धादिङ । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल धादिङका अध्यक्ष कमल सिलवालको समुहले पृथ्वीराजमार्ग स्थित एक होटलमा तोडफोड गरेको पाइएको छ ।
शुक्रबार राती सो समुहले बेनिघाट रोराङ गाउँपालिका ३ सितलबजारमा रहेको इन्द्रेणी होटल लोकल भान्साघरमा तोडफोड गरेको हो । होटलका संचालक सौरभ त्रिपाठीले सामाजिक संजालमा जनाए अनुसार सिलवालको समुहले बिना कारण होटलमा तोडफोड गरेको थियो ।
त्रिपाठीका अनुसार सिलवालको समुहले होटल सञ्चालकलाई ज्यानमार्ने सम्मको धम्की दिएका थिए ।
‘के यो देशमा पैसा र पावर हुनेको दादागिरी चल्छ ? हामीजस्ता सर्वसाधरणे काम गरेर खान पनि पाउँदैनौैँ ? युवा संघको अध्यक्ष कमल सिलवालको टोलीले शक्ति र पैसाको आडमा हामी जस्ता सामान्य भाडा माझेर खानेमाथि हातपात गरि मार्नेसम्मको धम्की दिने विचरा मेरो देशको कानुन कस्तो देशमा जन्मिएछु । आज त मेरो कपडा मात्रै च्यातियो कुन दिन मारिनुपर्ने हो ?,’ त्रिपाठीले सामाजिक सञ्जालमा लेखेका छन् ।
ईलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डिएसपी भावेश रिमालले घटनाबारे लिखित निवेदन प्राप्त नभएको बताए ।