काठमाडौं, साउन ९ । सोमबार रातिको पहिरोका कारण आफ्नो घर छोड्न बाध्य पहिरो विस्तापित परिवारको बिचल्ली भएको छ। जिल्लाको सत्यवती गाउँपालिका–३ को ठूलोलुम्पेक सिङ्दीमा पहिरोका कारण ५५ घर परिवार विस्थापित भएका हुन्। उनीहरू आफ्नो घरमा बस्न नसकेर छिमेकी तथा स्थानीय विद्यालयमा शरण लिन पुगेका छन्। पहिरो विस्थापित घरपरिवार ठूलोलुम्पेकस्थित धर्मपुर माविमा बसेका छन्। उनीहरूलाई मंगलबार बिहानदेखि नै गाउँपालिकाले संयुक्त मेस चलाएर खानाको व्यवस्था गरेको छ।
स्थानीय विद्यालयका शिक्षक दुर्गा तरामुका अनुसार पहिरोका कारण सडक अवरुद्ध भएपछि विस्थापित परिवारको बिचल्ली भएको हो। ‘गाउँमा जताजतै पहिरो गएको छ,’ उनले भने, ‘एकछिनलाई अस्थायी बासका लागि विद्यालयमा व्यवस्थापन गरेका छौं, करिब २ सयभन्दा बढी जनालाई खाना बासको व्यवस्थापन गर्न निकै अप्ठ्यारो परेको छ।’ सोमबार राति गाउँमा पहिरोले ठूलो मानवीय तथा भौतिक क्षति पु-याएपछि ५० भन्दा बढी घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको उनले बताए। ठूलोलुम्पेकको सिङ्दी गाउँ नै पहिरोको उच्च जोखिममा परेको छ।
लुम्पेककै अन्य बस्ती पनि पहिरोको खतरामा रहेकाले अन्य केही घरपरिवारलाई पनि धर्मपुर मावि तथा अस्लेवाका विभिन्न स्थानमा स्थान्तरण गरिएको वडाध्यक्ष रुकबहादुर रानाले बताए। पहिरोले सिङ्दीको सिद्ध आधारभूत विद्यालयलगायत केही घर, गोठ सबै बगाएको उनले जनाए। ‘भिरालो गाउँमा धेरै बाक्लो बस्ती छ,’ अध्यक्ष रानाले भने, ‘पानी परिरहेकाले अहिले पनि बस्तीहरू पहिरोको जोखिममै छन्। मानिसहरू घरमा जान डराइरहेकाले विद्यालयहरूमा व्यवस्थापनको काम भइरहेको छ।’ उनका अनुसार पानी परिरहेको तथा माथिल्लो भागबाट पहिरो झर्ने क्रम नरोकिएकाले उद्धारमा समेत कठिनाइ भएको बताए। ८५ घरहरूमध्ये एक घर बगाए पनि ५५ घर पहिरोको उच्च जोखिममा रहेको उनले बताए।
मंगलबार राति सोही गाउँमा घरमा सुतेका माया विक र छोरा बबी विक अहिलेसम्म बेपत्ता छन्। उनीहरूको खोजीकार्य जारी छ। ठूलोलुम्पेकमा एक घर पहिरोले बगाउँदा दुईजनाको मृत्यु भएको छ। अन्य दुई घाइते छन्। सत्यवती–४ का १० वर्षीय करिश्मा तरामु र १३ वर्षीय धनी तरामु घाइते छन्। उनीहरुको ठूलोलुम्पेकस्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। उनीहरूलाई हेलिकोप्टरबाट उपचारका लागि काठमाडौ लैजाने तयारी भए पनि खराब मौसमका कारण सम्भव हुन सकेको छैन। यस्तै सत्यवती–४ लिम्घामा सात वर्षीय तारा विक र डेढ वर्षीय सुमन विक अझै बेपत्ता छन्। पहिरोमा पुरिएर अहिलेसम्म दुई स्थानमा नौ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
पहिरो प्रभावित क्षेत्र सत्यवती गाउँपालिकाका सडकहरू अवरुद्ध हुँदा उद्धार र राहत वितरणमा समस्या थपिँदै गएको छ। पहिरोले सबैभन्दा बढी मानवीय क्षति भएको लिम्घा पुग्ने सडक अवरुद्ध छ। मंगलबार उद्धारमा गएका सुरक्षाकर्मी, सरकारी तथा गैरसरकारी संघ/संस्था र पत्रकार साढे दुई घण्टाको पैदलयात्रापछि घटनास्थल पुगेका थिए। राहत बोकेर हिँडेका गाडीहरू शाहाघाटमै दुई दिनदेखि रोकिएका छन्। सडक अवरुद्ध भएपछि झन्डै दुई सयजनालाई स्थानीय स्तरमा व्यवस्थापन गर्न निकै मुस्किल परेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताए। उनले गाडी बजारबाट आउने सम्भावना नभएकाले गाउँको स्टक दाल, चामल, चाउचाउ, बिस्कुटलगायत सामग्री सकिएकाले थप व्यावस्थापन चुनौतीपूर्ण भएको बताए।
