको छ,’ उच्च स्रोतले भन्यो,‘एक जना पूर्व माओवादी र ३ जना पूर्व एमाले तर्फका साथीहरुलाई मन्त्री बनाउने तयारी छ ।’
उच्च स्रोतका अनुसार पुनर्गठन हुने मन्त्रिपरिषदमा पूर्व एमालेबाट कृष्ण गोपाल श्रेष्ठ, योगेश भट्टराई, लेखराज भट्ट र महेश बस्नेतलाई सामेल गराउने प्रधानमन्त्रीको तयारी छ ।