एसपीपी प्रकरणः निर्णयमा मात्रै सीमित, अझै पठाएन नेपालले अमेरिकालाई संलग्न नहुने पत्र

दियो पोस्ट  

काठमाडौं । सन् २०१९ मा तत्कालिन प्रधानमन्त्री केपी ओलीको सरकारले अमेरिकी सैन्य गठबन्धन स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा भाग लिने पत्राचार गरेपछि नेपालको राजनीति तरङ्गीत बन्यो । उक्त सैनिक गठबन्धनमा भाग नलिने निर्णय गरेको हालको सरकारले पनि अमेरिकालाई औपचारिक पत्राचार भने नगरेको पाएको छ ।

गत असार ७ गतेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्र मन्त्रालयमार्फत अमेरिकी सरकारलाई एसपीपीमा संलग्न नहुने पत्र पठाउने निर्णय गरेको थियो । तर निर्णयको १० दिन बिति सक्दा पनि सरकाले परराष्ट्र मन्त्रालय मार्फत कुनै पनि प्रक्रिया अघि बढाएको छैन ।

उक्त पत्राचारबारे परराष्ट्र मन्त्रालयले के कस्तो पत्र पठाउने हो भनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई सोध खोजसम्म गरेको छैन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता महादेव पन्थका अनुसार परराष्ट्र मन्त्रालयले कुनै जानकारी दिएको छैन । ‘सरकारले एसपीपीमा संलग्न नहुने निर्णय गरिसकेको छ । तर अहिलेसम्म परराष्ट्र मन्त्रालयले कुनै जानकारी दिएको छैन,’ उनले भने ।

२०७२ सालमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले नेतृत्व गरिरहेकै बेला नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले अमेरिकासँग नेसनल गार्ड स्टेट पार्टनरसिप प्रोग्राम (एनजीएसएसपी) सम्झौताका लागि पत्राचार गरेको पाइएको थियो ।

उक्त पत्रकै आधारमा अमेरिकी रक्षा मन्त्रालय अन्तर्गत नेसनल गार्डले नेपाललाई एनजीएसएसपीको कार्यक्रममा सुचीकृत गरेको पाएको थियो ।