धरहरा बनाउने ठेकेदार कम्पनि रमण कन्स्ट्रक्सनको लापरबाहीले धरहरा अलपत्र !

दियो पोस्ट  

काठमाडौं । ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको धरहरा पुर्नर्निमाणको काम सुस्त गतिमा अघि बढेपछि ठेकेदार कम्पनी रमण कन्स्ट्रक्सनमाथि आशंका उब्जिएको छ । अन्य ठेक्का झै धरहरा पुर्नर्निमाणको काम पनि ठेकेदार कम्पनीले समय सिमाभित्र सम्पन्न गर्न नसक्ने आशंका उब्जिएको हो । राष्ट्रिय पुर्नर्निमाण प्राधिकरणसँग भएको सम्झौता अनुसार आयोजना सुरु भएको ६ महिनाभित्र धरहराको माथिल्लो बेसमेन्ट र अण्डरग्राउण्ड पार्किङ निर्माण गरिसक्नुपर्ने थियो । त्यस्तै, धरहराको दशौं तलासम्मको स्ट्रक्चरल काम ९ महिनाभित्र सक्नुपर्ने र बाँकी काम सुरु भएको १२ महिनाभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
तर, काम सुरु भएको एक बर्ष हुनै लाग्यो । धरहराको दुई तला अण्डरग्राउण्ड बेसमेन्टमध्ये एक तलाको काम पनि सकिएको छैन । यसरी सुस्त गतिमा काम अघि बढेको खण्डमा ठेकेदार कम्पनीले धरहरा पुर्नर्निमाणको काम ७ बर्षमा पनि सम्पन्न गर्न नसक्ने प्राधिकरणकै कर्मचारीको दावी छ । जबकी काम गर्न ठेकेदार कम्पनीले ढिला गरेको खण्डमा कारबाही र छिटो गरेको खण्डमा सम्मान गर्न सकिने स्पष्ट प्रावधान छ । विहिबारको युनाइटेड पोस्ट साप्ताहिकमा खबर छ ।

मानन्धर दुधको साक्षी बिरालो

ठेकेदार कम्पनीले गोश्वारा हुलाक र टक्सार विभागले ठाउँ खाली नगरेकै कारण निर्माण प्रक्रियामा ढिलाई भइरहेको बताउँदै आएको छ । तर, हुलाकका महानिर्देशक वेदप्रसाद भण्डारीले हुलाकको कार्यालय डिल्लीबजारमा सार्ने अन्तिम तयारी भइरहेको बताए । उनले भने,‘अहिले डिल्लीबजार चारखालस्थित नवर्निमित भवनमा कार्यालय सार्नका लागि पार्टेशनलगायतका कामहरु भइरहेका छन् । यो काम भदौसम्म सकिन्छ । असोजबाट हामी त्यहाँ जान्छौं ।’


परामर्शदाता राजुमान मानन्धरले पुर्नर्निमाणको काम ढिलाई भइरहेको स्वीकार गरे । तर उनले विभिन्न कारण निर्माण ब्यवसायीलाई साईट दिन नसकेकाले निर्माणमा ढिलाई भएको बताए । उनले भने,‘यो समस्या समाधान भएपछि काम द्रुत गतिमा अघि बढ्छ ।’


मानन्धर यसअघि पुर्नर्निमाण प्राधिकरणका पूर्वसहसचिव एवम् सम्पदा विभाग प्रमुख थिए । जो अहिले ठेकेदार कम्पनीकै ‘परामर्शदाता’ का रुपमा काम गरिरहेका छन् । प्राधिकरणमा हुँदा उक्त ठेकेदार कम्पनीको डिजाइन हेर्नेदेखि प्रस्ताव पारित गराउनेसम्मको उनको भूमिका थियो । तिनै सहसचिव अवकाशपछि ठेकेदार कम्पनीकै परामर्शदाता भएका छन् । कुन नैतिकताले उनी अहिले उक्त काम गरिरहेका छन् ? गम्भिर प्रश्न उब्जेको छ ।

अर्वाैंको काम लिने तर, सम्पन्न नगर्ने रमण कन्स्ट्रक्सन

सरकारले नारायणीको पुल बनाउने ठेक्का पाएको रमण कन्स्ट्रक्सनसँगको सम्झौंता तोडिसकेको छ । कारण थियो, उसले काम समयमा गर्न नसकेको मात्र होइन, पटक–पटक म्याद थप हुँदा पनि काम गरेन । ठेक्का तोडेपछि स्वतः ठेकेदार र कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढ्छ । तर, कालो सूचीमा पर्नबाट बच्न ठेकेदार बलराम महतो अहिले अदालतको शरणमा पुगेका छन् । हाल उक्त मुद्दा विचाराधिन अवस्थामा रहेका कारण उक्त कम्पनीलाई कालो सूचीमा राख्न नसकिएको सडक विभागको भनाई छ ।

त्यसो त, अर्वौंको काम लिएर बषौंसम्म होल्डमा राख्ने तथा काम सञ्चालनबापत पाइने पेश्की रकम हाता पारेपछि काम नगर्ने यो ठेकेदार कम्पनीको पुरानै रोग हो । कम्पनीले दुई बर्षमा सक्नुपर्ने बहुचर्चित धाप ड्याम्प ६ बर्ष हुनै लाग्दा आधा काम पनि सकेको छैन् । उक्त काम दुई बर्षभित्र सक्नेगरी सम्झौंता भएको थियो । सम्झौता अवधि दुईपटक नविकरण भइसक्यो । लगभग ३ बर्षको म्याद थपियो । तर, अहिलेसम्म काम ५० प्रतिशत पनि नसकिएको आयोजनाका कर्मचारीको भनाई छ ।
एडिबी बैंकको ऋण सहयोगमा राजधानीलगायत मुुलुकको विभिन्न ठाउँमा उक्त ठेकेदार कम्पनीले गरिरहेको पानी तथा ढलको काम समेत भद्रोगोल छ । त्यस्तै शहरी विकास अन्तर्गत रानी–विराटनगरको ६ लेनको सडक विस्तारको काम पनि अलपत्र परेको खबर यसअघि नै सार्वजनिक भइसकेको छ । काम लिने तर कुनै पनि काम समयमा नगर्ने ठेकेदार कम्पनीलाई फेरि पनि भेरी–बबई डाइभर्सनको दोस्रो प्याकेजको काम सेटिङमा दिने तयारी गरिएको छ । ठेकेदार महतोले आफ्ना छोरामार्फत विभिन्न रेष्टुरामा पनि लगानी सुरु गरेका छन् ।

बालुवाटारस्थित एक रेष्टुरेन्टमा पनि उनको लगानी रहेको छ । त्यसैगरी, ठेकेदार महतोले इन्काउण्टरमा मारिएका गुण्डा नाइके कुमार श्रेष्ठ उर्फ घैंटेको चावहिल क्षेत्रका सहयोगी प्रतिक श्रेष्ठ ‘हवल्दार’ मार्फत क्लब डेजाभुमा पनि लगानी गरेका छन् । जुन लगानी अहिले उनका छोरा पवन महतोले फिर्ता मागिरहेको बुझिएको छ । उनको घरमा कालो रंगको प्राडो, ल्याण्ड क्रुजर भिएट, रेन्ज रोभर, ल्याण्ड रोभर (डिस्कभरी), टोयोटा हाइलक्सलगायतका करोडौं पर्ने गाडी रहेको छ ।