जग्गाधनी पञ्चलाललाई ‘एक पैसा नदिई’ २६ आना जग्गा छायाँदेविको नाममा ‘कब्जा’ !

दियो पोस्ट  

काठमाडौं, २४ असार । राजगुठी अन्तर्गतको ठमेल स्थित कमलपोखरीको कब्जा गरेर निर्माण भएको व्यापारिक भवन छायाँ सेन्टरले सोही स्थानमा व्यक्तिको नाममा रहेको २६ आना जग्गा पनि ‘कब्जा’ गरी आफ्नो नाममा पारेको खुलाशा भएको छ । पाटनको सुन्धारा घर भएका पञ्चलाल महर्जनको नाममा रहेको काठमाडौं महानगरपालिका वडा नम्बर २९ ठमेलस्थित कित्ता नम्बर १०२४ मा रहेको एक रोपनी १० आना एक दाम जग्गा र घर समेत छायाँ सेन्टरले अनेक तिकडम र छलछाम गरी आफ्नो नाममा पारेको रहस्य दियोपोस्टले फेला पारेको छ ।


गोरखा विकास बैंकमा धितोमा रहेको जग्गा विभिन्न तिकिडम गरेर छायाँ सेन्टरको नाममा पारिएको पीडित महर्जनले दियोपोस्टलाई बताए ।


तत्कालिन गोरखा विकास बैंकका अध्यक्ष डिबी बमजन, तत्कालिन ऋण अधिकृत तथा सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ लगायत भूमाफियाको मिलेमतोमा महर्जनको जग्गा कब्जा भएको रहस्य बाहिरएको छ ।

तत्कालिन गोरखा बैंकले उनको जग्गा धितोमा राखेकै बेला छायाँ सेन्टरलाई बेचेको पाइएको छ ।

यस्तो पृथ्वीबहादुर पाण्डेको तिकिडम !


महर्जनको नाममा रहेको उक्त जग्गा तत्कालिन इन्भेष्टमेन्ट कम्पनिमा धितो राखिएको थियो । धितोबाट महर्जनले ५ करोड ऋण लिएका थिए । यता सोही जग्गा प्रयोग गर्न छायाँदेवी कम्प्लेक्सले करार गरेको थियो । सम्झौतामा छायाँदेवी कम्प्लेक्सले जग्गा प्रयोग गरेबापत मासिक ५० हजार रुपैयाँ र बाटो प्रयोग गरेबापत ५० लाख रुपैयाँ तिर्ने उल्लेख थियो ।


महर्जनको स्वामित्वमा रहेको जग्गा लिलामी गर्न तत्कालिन इन्भेष्टमेन्ट फाइनान्सले तयारी थालेको थियो । ‘त्यतिबेला इन्भेष्टमेन्ट फाइनान्स पनि पृथ्वी बहादुर पाण्डे र अर्को पाण्डे थरकै व्यक्तीहरुले चलाउँथे,’ पञ्चलाले भने,‘उनीहरुले योजनाबद्द रुपमै मेरो जग्गा लिलामीको तयारी थाले ।’


पाण्डेकै सल्लाहामा महजर्ननले पुतलीसडकको त्रिवेणी कम्पलेक्समा तत्कालिन कार्यालय रहेको गोरखा विकास बैंकमा उक्त जग्गा धितो राखेर १३ करोड रुपैयाँ ऋण लिने निधो गरे ।


‘छायाँ सेन्टरका मालिक पृथ्वीबहादुर पाण्डेले १३ करोड दिन्छ भनेर गोरखा विकास बैँकमा सार्न लगाए । इन्भेस्टमेन्ट फाइनान्समा ५ करोड तिर्न बाँकी थियो,’ पीडित पञ्चलाल महर्जनले भने,‘गोरखा विकास बैँकले सोही धितो राखेर १३ करोड दिने भनेपछि २०६७ असार ३२ गते उहाँले ५ करोडको चेक काट्दिनुभयो । इन्भेस्टमेन्ट फाइनान्समा पनि उहाँहरुले आफ्नै खाता खोलेर ऋण चुक्ता गरेपछि धितो सार्नुभयो ।’


