काठमाडौं, २७ असार । कोठा खोज्ने क्रममा घरबेटीबाट जातिय विभेदको शिकार भएकी सञ्चारकर्मी तथा राजनीतिक अभियान्ता रुपा सुनार विरुद्ध उजुरी दर्ता भएको छ ।
महानगरिय प्रहरी बृत सिंहदरबारमा उजुरी दर्ता भएको भन्दै सञ्चार माध्यममा खबर आएपछि उनी सम्बद्ध संगठनले ध्यानाकर्षण भएको जनाएको छ ।
‘आज पिडक सरस्वती श्रेष्ठ प्रधानले महानगरीय प्रहरी वृत्त सिंहदरबारमा उल्टै रुपा सुनार विरुद्ध नै प्रतिलिपि अधिकार उल्लंघन सम्बन्धी कसुर र झुठो अफवाह फैलाएको सम्बन्धी कसुरमा जाहेरी दिएको कुरा विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि हामी राज्यको गतिविधिप्रति सशंकित भएका छौँ,’ मोर्चाका संयोजक महाविर विश्वकर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘रुपा सुनारमाथी नै जाहेरी पर्नुले यो विषयलाई थप अन्यायको बाटोतिर लगेको छ । पिडित आफै न्याय मागिरहेको अवस्थामा उल्टै पिडितकै विरुद्ध जाहेरी लिन राज्य कसरी तयार भयो ? देशको संविधान र कानुनमाथी आशा राखेर न्यायिक प्रक्रियामा अगाडी बढेको पिडितलाई राज्यबाटै हुने यस्तो व्यवहारले यो राज्य जातीय विभेदको घटनामा पिडितलाई झनै पिडा दिन कुन हदसम्म तयार हुने रहेछ भन्ने प्रमाणित भएको छ ।’
गत असार १ गते कोठा खोज्ने क्रममा बबहरमहलकी घरबेटी सरस्वति प्रधानले छुवाछुत गरेको भन्दै उनले प्रहरीमा उजुरी दिएकी थिइन् । उनको उजुरीका आधारमा प्रधानलाई प्रहरीले पक्राउ गरेको थियो । तर, उनीमाथि मुद्दा अनुसन्धान अभियोजन नहुँदै शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठले हिरासतबाटै अभियुक्तलाई छुटाएर ल्याएका थिए । श्रेष्ठले मन्त्रीकै गाडीमा झण्डा हल्लाउँदै अभियुक्तलाई घरसम्म पुर्याएका थिए ।
‘राज्यको भूमिकाले घटनामा पिडित रुपा सुनारले न्याय पाउने संभावना कम हुनुको साथै उल्टै पिडितलाई नै फसाउने प्रपञ्च रचिएको आंकलन गर्न सहजै सकिन्छ । तसर्थ हाम्रो संगठन राज्यको यस किसिमको गतिविधिको भत्र्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ,‘हामीलाई थाहा छ, जात व्यवस्था विरुद्धको संघर्ष लामो छ । एकै झट्का र एउटै मुद्दामा टुंगिनेवाला छैन अनि एकाध मुद्दा र विषयलाई छोपछाप पार्दैमा जात व्यवस्था उन्मूलनको महाअभियान रोकिनेवाला पनि छैन । यस परिस्थितिमा यस मुद्दामा सहयोग पु¥याउने र शुभचिन्ता व्यक्ति गर्ने दलित एवं गैरदलित न्यायप्रेमीहरुप्रति संगठन धन्यवाद ज्ञापन गर्दछ, साथै यस मुद्दालाई सकारात्मक न्यायिक टुङ्गोमा पु¥याउन सबैको थप सहयोगको अपेक्षा पनि गर्दछ ।’