नगरप्रहरीलाई ५ हजार घुस नदिँदा मकैपोल्ने दम्पत्तिमाथि लछारपछार भएको खुलाशा !

diyopost.com
दियो पोस्ट  शनिबार, आषाढ १८, २०७९ | १८:४३:०६

काठमाडौं । शुक्रबार राजधानीको बालुवाटार क्षेत्रको सडकमा मकै पोलेर गुजारा चलाउँदै गरेका एक दम्पत्तिमाथि नगरप्रहरीले ज्यादती गरे । उनीहरुको ठेला खोसियो । मकै सडकमा फालियो र प्रहरीले ती दम्पत्तिलाई लछार पछार पारे । सिन्धुपाल्चोक मेलम्ची १० स्थायी घर भएका चेतेन्द्र आचार्य र उनकी पत्नी सिताले प्रधानमन्त्री निवासबाट २ सय मिटर उत्तर तर्फ चोकमा रहेको सडक किनारमा मकै पोल्ने र फलफूल बेच्ने काम गर्दै आएका थिए । नगरप्रहरीको ज्यादतीपछि चर्चामा आएका उनीहरुले नगरप्रहरीले ५ हजार रुपैयाँ घुस मागेको र उक्त घुस नदिएपछि आफूहरुलाई कुटपीट गरि ठेलागाडा नै कब्जा गरेको बयान दिएका छन् । कान्तिपुर दैनिकका लागि मकर श्रेष्ठसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनीहरुको बयान यस्तो छ ।

 

सिन्धुपाल्चोकको मेलम्ची आचार्य टोलबाट १७ वर्षअघि काठमाडौं आएँ । गाउँमा बनाएको घर दुई पटक भत्किएपछि ऋण तिर्न सहर छिरेको हुँ । भूकम्पले गाउँको घर भत्किएपछि बनाउँदा ४० लाख ऋण छ । ऋण तिर्ने र छोराछोरी पढाउने आधार नै यही मकै बेचेर कमाउने थियो । त्यो पनि नगर पुलिसले खोसिदियो । आज मात्रै गाडा, मकै, ओदान, दाउरा गरी ३० हजारको सामान गुम्यो । नगर प्रहरीले यसरी गाडी लगेको पाँचौं पटक हो । महानगरले अहिलेसम्म मेरो गाडा र सामान गरी २ लाखको लगिसक्यो ।

सुरुमा गाउँबाट आएर जोरपाटीमा किराना पसल चलाएँ । पसलमा पनि घाटा लागेपछि फुटपाथको व्यापार राजें । ०६५ असोजदेखि यही ठाउँमा बसेर मकै बेचिरहेका छौं । दुई वर्ष त मासिक २० हजार भाडा तिरेर फलफूल पनि बेचें । घर नै बेचेपछि पसल सार्नुपर्ने भयो । अन्त कतै सटर नपाएपछि सबै सामान कोठामा थन्क्याएँ । त्यसपछि सडकमा मकै बेच्न सुरु भयो । मकै बेचेरै थलीमा जग्गा किन्न १० लाख रुपैयाँ बैना गरें । त्यो पैसा पनि फस्यो ।

घर बनाउँदा, छोराछोरी पढाउँदा, आमाबुबा पाल्दा लागेको ऋण मकै पोलेको पैसाले तिरिरहेको छु । एउटा फाइनान्सबाट डेढ लाख र अर्कोबाट २ लाख ऋण लिएको थिएँ । फाइनान्सको त्यो कागज पनि गाडासँगै लग्यो । गाडामा सय डेढ सय जम्मा गर्ने फाइनान्सको कागज पनि लग्यो । फलफूलको सिजनमा फलफूल पनि लग्ने गर्थे । यसपालि त नगर पुलिसले मागेको घूस नदिएरै मेरो गाडामा आँखा लगायो । नगरपालिकाको सइसाप हुनुहुन्छ । उहाँले ५ हजार माग्नुभएको थियो । हामीले दिएनौं । उहाँलाई दिने पैसाले त हाम्रो छोराछोरीलाई खुवाउन हुन्छ भन्ने ठान्यौं । हामीले पैसा नदिएपछि दुःख दिन थाल्यो । पैसा नदिएपछि उहाँले नै प्रहरी बोलाएको पो हो कि ! नगरपालिकाले लास्टै पेलिरहेको छ । मकै पोलेर बूढाबूढीले दैनिक २ हजार ५ सय कमाउँथ्यौं । मैले १५ सय र बूढीले १ हजार । मकैको सिजन नहुँदा साग बेच्थ्यौं ।

पहिला अलिअलि पैसा माग्थ्यो । दिन्थें । गाडा र सामान लाँदैनथ्यो । सडकमा व्यापार गर्नेलाई ५ सय लिँदो रहेछ । मलाई पनि ५ हजार मागेको थियो । ‘तिमीहरू दिनमा २/३ हजार कमाउँछौं मलाई दिन सक्दैनौं’ भन्थ्यो । पैसा नदिएपछि जहिले दुःख दिन थाल्यो । दुःख दिएपछि दुई दिनअघि त बूढीले नगर पुलिसलाई अगुल्टोले नै झोसिदिएछ । त्यो रिस पनि हुन सक्छ, हामीलाई देखिसहँदैन । कान्ति अस्पतालको गल्लीमा बस्दा लखेटेर सामाखुसी जाने ओरालोमा पुर्‍याउँथ्यो । कहिले महाराजगन्ज चोकमा पुर्‍याउँथ्यो । पैसा दिनेहरूलाई बस्न दिन्थ्यो । आमाको उपचार गर्न ल्याएको अस्पतालको ट्वाइलेटबाट लडेर बित्नुभयो । बुबा १४ वर्षदेखि हराउनुभएको अझै केही पत्तो छैन । गाउँमा घर बनाएको थिएँ, छाना छाएको भोलिपल्टै लड्यो । गाउँ फापेन भनेर काठमाडौं आएको हुँ ।

बालेन्द्र शाहले जित्दा अब काम गर्न पाउने भएँ भनेर आस लागेको थियो । जाम हुने ठाउँमा पसल गरेको हो भने चित्त बुझ्थ्यो । भित्री रोडमा पनि काम गर्न नपाउने ? कुनामा बसेर त मकै पोल्न दिनुपर्‍यो नि । हामीसँग पैसा भएको भए रोडमा आउने नै थिएनौं । मकै पोल्न पनि नदिएपछि छोराछोरीलाई कसरी पढाउनु ? जागिर खाऔं, दुवै जनाले पढेको छैन । १० हजारको जागिरले पुग्दैन । बालेन्द्र सरले जित्दा अब त गाडामा मकै बेच्न पाइएला भन्ने आशा पनि आजदेखि मर्‍यो ।

भोलि शनिबार त पुलिस आउँदैन भनेर साँझ मकै झारेको छु । पुलिसबाट जोगाएको एउटा गाडामा बेच्ने सोचेको छु । पर्सिदेखि के गर्ने थाहा छैन ।

सम्बन्धित खबर