आज साउने सङक्रान्ति अर्थात् लुतो फाल्ने दिन

दियो पोस्ट  

काठमाडौँ, साउन १ । सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने साउन १ गतेलाई कर्कट सङ्क्रान्तिका रुपमा मनाइन्छ ।

माघ १ गते अर्थात् मकर सङ्क्रान्तिका दिन उत्तरतर्फको यात्रा गर्ने सूर्यले आजैदेखि दक्षिणको यात्रा गर्ने भएकाले दक्षिणायन पनि कर्कट सङ्क्रान्तिकै दिनदेखि सुरु हुन्छ । साउन १ गते भएकाले आजको दिनलाई साउने सङ्क्रान्ति पनि भनिन्छ ।

“वर्षभरका सङ्क्रान्तिमध्ये वैशाख, साउन, कात्तिक र माघ गरी चार वटालाई महत्वका साथ लिइन्छ । साउने सङ्क्रान्तिलाई लुतो फाल्ने दिनको रुपमा पनि मनाईदैं आएको किंबदन्ती छ । असार महिनाभरी हिलोमा पसी खेतीपातीको काम सकेपछि शरीरमा हिलोबाट निस्केका घाउखटिरा तथा शरीर चिलाउने समस्याबाट मुक्त हुन आज साँझ लुतो फाल्ने प्रचलन छ ।

परम्पराअनुसार कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीसरो, रातपातेजस्ता औषधीय गुण बोकेका वनस्पतिका साथै कागती, निबुवा, अम्बा, अनार, नसपाती आदि फलफूलसहित कण्डारक नामक राक्षसको पूजा गरी घरको चारैतिर बलिरहेको अगुल्टो फ्याँक्ने गरिए पनि कतिपय ठाउँमा यी सामग्री लोप भइसकेका छन् भने कतिपय ठाउँमा पछिल्लो पुस्ताले ती सामग्री पहिचान गर्न सकेका छैनन् ।

पछिल्ला समयमा लुतो फ्याँक्ने प्रचलन हराउँदै गए पनि केही धार्मिकस्थलमा सामाजिक रुपमै लुतो फ्याँक्ने संस्कृति मनाउने गरिएको छ ।

महिलाहरु साउने सङ्क्रान्तिका दिनदेखि एक महिना सौभाग्यको प्रतीक हरियो चुरा र मेहन्दी लगाउनाका साथै शिवलाई प्रसन्न पार्न सोमबारे व्रत बस्छन् । देवी पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेकीले सोमबारको व्रतको महत्व छ ।

साउनेसङ्क्रान्तिलाई किसानले खेतीपातीको काम सकेपछि मनोरञ्जनका रूपमा आफ्ना चेलीबेटीलाई बोलाई रमाइलोसँग मनाउने चाडका रूपमा पनि लिने गरिन्छ ।

पञ्चाङ्गका अनुसार सूर्यनारायणका दुई अयन, उत्तरायण र दक्षिणायन हुन्छ । माघ महिनादेखि उत्तरायण हुन्छ भने साउनदेखि दक्षिणायन हुन्छ । सूर्यको गति दक्षिणायन सुरु भएपछि नेपालमा राष्ट्रिय सांस्कृतिक पर्व सुरु हुन्छ ।

गाईजात्रा, नागपञ्चमी, जनैपूणिर्मा, श्रावणी मेला, पञ्चदान, कुसे औँसी, हरितालिका, इन्द्रजात्रा, कुमारीयात्रा, अनन्तचतुर्दशी, सोह्रश्राद्ध, बडादसैँ, रुद्रायणीनाच, तिहार, बालाचतुर्दशी, गौरापर्व, छठ, योमह्री पूणिर्मा, स्वस्थानी पूजालगायतका धार्मिक एवम् सांस्कृतिक पर्व दक्षिणायनमा पर्छन् ।