६ महिनाअघि हराएका ३ बालबालिका भारतबाट उद्धार

diyopost.com
दियो पोस्ट  सोमबार, साउन ११, २०७८ | १८:५३:१८

काठमाडौं, ११ साउन । बाँकेको कोहलपुरबाट ६ महिनाअघि हराएका तीन बालबालिकालाई भारतको बरेलीबाट उद्धार गरिएको छ ।

कोहलपुर नगरपालिका– ४ का ती बालबालिकालाई भारतको बरेलीस्थित एक बालगृहबाट स्वदेश ल्याइएको हो । कोहलपुर–४ का वडाध्यक्ष तीर्थराम थारूका अनुसार उद्धार गरिएका बालबालिकामा ११ वर्षीय रोशन वादी, सात वर्षीय विशाल वादी र पाँच वर्षीया पूजा वादी छन् ।

रुपन्देहीस्थित ‘मानवकल्याण मित्र मञ्च’ नामक संस्थाका समन्वयमा उद्धार गरिएका ती बालबालिकालाई आज परिवारको जिम्मा लगाइँदै छ ।

भारतको बरेलीस्थित नारी निकेतन अनाथ आश्रममा रहेका उनीहरुलाई आवश्यक कागजातको प्रमाण जुटाएर फिर्ता ल्याइएको हो ।

उनीहरुसँगै बैतडीका १ र दाङका १ गरी थप दुई बालक पनि सोही बालगृहमा राखिएको वडाध्यक्ष थारूले जानकारी दिए । ६ महिनाअघि कोहलपुरबाट हराएका बालबालिका नेपालगञ्जस्थित जमुनाह नाका हुँदै रुपैडिहमा पुगेका जनाइएको छ ।

त्यहाँबाट भारतीय ट्रकमा बसेर बरेली पुगेका हुन् । बरेली पुग्नु भन्दा दुई÷तीन किलोमिटर वरै ट्रकले बालबालिकालाई झारिदिएपछि अलपत्र अवस्थामा सडकमा हिँडिरहेका उनीहरुलाई भारतीय प्रहरीले उद्धार गरेर स्थानीय संरक्षण संस्थाको जिम्मा लगाएको थियो ।

नेपालगञ्जस्थित जमुनाह नाका हुँदै भारत गएर बालबालिका अलपत्र पर्ने गरेका छन् । माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले साथीका लहलहैमा घर छोडेर हिँडेका बालबालिका जोखिमपूर्ण यात्रा गरी भारतका विभिन्न शहरमा अलपत्र पर्ने गरेको बताए ।

उनका अनुसार यसअघि पनि भारतको बहराइच, लखनउ, दिल्लीलगायतका स्थानमा अलपत्र परेका बालबालिकाको उद्धार गरी पारिवारिक पुनः मिलन गराउने काम भएको छ । रासस

सम्बन्धित खबर