काठमाडौँ, असार २६ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक सवारी साधन नचलाउने निर्णय गरेका छन् । शुक्रबार बसेको महासंघको केन्द्रिय कमिटी बैठकबाट तत्कालका लागि सार्वजनिक सवारी साधन नखुलाउने निर्णय गरेको हो ।
लकडाउनको कारण व्यवसायीलाई पर्न गएको क्षतिको कुनै पनि आँकलन नगरि सरकारले सिधा सार्वजनिक सवारी साधन खुलाउने निर्णय गरेको र त्यस्तो निर्णय आफुहरुले स्वीकार नगर्ने महासंघले जनाएको छ । महासंघले सार्वजनिक सवारी साधन चलाउनको निम्ति सरकारले आफुहरुको माग पुरा गर्नुपर्ने निष्कर्श निकालेको छ ।
महासंघले सबै व्यवसायीको बैङ्कको ऋण किस्ताको पुनर्तालिकीकरण, ब्याजदरमा सहुलियत, पुनर्कर्जाको व्यवस्थालगायतको माग राखेका छन् । त्यस्तै महासंघले चालक तथा सहचालकको स्वास्थ्य सुरक्षाका लागि बिमाको ग्यारेन्टी गर्नुपर्ने, हाल गाडीको सबैजसो कागजपत्रको म्याद सकिएको कारण त्यसको नवीकरणबारे पनि सरकारले नीति ल्याउनुपर्ने माग गरेको छ।
सरकारले बिहीबार मात्रै जिल्लाभित्र र काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीलाई खुला गर्ने निर्णय गरेको थियो । तर व्यवसायीले सरकारसँग विभिन्न शर्तहरू राख्दै पूरा नभएसम्म सवारी चलाउन नसकिने निर्णय गरेको हो ।