त्यस्तै ठूलोलुम्पेक जाने सबै सडक अवरुद्ध छन्। विभिन्न स्थानबाट आएको राहत सामग्रीहरु रुद्रवेणीमा रोकिएको वडा १ का वडाध्यक्ष भीमलाल पाण्डेयले बताए। पहिरो प्रभावित क्षेत्रमा सडक अवरुद्ध भएपछि उद्धार राहतमा समस्या देखिएकाले हेलिकोप्टर परिचालन गर्ने योजना बनाएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए। ‘सडकको कुनै विकल्प भएन, राहत बाटोमै रोकिएपछि समस्या देखिएको छ,’ उनले भने, ‘मन्त्रीहरूसँग समन्वय गरेर हेलिकोप्टरमार्फत राहत पु¥याउँछौं।’ उनले जोखिममा परेका परिवारलाई सुरक्षित स्थानमा सारिएको र अब खानपानमा समस्या हुन नदिन सचेत रहेको बताए।
थप तीन शव भेटिए
गुल्मी – मंगलबार राति सत्यवती गाउँपालिकाको दुई स्थानमा गएको पहिरोमा परेर ज्यान गुमाउनेको संख्या १२ पुगेको छ। पहिरोमा बेपत्ता भएकामध्ये तीनजनाको शव बुधबार साँझ फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताए। वडा ३ को ठूलोलुम्पेकको पहिरोमा बेपत्ता भएका माया विक र उनका छोरा बबी विकको शव फेला परेको हो भने वडा ४ लिम्घामा डेढ वर्षीय बालक सञ्जु विकको शव फेला परेको प्रहरीले जनाएको छ।
घटनास्थल ठूलोलुम्पेकमा उद्धारका लागि खटिएका सशस्त्र प्रहरी नायब उपरीक्षक दिनेश रायमाझीका अनुसार माया विक र बबी विकको शव घरभन्दा ५० मिटर भेटिएको हो। मंगलबार बिहानैदेखि उद्धार र खोजतलास गरिए पनि साँझमा मात्र शव फेला परेको उनले बताए। ‘पानी परिरहेकाले उद्धारमा निकै कठिनाइ भए पनि हामी काममा लागिरहेका छौं,’ रायमाझीले भने। लिम्घामा मंगलबार निर्मला विक, पम्फा विक, अञ्जली विक, हिमान्सु विक, छली विक र सिवानी विक तथा ठूलोलुम्पेकमा तीलकुमारी र छोरा दर्शन तरामु मगर तथा दुर्गाबहादुर सिँजालीको शव फेला परेको थियो। लिम्घाका सात वर्षीय तारा विक अझै बेपत्ता छन्।
राहत लिएर परराष्ट्रमन्त्री ठूलोलुम्पेकमा
जिल्लाको सत्यवती गाउँपालिकाको पहिरो प्रभावित क्षेत्रमा सडक अवरुद्ध भएपछि हेलीकोप्टरमार्फत राहत लिएर परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली ठूलोलुम्पेक पुगेका छन्। मन्त्री ज्ञवाली बुधबार साँझ हेलिकोप्टरमार्फत त्यहाँ पुगेका हुन्। उनले २० क्विन्टल चामल, दुई क्विन्टल दाल र एक क्विन्टल चिउरा लिएर आएका छन्। मन्त्री ज्ञवाली मंगलबार पनि लिम्घामा राहत लिएर गएका थिए। सडक अवरुद्ध हँुदा राहत तथा घाइतेको उपचारमा समस्या भएको जानकारी आफूलाई भए पनि खराब मौसमका बीच बुधबार बिहानै पहिरो प्रभावित क्षेत्रमा आउन नसकेको उनले बताए। ‘म बुधबार बिहानै राहत लिएर आउने र घाइतेलाई उपचारका लागि काठमाडौं लैजाने तयारीमा थिएँ,’ उनले भने, ‘तर पानीसँगै मौसम खराब भएपछि हेलिकोप्टर उड्न सकेन।’
प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले मन्त्रीहरूसँग सल्लाह गरेर विपत् व्यावस्थापन महाशाखामार्फत हेलिकोप्टरले पोखराबाट राहत लिएर आएको बताए। सडकको कुनै विकल्प नभएपछि हेलिकोप्टरबाट भए पनि राहत ल्याएको पौडेलले बताए। पहिरो प्रभावित क्षेत्र सत्यवती गाउँपालिकाका सडकहरू अवरुद्ध हुँदा राहत वितरणमा समस्या देखिएको छ। नागरिक दैनिकबाट