पीडित महर्जनका अनुसार आफ्नो ऋण रहेको फाइनान्सलाई ऋण तिरेपछि धितो सारेर गोरखा बैंकमा जग्गा सारिएको थियो । तर, महर्जनले पाउनुपर्ने १३ करोड रुपैयाँ पाएनन् । तत्कालिन ऋण अधिकृत हाल सगरमाथा टेलिभिजनका मालिक निर्मल गुरुङको मिलेमतोमा उनी ठगिदै गए ।
‘१३ करोड ऋण निकासा भएको छ, एउटा हाम्रै पार्टी छ । उसको नाममा लोन निकासा गरिएको हो ’ भनेर पाँच करोड मेरो नाममा रहेको ऋण तिरियो ।

बाँकी रकम आइतबार दिन्छु भनियो तर अनेक बहानाबाजी गरेर ४ महिनासम्म पैसा दिइएन । चार महिनापछि बैँकमा तिर्नुपर्ने ब्याज पचास लाख पुगेछ । त्यसपछि उहाँले मलाई ब्याज तिर्नुस् भन्नुभयो र उल्टो मसंग ५० लाख माग्नुभयो । उनीहरुसंग मैले ८ करोड रुपैयाँ लिनुपर्ने थियो उल्टै मैले ब्याज तिर्ने ? उहाँलाइ मैले यही भने, मैले कहाँबाट ल्याएर दिने हो र ? मैले उहाँहरुबाट पैसा नआउने छाँटकाट बुझिसकेको थिएँ ।’


पीडित महर्जनले पाएको ५० लाखको चेक समेत नसाटिएपछि उनले आफू ठगिएको चाल पाएको बताए । उनको जग्गा धितो राखेर अब्दुल कवाडी ट्रेडिङ प्रालीको नाममा करोडौँ रुपैयाँ भुक्तानी भएको चालपाएपछि महर्जनले विभिन्न निकायमा उजुरी समेत गरे ।


‘तपाईंहरुले मलाई पैसा दिनुहुन्न । बरु म पाँच करोड र ५० लाख ब्याज जुटाएर तपाँईलाई दिन्छु तर धितो अर्को ठाउँमा सार्छु भनेपछि उहाँ झस्कनुभयो । त्यतिबेला ऋण अधिकृत निर्मल गुरुङ हुनुहुन्थ्यो,’ पीडित महर्जनले भने,‘तर सोही धितोबाट अन्य कारोबार पनि भएको रहेछ, मलाई थाहा थिएन । पछि गोरखा विकास बैँकको कर्मचारीबाट थाहा पाएँ । त्यो थाहा पाएपछि मैले अन्य कारोबारको पैसा पनि उहाँसंग माग गरेँ । त्यसको स्टेटमेन्ट मगाएँ । स्टेटमेन्ट हेर्दा जुन दिन उहाँले मलाई ५ करोडको चेक दिनुभएको थियो सोही दिन उहाँले मेरो धितोबाट ७ करोड ४१ लाख निकाल्नुभएको रहेछ । धितो थर्ड पार्टी कोलाटेर ग्यारेन्टी भएको कारण अब्दुल कवाडी ट्रेडिङ कम्पनीबाट उहाँले पैसा निकाल्नुभएछ ।’


सोही ऋण अपचलनको मुद्दामा तत्कालिन गोरखा बैंकका अध्यक्ष डिबी बमजन जेल सजाय समेत भोगेर निस्किएका थिए ।

‘मुद्धा सर्वोच्च अदालतमै छ । ८ बर्ष भइसक्यो अझै फैसला भएको छैन । नेपालमा मुद्धा हुनु भनेका क्यान्सर हुनुजस्तैे रहेछ । तवाही मच्चिसक्यो अझै न्यायोचित फैसला भएको छैन,’ महर्जन भन्छन्,‘यता मेरो नाउँको जग्गा भने विभिन्न व्यक्तिले बेचविखन गरिरहेका छन् ।’


