पूर्वएमाले ब्युँताउने प्रधानमन्त्रीकै ‘नयाँ राजनीतिक कार्ड’ : महेश बस्नेत ‘डिजाइनर’ !

पूर्वएमाले ब्युँताउने प्रधानमन्त्रीकै ‘नयाँ राजनीतिक कार्ड’ : महेश बस्नेत ‘डिजाइनर’ !

तस्विरमा नेकपा एमालेकी उपाध्यक्ष खड्का, प्रधानमन्त्री ओली र सांसद बस्नेत

काठमाडौँ, १७ असार । जब जब सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र विवादको उत्कर्ष देखिन्छ । त्यतिबेला नयाँ राजनीतिक कार्डको परिक्षण पनि हुनेगर्छ ।

राजनीतिक दलसम्बन्धी विवादास्पद अध्यादेश जारी गर्दा सांसद अपहरण प्रकरण चर्चाकै बीच सेलायो । पछिल्लो समयको विवादकाबीच भने निर्वाचन आयोगमा निवेदन परेको ‘नेकपा एमाले’ व्युँताउने रहस्यमयी घटनाले बजार तताएको छ ।

दल दर्ताका लागि असार १४ गते निर्वाचन आयोगमा निवेदन परेको थियो ।
मंगलबार बसेको नेकपाको स्थायी समिति बैठकमा यहि दल दर्ताको मुद्दाले नेताहरुबीच रस्साकस्सी पर्यो ।

निर्वाचन आयोगमा परेको निवेदन अनुसार सन्ध्या तिवारी एमाले पार्टीका अध्यक्ष रहेकी छिन् । उनी बिराटनगरका हुन् ।

केपी ओली पक्षधर नेता कार्यकर्ताले सन्ध्यालाई पूर्व माओवादी कार्यकर्ताको बिल्ला भिराएका थिए । तर, उनी समेत बस्नेत समुहकै पूर्व युवा संघकै कार्यकर्ता रहेको खुलेको छ ।
नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बामदेव गौतमले भने ओलीकै योजनामा पार्टी दर्ता भएको बैठकमै बताएका थिए ।

उपाध्यक्ष गौतमले त पार्टी दर्ताका लागि ओलीले निर्देशन दिएको प्रमाण नै आफुसँग सुरक्षित रहेको बताएका थिए ।


उपाध्यक्ष गौतमको भनाईलाई दर्ता भएको नेकपा एमालेकी उपाध्यक्षको अभिव्यक्तिले पुष्टि नै गरिदिएको छ ।

गत असार १२ गते निर्वाचन आयोगमा दर्ता भएको नेकपा एमालेकी उपाध्यक्ष हुन् भगवती खड्का । रामेछाप घर भएकी खड्का पेशाले रेश्लिङ खेलाडी हुन् । उनले सामाजिक सञ्जालमा ओली पक्षमा लेखेको स्ट्याटस हेर्ने हो भने दल दर्ता प्रधानमन्त्रीकै ग्राण्ड डिजाइनमा भएको भन्ने वामदेव गौतमको आरोपलाई पुष्टि गर्छ ।


‘कुर्सीका लागि होइन देशको लागि ओली चाहिन्छ । सत्ताको लागि होइन देश बचाउन ओली चाहिन्छ । पदको लागि होइन देश विकासको लागि ओली चाहिन्छ,’ ओलीको गुणगान गाउँदै भगवतीले २८ जुनमा लेखेको स्ट्याटसमा भनिएको छ,‘भारतीय विस्तारवादलाई तह लगाउन ओली चाहिन्छ । देशको सान मान र इज्जत हाम्रो ‘बा’ केपी ओली जिन्दावाद ।’
प्रधानमन्त्री ओलीलाई उनले ‘बा’ भनेर सम्बोधन गरेकी छिन् । यसले उनको प्रधानमन्त्रीसँगको निकटतालाई दर्शाउँछ ।
उक्त पार्टीमा अर्की रेश्लर अस्मिता सुनार ‘जुरेली’ समेत समलग्न छिन् । उनी समेत पूर्व एमाले निकट युवा संघकै कार्यकर्ता रहेको बताइन्छ । महेश बस्नेत निकट रहेकी जुरेली समेत उक्त पार्टीमा हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । त्यस्तै भगवती र जुरेली नाम गरेको फेसबुक नियाल्ने हो भने उनीहरुका अधिकांश तस्विर केपी ओली र महेश बस्नेतसँगै देखिन्छ ।


त्यस्तै अर्का वागमति प्रदेशका सचिव जयराम राउत पनि प्रधानमन्त्री ओली र बस्नेतकै कार्यकर्ता हुन् । विश्वस्त सुत्रका अनुसार प्रधानमन्त्री ओलीकै निर्देशनमा भक्तपुरका सांसद बस्नेतले पूर्व एमाले दर्ताको प्रक्रियामा समावेश गराएका थिए ।

‘निर्वाचन आयुक्त दिनेश थपलिया पनि ओलीकै कारण नियुक्ती पाएका व्यक्ति हुन्,’ पूर्व एमालेकी एक नेता भन्छन्,‘उनीहरुले यहि पार्टीलाई व्युँताउने नाममा फेरी अर्को षडयन्त्र गर्न लागेका हुन् । कति सम्मका आपराधिक मान्छे हुन् भन्ने हामीलाई थाहा छ । उनीहरु सत्ता जोगाउन जस्तो सुकै षडयन्त्र पनि गर्छन् ।’


निर्वाचन आयोगमा दर्ताका लागि निवेदन परेको नेकपा एमालेको अधिकांश केन्द्रीय सदस्य महेश बस्नेत निकटकै कार्यकर्ता छन् ।


त्यस्तै भक्तपुरमा महेश बस्नेतसँगै रहेर ठेक्का पट्टामा समलग्न राजेश खड्काले भने श्रीमतीलाई अघि सारेका छन् । उनकी श्रीमती विनिता कार्की प्रस्तावित नेकपा एमालेको केन्द्रीय सदस्य हुन् ।

‘अधिकांश पदाधिकारी र सदस्यहरु महेश बस्नेत निकट हुनु कुनै आकष्मिक घटना होइन । यो एक सुनियोजित षडयन्त्र हो । बालुवटारबाटै यो सबै भइरहेको छ । यो ओली कमरेडको राजनीतिक कार्ड हो । महेश बस्नेत त्यसका सिपाही ‘डिजाइनर’ हुन्’ अर्का एक नेतृको विश्लेषण छ,‘अध्यादेश जारी भएदेखि सांसद अपहरण हुँदै नयाँ दल दर्तासम्म आखिर सत्ता टिकाउने खेल मात्रै हो । भ्रष्टाचारले सगरमाथा चुमेको छ । अब कति घिनलाग्दा खेलहरु नेपाली राजनीतिमा देखिने हुन् हेर्दै जानुहोला ।’

Trending News