काठमाडौँ, असार २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय दुतावासको पत्रबारे आफुलाई थाहा नभएको बताएका छन् । विहीबार आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विषादी परिक्षणको काम भारतीय दुतावासको पत्रका कारण रोकिएको भन्ने कुरा आफुलाई थाहा नभएको बताए ।
आफुलाई दुतावासले पठाएको पत्रका बारेमा कसैले पनि जानकारी नगराएको ओलीको दावि छ । पत्रको बारेमा अनभिज्ञ भएकै कारण विभिन्न सार्वजनिक कार्यक्रमहरुमा पनि भारतीय पक्षले कुनैपनि पत्र नपठाएको अभिव्यक्ति दिँदै आएको स्वीकार्दै प्रधानमन्त्री ओलीले त्यसबाट आफु लज्जित भएको बताएका छन् । उनले आफुलाई क्षमा गर्न पनि अनुरोध गरेका छन् ।
जनताको भान्सामा विषादी पाक्न हुँदैन भन्ने सरकारको धारणा रहेको बताउँदै प्रधानमन्त्री ओलीले यसै विषयलाई लिएर सरकारविरुद्ध चलिरहेका अभियान सफल हुन नदिने बताए । प्रधानमन्त्री ओलीले आफुलाई पत्रबारे जानकारी नदिने अधिकारीलाई कारवाही गर्ने समेत घोषणा गरेका छन् ।
भारतीय दूतावासले पत्र नै पठाएर नाकामा विषादी परीक्षण गर्ने निर्णयवाट सरकार पछि हट्न लागेको समाचार आएपछि प्रधानमन्त्री ओलीले त्यसको खण्डन गर्दै ‘कहाँ छ पत्र ? कसले पठायो पत्र ?’ भन्दै प्रतिवाद गरेका थिए प्रधानमन्त्री यस्तो बताएको २ दिनपछि दूतावासको पत्र सार्वजनिक भएको थियो । भारतीय दूतावासले परराष्ट्रमन्त्रालय हुँदै उक्त पत्र बाणिज्य मन्त्रालयमा पठाएको थियो ।
प्रधानमन्त्री ओलीले आफुलाई पत्रबारे जानकारी नदिनु भुलचुक हो अथवा नियत हो भन्ने बारेमा पनि छानविन हुने बताएका छन् । प्रधानमन्त्रीलाई गुमराहमा राखेर सरकारलाई नै विवादित बनाउने योजना हुनसक्ने बताउँदै प्रधानमन्त्री ओलीले जानकारी नदिने निकायका अधिकारीलाई कारवाही गरिने बताएका छन् ।