‘मेरो घर र जग्गालाई १३ करोड ३८ लाखमा गोरखा विकास बैँकले लिलाम गर्यो । सो लिलामी पृथ्वीबहादुर पाण्डेले नै सकार्नुभयो,’ पीडित महर्जन भन्छन्,‘मैले १३ करोड दिएर उकास्न खोजेँ तर उहाँहरु मान्नु भएन । उहाँहरुले सेटिङमै लिलामी निकाल्नु भएको रहेछ ।’


गोरखा विकास बैंकले लिलामी गरेको जग्गा छायाँदेवि कम्प्लेक्सले १३ करोड २ लाख रुपैयाँमा सकारेको देखिएको छ । दियोपोस्टलाई प्राप्त प्रमाण अनुसार डिल्लीबजार मालपोत कार्यालयले उक्त जग्गा २०७२ असोज २८ गते छायाँ सेन्टरको नाममा पास गरिदिएको छ ।


‘मेरो जग्गा छायाँदेवि कम्पलेक्सको नाममा पुग्दासम्म मैले एक पैसा पनि पाएको छैन,’ महर्जन भन्छन्,‘अहिले ठमेलमा जग्गाको भाउ आनाको ५ करोड छ । कुल एक अर्बको जग्गा पृथ्वीबहादुर पाण्डे र छायाँदेवी कम्प्लेक्सले सर्लक्कै कब्जा गरेको छ । मैले न्याय पाउन सकेको छैन ।’


छायाँदेविको तिकिडम : १३ करोडमा किनेर ११ करोडमा विक्री !


छायाँदेवि कम्प्लेन्सले उक्त जग्गा आफूले किनेको भन्दा सस्तोमा बेचिएको नाटक गरेको समेत पाइएको छ ।


दियोपोस्टलाई प्राप्त कागजात अनुसार छायाँदेवि कम्प्लेक्सले मिति २०७२ असोज २८ गते १३ करोड २ लाखमा खरिद गरेको जग्गा २ वर्षपछि २०७३ नारायण श्रेष्ठसहित ३ जनाको नाममा विक्री गर्दा भने ११ करोड रुपैयाँ मुल्य उल्लेख गरिएको छ ।


गृहमन्त्रीकै आदेश मानेनन् प्रहरीले


छायाँदेवि कम्प्लेक्सको आर्थिक प्रभावमा विभिन्न निकायले पीडितलाई उल्टै अन्याय गरेको पीडित महर्जनको गुनासो छ । २०७५ साउन ९ गते पीडित महर्जनले गृहमन्त्री राम बहादुर थापाको कार्यकक्षमा उजुरी गर्न पुगेका थिए ।

‘गृहमन्त्री ज्युले हाम्रो फाइल हेर्ने वित्तिकै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिनु भयो । उहाँले हामीलाई निकै सहयोग गर्नु भयो,’ पीडित महर्जन भन्छन्,‘हामी ठगिएको कुरामा उहाँ सहमत हुनुहुन्थ्यो । उहाँकै निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालयले पत्राचार गर्यो ।’


गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई २०७५ साउन १३ गते नै पत्र काटेको छ । पत्रमा उजुरीको छायाँ प्रतिसहित कारबाही अघि बढाउन निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालयले गृहको निर्देशन बमोजिम महानगरीय प्रहरी परिसर काठमाडौंलाई साउन १५ गते नै पत्र काटेको छ । तर, काठमाडौं प्रहरीले जिल्ला प्रशासन कार्यालयको पत्रलाई बेवास्ता गरेको पीडित महर्जनले बताए ।


‘त्यहाँ डिएसपी मोहन थापा हुनुहुन्थ्यो । उहाँले हामीलाई भोली–भोली भन्दै टारिरहनु भयो,’ पीडित महर्जन भन्छन्,‘हामीलाई न्याय दिन्छन्की भनेर डिएसपीलाई भेट्दा उहाँलाई छायाँदेवि कम्प्लेक्सको मान्छेले आर्थिक प्रभावमा पारिसकेको रहेछ ।’