काठमाडौं, साउन ६ । गुठीअन्तर्गतको जग्गा बिक्री गरेर भ्रष्टाचार गर्ने विभिन्न गुठीका मठाधीशहरूको कर्तुत एकपछि अर्को गर्दै खुल्न थालेका छन् । देशका विभिन्न भागमा रहेका गुठी जग्गाको संरक्षण गर्ने जिम्मेवारीमा रहेका मठाधीशहरूले नै धमाधम जग्गा बिक्री गर्दै अनियमितता गर्न थालेपछि उनीहरू धमाधम कारबाहीमा पर्दै जान थालेका छन् ।
मुलुकका विभिन्न जिल्लामा बिक्री गरिएका गुठीका हजारौ बिघा जमिन रोक्का गरिएको छ । रूपन्देहीको मटिहानी गुठीकोे जग्गा व्यक्तिलाई बिक्री गर्ने एक मठाधीश कारबाहीमा परेसँगै जग्गा बिक्री गरी खाने अन्य मठाधीशहरूको समेत खोजतलास थालिएको हो ।
गुठीअन्तर्गतको जग्गा व्यक्तिलाई बेचेको आरोपमा गुठी संस्थानले मटिहानी गुठीका मठाधीश जगन्नाथदास वैष्णवलाई निलम्बन गरी कारवाही प्रक्रिया अगाडि बढाएकोे छ । वैष्णवमाथि कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ । अख्तियारले समेत गुठीको जग्गा बिक्री गर्नेहरू माथि छानबिन थाल्ने जानकारी दिएको छ ।
राजधानी दैनिकले मठाधीश वैष्णवले गुठीअन्तर्गत रूपन्देहीमा रहेको जग्गा बिक्रीवितरण गरेको खुलासा पहिलोपटक गरेको थियो ।
२३ वैशाख २०७६ मा राजधानी दैनिकमा प्रकाशित समाचारलाई आधार मानेर छानबिन गरी वैष्णवमाथि कारबाही गरिएको गुठी संस्थानले जनाएको छ । मठाधीश वैष्णवले गुठीअन्तर्गतको झन्डै ३ करोड मूल्य बराबरको ३ कठ्ठा ५ धुर जग्गा दुई व्यक्तिलाई बेचेका थिए । संस्थानले छानविन प्रभावित हुने भन्दै मठाधीश वैष्णवलाई निलम्बन गरी कारबाहीको प्रक्रिया अगाडि बढाएको बताएको छ ।
संस्थानका प्रवक्ता एवं उपप्रशासक सरोज थपलियाले गुठीअन्तर्गत रहेको सो जग्गा बिक्री भएको पाइएपछि कारबाही थालिएको जानकारी दिए । विभिन्न जिल्लास्थित जिल्ला प्रशासन कार्यालयहरूले पनि बिक्री भएको जग्गा रोक्का गर्न सम्बन्धित जिल्लाका मालपोत कार्यालयलाई सर्कुलर गरेको छ ।
गुठीअन्तर्गत रहेका अन्य स्थानका जग्गाको अवस्थाका बारेमा समेत छानबिन थालिएको उपप्रशासक थपलियाले जानकारी दिए ।
थपलियाले भने, ‘हामीले आवश्यक स्पष्टीकरण सोध्यौं । छानबिनलाई प्रभावित पर्न सक्ने भएकाले निलम्बन गरी कारबाही अगाडि बढाइएको छ ।’ स्पष्टीकरणका क्रममा वैष्णवले आफूले गुठीको जग्गा बिक्री नगरेको र स्वआर्जनबाट किनिएको जग्गा भएकाले बिक्री गरेको भन्दै लिखित स्पष्टीकरण संस्थानमा पेस गरेका छन् । वैष्णवको दाबी झुटो देखिएपछि संस्थानले काराबाहीको प्रक्रिया सुरु गरेको हो ।
–महोत्तरी, सर्लाही र धनुषा, रूपन्देहीमा रहेका मठको हजारौ विगा जग्गा रोक्का
–निलम्बन गरी कारबाही थालियो
–संलग्न मालपोतका कर्मचारीमाथि छानबिन सुरु
यसरी बेचिएको थियो जग्गा
जगन्नाथदास वैष्णवले गुठीअन्तर्गतको झन्डै ३ करोड मूल्य बराबरको ३ कठ्ठा ५ धुर जग्गा उदयमान पाण्डे र सरोज पाण्डेलाई बिक्री गरेका थिए । राजधानीलाई प्राप्त लालपुर्जामा जग्गाको सरकारी मूल्य ६१ लाख रुपैयाँ उल्लेख गरिएको छ ।
गुठीअन्तर्गतको जग्गा मठाधीशबाटै बिक्री भएको पाइएपछि स्थानीय प्रशासनले छानबिन सुरु गरी मालपोत र गुठी संस्थानलाई जग्गा रोक्का राख्न भन्दै पत्र पठाएको थियो ।
त्यस्ता जग्गा नामसारी गर्न वा बिक्रीवितरण गर्नेसम्बन्धी कुनै कानुनी व्यवस्था छैन । स्रोतले दिएको जानकारीअनुसार २०३५ सालमा तत्कालीन गाउँ ब्लक (सिंगो गाउँ नै एकै लालपुर्जामा रहने तराईमा मात्रै रहने गरेको व्यवस्था)अनुसार सो जग्गा २०७० सालमा मठाधीशको नाममा गएको देखिन आएकोे छ ।
तत्कालीन समयमा गाउँ ब्लकअन्तर्गत रहेका जग्गा सम्बन्धित गाउँ विकास समितिले चार किल्ला तोकी व्यक्तिको भएको घोषणा गरेको अवस्थामा व्यक्तिको नाममा हुन सक्ने प्रावधान थियो ।
सोही प्रावधानको गलत व्याख्या गरी मठाधीशले मालपोतका कर्मचारी तथा विभिन्न पक्षलाई प्रभावमा पारी आफ्नो नाममा गराएको हुन सक्ने दाबी स्रोतको छ । यस प्रकरणमा मालपोत कार्यालयका कर्मचारीसमेतलाई कारबाहीको दायरामा ल्याउन सकिने देखिएको छ ।
राजधानी दैनिकबाट