नक्कली सुन र पेस्तोल बरामद हुँदा गाडी कसरी उम्कियो ? छानविन गर्न समिति गठन

दियो पोस्ट  

काठमाडौँ, साउन १४ । राजधानीको कमलादीबाट बरामद भएको १५ किलो सुन भनिएको धातुमा १४ किलो ५ सय ग्राम चाँदी मात्रै रहेको पाइयो । तस्करहरुले साढे चौध किलो चाँदीलाई नक्कली सुन बनाउन आधा किलो सुनको जलप लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार कमलादी क्षेत्रमा सुनको झोला बोकेर कुदिरहेको बा ६ च ५५१९ नम्बरको स्कार्पियो गाडीलाई पछ्याउने क्रममा तस्करहरुले झोला फ्याँकेर फरार भएका हुन् । प्रहरीले उक्त स्कारपियो नियन्त्रणमा लिन सक्ने अवस्था हुँदा हुँदै किन त्यसै उम्किन दियो त भन्ने प्रश्न उठ्न थालेको छ ।

झोलाबाट नक्कली सुन र पेस्तोल बरामद भइसक्दा प्रहरीले उक्त फरार गाडीलाई सजिलै समात्न सक्थ्यो तर त्यस्तो भएन । गाडी फरार भएकै भएपनी काठमाडौँका चोक–चोकमा प्रहरी र ट्राफिक खटिन्छन् । सञ्चार सेटबाट खबर गरेर एरिया सिल गरेर पनि बा ६ च ५५१९ नम्बरको स्कार्पियो पक्राउ गर्न सकिने अवस्था रहेपनि त्यसो हुन नसकेपछि यो प्रकरणमा प्रहरीमाथि प्रश्न खडा भएको थियो । यसबारेमा प्रश्न उठेपछि प्रहरीले सोबारेमा छानविन गर्न समिति नै बनाएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

छानबिन समितिमा महानगरीय प्रहरी कार्यालयमा कार्यरत एसएसपी किरण बज्राचार्य, एसपी सामेन्द्र सिंह राठौर, अपराध महाशाखाका डीएसपी दुर्गा दाहाल र परिसरका राजकुमार केसी रहेका छन् ।

प्रहरी चेकजाँचका क्रममा सामान बरामद भएपनि गाडी कसरी फुत्किन सफल भयो भन्नेबारे छानबिन गरेर यथार्थ विवरण बाहिर ल्याउन समितिलाई कार्यादेश दिइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले जानकारी दिएका छन् ।

सिफारिस