काठमाडौं, २६ असार । राजश्व अनुसन्धान विभागले बुधबार ७७ करोड ४ लाख बिगो दाबीसहित ५ वटा फर्म र व्यक्ति विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गर्यो ।
कुल ७७ करोड विगो मध्ये आधा रकमभन्दा बढी अर्थात ४३ करोड १८ लाख रुपैयाँ भ्याट छली सहित चोरी पैठारीको मुद्दा भने एक मोबाइल तस्कर विरुद्ध परेको छ ।
नेपालमा आइफोन लगायत विभिन्न इलेक्ट्रोनिक्स सामग्री आयात गर्दै आएका मयुर मालाकार र उनका कर्मचारी निकेश शाक्यसहित २ जना विरुद्ध राजश्व अनुसन्धान विभागले बुधबार ४३ करोड १८ लाख ९५ हजार ४ सय ३१ रुपैयाँ विगो सहित कैद सजाय मागदाबी लिइ उच्च अदालत पाटनमा मुद्दा दायर रेको हो ।
राजधानीको दरबारमार्ग स्थित राइजिङ मलमा रहेको म्याक्स स्टोर मार्फत मयुरले अवैध मोबाइल तथा इलेक्ट्रोनिक्स सामग्री आयातको नाममा तस्करी गर्दै आएका थिए । उनले आइफोन, स्मार्ट वाच लगायत दर्जनौँ इलेक्ट्रोनिक्स सामग्री तस्करी गर्ने गरेको विभागका एक कर्मचारीले बताए ।
राजधानी काठमाडौंको धापासीमा रहेको ग्राण्डी अपार्टमेन्टमा बस्ने मालाकारले २०६६ सालदेखि नै यस्ता सामग्री भन्सार चोरी पैठारी गर्दै आएका थिए । विभागका अनुसार उनको अवैधानिक कारोबार मात्रै होइन व्यक्तिगत बैंक खातामा ठूलो कारोबार भएको समेत देखिन्छ ।
मालाकारले निकेश शाक्य नाम गरेका व्यक्तिको सहयोगमा यस्तो धन्दा गरेको विभागको निष्कर्ष छ । स्रोतका अनुसार मोबाइलको भन्सार चोरी पैठारीमा समलग्न मालाकार हङकङमा बसेर यस्ता धन्दा गर्ने गर्छन् ।
मयुरको दरबारमार्गमै एक रेष्टुरेन्टमा समेत लगानी रहेको विभाग स्रोतको भनाई छ ।